• २३ मङ्सिर २०७६, सोमबार
  • Monday,09 December,2019

हाम्राे झण्डालाई सलाम : झण्डाको मानक बनाउने शंकरनाथलाई अभिवादन

राजकुमार रेग्मी

काठमाडौं । देख्‍नासाथ शिर झुकाएर सम्मान गरौंगरौं लाग्‍ने, विश्व समाजले ठ्याक्कै चिन्ने राष्ट्रिय झण्डा कसको छ ? नेपालको छ । 

विश्वमा सबैभन्दा प्राचीन झण्डा कसको छ ? नेपालको छ ।

सम्पूर्ण जनतालाई एकताको सूत्रमा बाँध्न सक्ने, विश्वभरीका मानिस माझ सन्देश प्रवाह गर्न सक्ने झण्डा कसको छ ? नेपालको छ ।

हो, नेपालको चन्द्रसूर्य अंकित झण्डा विलक्षण छ । याे परम गाैरवशाली झण्डाकाे सम्मानमा पहिलाे पटक देशले दिवस मनाउन गइरहेकाे छ । सरकारले ३ असाेजलाई झण्डा दिवस घाेषणा गरेकाे छ । यस्ताे बेला सम्झनैपर्ने अनि सम्मान गर्नैपर्ने एक पात्र हुन्- शंकरनाथ रिमाल ।

यो झण्डालाई आजको स्वरुप दिएका हुन् शंकरनाथ रिमालले । झण्डा बनाउने जस्तो गहन जिम्मेवारी पाउँदा उनी २६–२७ वर्षका मात्र थिए । सानो उमेरमा ठूलो जिम्मेवारी पाएका थिए ।

२०१८ सालको कुरा हो यो ।

थिएन एकरुपता

हजारौं वर्ष प्राचीन हो नेपालको चन्द्रसूर्य अंकित झण्डा । विश्वमा नेपाल मात्र यस्तो देश हो जसले आफ्ना लागि कस्तो झण्डा बनाउने भनेर कहिल्यै छनौट गर्न परेन । हजारौं वर्षदेखि नेपाली भूमि र जनताले चन्द्रसूर्य अंकित झण्डालाई नै राष्ट्रिय झण्डा मान्दै आएका थिए । 

तर, नेपाली झण्डाको स्वरुप सर्वत्र एउटै थिएन । कसैले चन्द्रमा माथि राख्थे, कसैले सूर्य माथि राख्थे । आकार त सबैले त्रिकोणात्मक नै बनाउँथे तर कोणमा एकरुपता हुँदैनथ्यो । रातो नीलो र सेतो नै हुन्थ्यो झण्डा तर रंगको गाढापनमा पनि एकरुपता हुँदैनथ्यो । चन्द्रसूर्य भित्र मुहार बनाउने चलन पनि थियो । त्यसैले सर्वत्र एउटै स्वरुप हुने, प्राचीन मौलिकता झन जागृत हुने डिजाइनमा चन्द्रसूर्यलाई ढाल्नु थियो । 

त्यो काम गरेका हुन् शंकरनाथले ।

आज हामीले गर्व गर्न लायक, हामीले शीर झुकाएर अभिवादन गर्न लायक चन्द्रसूर्य अंकित झण्डा सामान्य बुद्धिले यो स्वरुपको बनेको होइन । 

किनभने चन्द्रसूर्यको आकार भित्र महान अर्थ छ । रातो, नीलो र सेतो रंग भित्र महान दर्शन छ । त्रिभुजीय झण्डाभित्र विलक्षण कला, गणित, ज्यामिती, विज्ञान, धर्म, दर्शन, अध्यात्म, संस्कृति, मानवता, भ्रातृत्व, सद्भाव, प्रेम र एकताको सन्देश र संकेत छ । श्रद्धाको आँखाले चन्द्रसूर्य अंकित झण्डालाई होरियो भने सबै चिज देख्न सकिन्छ ।

प्रतीकको पनि प्रतीक हो चन्द्रसूर्य अंकित झण्डा । विश्वका यावत प्रतिकात्मक वस्तुहरुमध्ये सर्वाधिक प्रभावशाली र सर्वाेच्च छ चन्द्रसूर्य अंकित झण्डा ।

शंकरनाथले झण्डा बनाउने जिम्मेवारी कसरी पाए ? यसका लागि ५० वर्ष पछाडि फर्कनुपर्छ । 

सहिदगेटका रचनाकार

आर्किटेक्चर पढेका शंकरनाथले काठमाडौंको सहिदगेट बनाउने जिम्मेवारी पाए । त्यसको डिजाइन आज पनि उत्तिकै प्रभावकारी छ । त्यसबेला सहिदगेट विलक्षण वास्तुकला ठहरियो । त्यसबाहेक काठमाडौंका विभिन्न आकर्षक भवन उनले डिजाइन गरेका थिए । पछि प्रज्ञा भवन पनि उनैले डिजाइन गरे । 

जर्मनीबाट फर्किएका थिए शंकरनाथ । उनलाई कृष्णप्रसाद पन्त र बलराम जोशीले बोलाए । कृष्णप्रसाद त्यसबेला तत्कालीन राजा महेन्द्रले बनाएको संविधान मस्यौदा समितिका सदस्य थिए । बलराम जोशी उच्चकोटीका प्राज्ञ थिए । 

शंकरनाथमा धर्मसंस्कृतिको पनि ज्ञान थियो । नेपालको प्राचीन परम्पराप्रति पनि रुचि थियो । आधुनिक ज्ञान त हुने नै भयो । युवा थिए तैपनि जिम्मेवार थिए, महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका थिए । त्यसैले राष्ट्रिय झण्डा बनाउने जिम्मेवारी पाए । 

जिम्मेवारी पाएपछि शंकरनाथले हाम्रो झण्डा बारे अध्ययन थाले । उनका बाजे ठूला विद्धान मानिन्थे, विद्धत् परम्पराका बलिया खम्बा मानिन्थे । सबैभन्दा पहिले बाजेसँग सल्लाह लिए । त्यसबाहेक विभिन्न विद्धानहरुसँग चन्द्रसूर्य अंकित झण्डाबारे जानकारी लिए । प्राचीन दस्तावेजहरु पढे । अध्ययन गरेपछि थाहा पाए– सजिलो छैन झण्डाको मानक तयार पार्न ।

निरन्तर दुई महिना खोज अनुसन्धान गरेपछि उनले जे निष्कर्ष निकाले, त्यसलाई ज्यामितीय आकारमा ढाल्न थाले । 

‘झण्डालाई ज्यामितीय आकारमा ढाल्न धेरै समय लाग्यो’– शंकरनाथ सम्झन्छन् । अहिले पनि झण्डाको ज्यामितीय आकार तयार पार्नुपर्यो भने ६–७ दिन लाग्ने उनी बताउँछन् । 

यसरी बनाए

‘करिब ६ दशक अघिको धेरै कुरा सम्झना छैन’– शंकरनाथ भन्छन् । ती दिन सम्झँदै भन्छन्– ‘मैले झण्डा बनाउन ‘अनन्त’ सूत्र प्रयोग गरें । अनन्त भनेको ३, ४ र ५ को अनुपात हो । यो अनुपातलाई पश्चिमी सिद्धान्तमा पाइथागोरस ट्रांगल पनि भनिन्छ ।’

झण्डामा चन्द्र र सूर्यको अवस्थिति व्याख्या गर्दै शंकरनाथ भन्छन्– ‘चन्द्रमाको १६ र सूर्यको १२ कला हुन्छ । कला भनेको पक्ष हो । यही आधारमा सूर्यमा १२ कोण बनाइयो ।’

शंकरनाथले डण्डीमा राख्ने झण्डा र डोरीमा फहराउने झण्डाको पनि खास मानक बनाए । झण्डाको गणित, ज्यामिती, कला र रंग सबैलाई अक्षर र रेखामा उतारे । त्यसपछि संविधान मस्यौदा समितिलाई बुझाए ।

हेर्नुहाेस्- शंकरनाथ रिमालसँगकाे भिडियाे अन्तर्वार्ता

त्यसपछि के भयो ? केही थाहा पाएनन् उनले । पछि नेपाल अधिराज्यको संविधान २०१९ जारी भयो । संविधानको अनुसूचीमा झण्डाको ज्यामिती समेत राखियो । यो देख्दा उनको हर्षको सीमा रहेन । 

तर....

राष्ट्रिय झण्डाको डिजाइन तथा मानक तयार गर्न पाउनु सामान्य सौभाग्य होइन । जीवनको सर्वाेच्च सौभाग्य, परम सौभाग्य हो । मातृभूमिको सेवामा गर्न सकिने सर्वाेत्कृष्ट योगदान हो । 

यो योगदान वापत शंकरनाथले के पाए ? उनलाई के दिइयो ? 

यी दुई प्रश्न उपर अलि फरक कोणबाट घोत्लन आवश्यक छ । शंकरनाथले यो योगदान वापत कुनै जस खोजेनन् । यसवापत उनलाई सरकारले कहिल्यै कुनै पदक पुरस्कार दिएन । पाउनुपर्छ भनेर शंकरले माग पनि गरेनन्, केही नदिइएकोमा गुनासो पनि गरेनन् ।  

र, उनले आफ्नो योगदानको बजारीकरण पनि गरेनन् । गर्न चाहेनन् । बरु भन्छन्– ‘त्यति ठूलो मौका पाएँ, त्यो नै ठूलो कुरा हो । पशुपतिनाथकाे कृपाले त्याे माैका पाएँ ।’

‘मलाई केही चाहिएकै छैन, के माग्नु ? किन माग्नु ? नेपालको झण्डाको मान, शान र गौरव जति बढ्दै जान्छ, नेपाली राष्ट्रिय एकता र स्वाभिमान जति बढ्दै जान्छ, त्यसैमा गर्व गर्छु’– शंकरनाथ भन्छन् । 


 

प्रतिकृया दिनुहोस