English

विचार

नेपाली क्रिकेटः फेरी यस्तो नहोस्   

sunrisekhabar


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी असोज १०–११ मा हुने पक्का भइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनले थिलथियो परेको नेपाली क्रिकेट चार वर्षपछि पूनर्जीवित हुने अवस्थामा आयो ।

चुनाव सम्पन्न भइ वैधानिक नेतृत्व आएसँगै आईसीसीले आगामी अक्टोबरको अन्ततिर बस्ने बैठकबाट नेपाली क्रिकेटको निलम्बन फुकुवा गर्ने बचन दिइसकेको छ । 

निलम्बन फुकुवाको हरेक चरणमा अवरोधको सामना गर्दै अन्ततः यो समस्या सुल्झने देखिएको छ ।  

यस्तो थियो क्यान विवाद

सन् २०१४ को टी–२० विश्वकप खेलेर फर्केपछि नेपाली खेलाडीहरुले गरेको आन्दोलनबाट नेपाली क्रिकेटमा विवाद सुरु भएको हो । 

जयकुमार नाथ शाहले अनवरत नेतृत्व गरेको क्यानमा ६२/६३ को राजनैतिक परिवर्तनपछि विनयराज पाण्डे आए । परम्परागत शैलीमा क्यान चलाइरहेका शाहको नेतृत्व परिवर्तन भएपनि पाण्डेको काम गर्ने शैलीकै कारण उनको कार्यकाल खासै उपलब्धिमुलक हुन सकेन । 

क्रिकेट टोलीले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता पाउँदै गएपछि राजनैतिक दलको आकर्षण यसमा झन् बढ्यो । तत्कालीन माओवादीका टंक आङबुहाङ पनि संविधान सभाको चुनावमा पराजित भइ क्रिकेट संघतिर ‘टाइम पास’ गर्न आइपुगे । 

राजनैतिक बल प्रयोग गर्दै उनी क्यानको अध्यक्ष भए । त्यही पदचिन्ह पछ्याउँदै बैतडी कांग्रेसका उपाध्यक्ष चतुरबहादुर चन्दले क्यानको नेतृत्व हात पारे । नेतृत्व हत्याउने रस्साकस्सीमा आङबुहाङलाई जिल्याउँदै चन्दले बाजी मारे । तर, चन्दलाई क्यानको अध्यक्ष बनाउने साधारण सभा विवादमा पर्‍याे । राष्ट्रिय खेलकुद परिषद्बाट यसले स्वीकृती पाएन । 

चन्दको पालोसम्म आईपुग्दा अन्य स्वार्थ समूहले पनि नेपाली क्रिकेटमा पकड जमाइसकेका थिए । आईसीसीमा रहेको पहुँचको दुरुपयोग गर्दै ‘कुरौटे’ हरुले आईसीसीलाई क्यान विवादबारे बढाइचढाइ गर्दै कुरा लगाए । समस्या समाधान गर्ने भन्दा पनि प्रतिशोध साँध्ने नियत थियो सो रिपोर्टिङको । 

आईसीसीबाट खतराको सिग्नल आएपनि क्रिकेट राजनीतिबाट आफ्नो ‘स्टाटस’ बढाउन चाहने जमातले यसलाई निरन्तर बेवास्ता गरे । फलस्वरुप आईसीसीले नेपाली क्रिकेटलाई निलम्बन गर्ने निर्णय गर्‍यो । 

दोषी को ?

एउटा पक्षको कारण मात्र नेपाली क्रिकेट निलम्बनमा परेको होइन । यसमा क्यानलाई अघि बढ्न नदिने पुरानो नेतृत्व, राजनैतिक भविष्य चम्काउन खोज्ने स्वार्थ समूह र निलम्बन गर्न उक्साउने कुरौटेहरुको जमात सबैको उत्तिकै दोष छ । 

यी सबैको गल्तीको असर भने नेपाली क्रिकेटले भोग्नु पर्‍याे । समग्र नेपाली क्रिकेट यही कारणले माथी उठ्न नसकेको प्रष्टै छ । 

यसको असर

निलम्बनको मारमा परेपछि नेपाली सिनियर पुरुष क्रिकेट टोलीमात्र होइन, यू–१९ क्रिकेट पनि पछि पर्यो । महिला क्रिकेट त झनै खस्केको छ । 

एकदिवसिय अन्तर्राष्ट्रिय र टी–२० मान्यता पाएको नेपालले केही सिरिजहरु खेल्ने अवसर पाउँदा पनि आईसीसीको स्वीकृती कुर्नुपर्ने भयो । प्रशिक्षक पनि आफ्नो आवश्यकता अनुसार छनोट गर्न पाएन । त्यस्तैगरी खेलाडीहरुले २ वर्षसम्म तलब नपाउने अवस्था रह्यो । 

निलम्बनमा रहेको नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न पाएन । खेल नहुँदा नेपाली दर्शकले क्रिकेट हेर्न पाउने अवसरबाट बञ्चित हुनुपर्‍याे। 

निेलम्बनको अवस्थामा पनि आईसीसीले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागि हुन दिएको छ । 

तर, आवश्यकता अनुसारको अभ्यासको अभावमा नेपाली सिनियर टोलीले प्रदर्शन खस्कँदै गयो । 

आन्तरिक द्वन्द र संविधान निर्माणको प्रक्रियाले आक्रान्त भएको नेपाली जनतालाई खुशी दिने एकमात्र खेल क्रिकेट आफैं दुखमा पिल्सीइरह्यो । 

निलम्बन फुकुवाको प्रयास

गत वैशाख ६ मा आईसीसीले चाहे बमोजिम विधान पारित गर्दै वर्तमान क्यानले नेपाली क्रिकेटलाई गहिरो संकटबाट उठाउन प्रयास गर्‍याे । विधान पारित नभएको भए नेपाली क्रिकेटको निलम्बन स्थायी हुन सक्थ्यो । 

तर, समस्या समाधानको प्रयास भएको देखिएपनि नेपाली क्रिकेटलाई खोक्रो बनाउने समूहले अनेक बाधा अड्चन ल्याइ नै रहे । कहिले चुनावमा विवाद, कहिले झिना मसिना विषयमा मुद्दा गर्दै ।  

आईसीसीको भुमिका

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले राजनीतिक हस्तक्षेपको बहानामा नेपाली क्रिकेटलाई ०७३ सालमा निलम्बन गरेर यहाँको क्रिकेट गतिविधिलाई निस्तेज नै पार्‍यो ।

नेपालमात्र यस्तो राष्ट्र होइन, क्रिकेटको शक्ति राष्ट्र बनिसकेको जिम्बाब्वे र केन्यामा पनि यही समस्या थियो । पाकिस्तानलाई पनि दुख दिने क्रम रोकिएको छैन । बंगलादेश र श्रीलंका पनि यही पेलाइमा छन् ।  

फुटबल विश्वकपमा सन् २०२६ देखी ४८ राष्ट्र सहभागि हुने पक्का भइसक्यो । क्रिकेट विश्वकपमा भने १६ राष्ट्रबाट घटाइ १० राष्ट्रमा सिमित पारिएको छ । यो खेलको वर्चश्व भारत, इंग्ल्याण्ड र अष्ट्रेलियामा मात्र सिमित राख्न खोजिएको बुझ्न कठिन छैन । 

अबको कदम

निलम्बनको चार वर्ष नेपाली क्रिकेटको कालो दिन हो । विश्वकपमा सहभागि भएको राष्ट्रको अर्को कदम टेष्ट मान्यता पाउनु हुनुपर्ने थियो, त्यसो हुन सकेन । 

डिभिजन पाँचमा रहेको नेपालले एकदिवसिय मान्यता पाउने क्रममा तिब्र छलाङ्ग लगाएको हो । अहिले क्रिकेटको विकास सुस्त छ । 

यस्तोमा अब आउने नेतृत्वले त्यो चारवर्षको क्षति पूर्ति गर्नुपर्ने चुनौति रहेको छ । क्यानलाई अब विगतको पाठबाट सिकेर आगामी दिनमा त्यस्ता गल्ती नगर्ने नेतृत्व चाहिएको छ ।  


  
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत