English

सरकार

यातायात व्यवस्थापनमा युवाको भूमिका महत्वपूर्ण : गृहमन्त्री

काठमाडौंका सडकमा खटिए युवा
sunrisekhabar

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन् । आईतबार काठमाडौंमा १५ दिने ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री थापाले भने – ‘नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान हुन्छ ।’ 

काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोच र योजनामै पुनर्विचार गर्न पनि विकासका योजनाकार तथा नीति निर्माताहरुलाई उनले आग्रह गरे ।  उनले भने – ‘विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायात सम्बन्धी समस्या पनि स्वतस् घटेर जान्छ ।’ 

गृहमन्त्री थापाले सिंगो मुलुक नै विकास, निर्माणको काममा तीव्र गतिका साथ अघि बढेकाले पनि यातायात क्षेत्रमा समस्या देखिएको तर्फ सबैलाई सचेत गराए । उनले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने पनि बताए ।

देशभर यस्तो अभियान सञ्चालन गर्नुपर्ने भन्दै उनले अहीले युवा स्वयंसेवकहरुले गर्ने ट्राफिक सुरक्षासम्बन्धी कामले नेपाल भ्रमण वर्षलाई समेत सहयोग गर्ने बताए । सो अवसरमा उनले स्वयंसेवकहरुलाई ज्याकेट र परिचयपत्र वितरण गरे ।

महानगरीय ट्राफिक प्रहरीले आजदेखि १५ दिनका लागि सडकमा पाँच सय बढी युवा ट्राफिक स्वयंसेवक परिचालन गर्ने बतायएको छ ।  युवा युवा स्वयंसेवकहरुले पैदलयात्री तथा सवारी चालकहरुलाई ट्राफिक नियमबारे जनचेतना दिने बताइएको छ । महानगरीय ट्राफिक प्रहरी, राष्ट्रिय युवा परिषद र यूएन नेपालको संयुक्त आयोजनामा युवा परिचालन वर्ष २०७६ मा रहेर स्वयंसेवक परिचालन गर्न लागिएको हो ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत