English

कृषि

विवादित गरिमा धानको डिएनए परीक्षण जारी

sunrisekhabar

काठमाडौं । चितवनका कतिपय किसानले ‘गरिमा’ जातको धानको बिउ खेतमा लगाए । तर, धान पाक्ने लक्षण अहिलेसम्म देखिएको छैन । साढे चार महिना हाराहारीमा पाक्नुपर्ने धान पाक्न अझै दुई महिना लाग्ने देखिएको छ । 

कसरी यस्तो भयो ? विवाद सुरु भएको छ र धान रोपेका किसानहरुले कडा विरोध सुरु गरेका छन् । 

तर, चितवनका किसानले लगाएको धान गरिमा जात नभएको बताउँछन्– नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का प्रवक्ता हरिकृष्ण उप्रेती । 

नार्कले गरिमा धानको बिउमा दुई वर्षसम्म अनुसन्धान गरेको र समयमै पाक्ने गरेको जानकारी दिँदै उनले सनराइज खबरलाई भने– ‘हामीले ०७२ मा दर्ताको लागी योग्य छ भनेका थियौं । गरिमा धानमा ढिलो पाक्ने समस्या हुनै सक्दैन ।’

राष्ट्रिय धान बाली बिकास कार्यक्रम हर्दिनाथका प्रमुख डा. रामवरण यादबले पनि सनराइज खबरसँग चितवनका किसानले लगाएको धान गरिमा होइन भने । उनका अनुसार गरिमा धान एक सय ३० देखी एक सय ३५ दिनभित्र पाकिसक्नु पर्छ । तर, चितवनमा गरिमा भनेर लगाइएको धान पाक्न अझै दुई महिना समय लाग्नसक्ने देखिएको छ ।’

सनराइज कम्पनीले गरिमा धान भनेर नार्कले सिफारिस गरेको भन्दा बेग्लै धानको विउ विक्री वितरण गरेको डा. रामवरणले दावी गरे । सो कम्पनीले भारतबाट बिउविजन आयात गरी विक्री गर्ने गरेको छ ।

ढिलो पाकेर किसानलाई पीडित बनाएको चितवनको धान डिएन ए परिक्षणका धान बाली विकास कार्यक्रममा आएको जानकारी दिँदै उनले सो परिक्षण सम्पूर्ण रुपमा पूरा हुन अझै एक हप्ता लाग्ने बताए । 

उनले प्रारम्भिक परीक्षणमा सो धान गरिमा नदेखिएको पनि बताए । अन्तिम परीक्षण आएपछि सो धान कुन हो र के कारणले पाकेन भन्ने निष्कर्ष निस्कने उनले बताए । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत