• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भेनेजुयला प्रकरणमा आज नेपालमा तीन घटना : नेकपा सरकारकै बाटोमा 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । भेनेजुयलामा भइरहेको राजनीतिक लडाईंले नेपाली राजनीतिमा ल्याएको तरंग रोकिने छाँट देखिएन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट सुरु भएको भेनेजुयला विवाद नेकपाको केन्द्रिय सचिवालयसम्म पुगेको छ । प्रवेश नै गर्न नपर्ने विषयमा नेकपा केन्द्रिय सचिवालय प्रवेश गरेको छ । 

नेकपा सचिवालयले पार्टी एकता प्रकृयालाई अगाडि बढाउनुपर्ने जिम्मेवारी छ तर त्यसमा अगाडि नबढेर सात समुद्र पारीको भेनेजुयलाको विषयमा छलफल गरेको छ । 

लामो समयपछि बसेको सचिवालय वैठकले पार्टी एकता प्रकृयालाई अगाडि बढाउने भनिएको थियो तर भेनेजुयला प्रकरणमा वैठक प्रवेश गरेको छ । 

यता प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय वैठकमा भेनेजुयलाको विषयमा चर्चा भइरहँदा उता परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी चाहिँ एउटै कार्यक्रममा कुम जुधाएर बसिरहेका थिए । 

पर्यटनकर्मीका लागि अमेरिकी दूतावासले थालेको अंग्रेजी भाषा प्रशिक्षण कार्यक्रमको उदघाटनमा मन्त्री ज्ञवाली र राजदूत बेरी सँगै थिए । उनीहरुले संयुक्त रुपमा प्रशिक्षण उद्घाटन गरे । मन्त्री र राजदूत एउटै ओहोदाका होइनन् । मन्त्री र राजदूतले संयुक्त उद्घाटन गर्न प्रोटोकल मिल्दैन । तर, नेपालमा चाहिँ यस्तो परम्परा रहिआएको छ । 

कार्यक्रममा मन्त्री र राजदूत दुवैले नेपाल अमेरिका सम्वन्धको चर्चा गरेका थिए तर भेनेजुयला विषयमा प्रवेश गरेनन् । केही दिन अघि सरकारले आयोजना गरेको कूटनीतिक व्रिफिङमा राजदूत बेरी अनुपस्थित भएका थिए । तर, आज परराष्ट्र मन्त्रीसँग एउटै कार्यक्रममा उपस्थित भएर राजदूत बेरीले केही हदसम्म आफ्नो गल्ती सच्याउन खोजेको र सम्वन्ध सुधार्न खोजेको स्पष्ट भएको छ । 

उता, सचिवालय वैठकमा चाहिँ के भयो त ? वैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने— ‘भेनेजुयलामा भइरहेको घटनाक्रमहरुप्रति हाम्रो पार्टी केन्द्रिय सचिवालयको आजको वैठकको ध्यानाकर्षण भएको छ ।’

‘यस पार्टीको विदेश नीति र अन्तराष्ट्रिय सम्वन्धमा कुनै अन्यौल र द्धिविधा छैन । यस सम्वन्धमा पार्टीको दृष्टिकोण र नीतिहरु स्थिर र स्पष्ट छ । हाम्रो पार्टी संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्शीलको सिद्धान्तप्रति सदा प्रतिवद्ध रहिआएको छ’ श्रेष्ठले भने । 

उनले अगाडि भने— ‘कुनै पनि देशको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या उत्पन्न भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने मान्यता हाम्रो पार्टी राख्दछ । हाम्रो पार्टी विश्व शान्ति समझदारी र समृद्धिको पक्षमा छ ।’

अर्थ के हो ?

नेकपाको सचिवालय वैठकमा भेनेजुयलाको विषयमा छलफल हुने अवस्था आउनु त्यो पार्टीका नेताहरुको ठूलो कमजोरी हो । विश्व शक्तिहरुको द्धन्दको विषय बनेको भेनेजुयलामा नेपालका पार्टीहरु प्रवेश गर्नु उचित थिएन, झन सत्तारुढ भएको पार्टीले यस्ता विषयमा छलफल गर्नु अनि पार्टीका प्रवक्ताले मिडिया माझ आएर छलफल गर्यौं भन्नु लज्जाजनक कुरा हो ।

भेनेजुयला सम्वन्धमा नेकपाले सरकारी धारणालाई नै अगाडि बढाएको देखिन्छ । श्रेष्ठले पञ्चशीलको सिद्धान्तको कुरा बताए, जनताले नै निर्णय गर्नुपर्छ भने । यी कुरा परराष्ट्र मन्त्रालयले यस अघि नै बोलिसकेको थियो । 

भेनेजुयला सम्वन्धमा विवाद झिक्ने र नेपाललाई विवादमा तान्ने प्रयास भइरहेको बेला यो विषयमा नेकपाको वैठकमा किन छलफल गरियो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यद्यपि, सचिवालय वैठकले सरकारी धारणालाई नै घुमाउरो पाराले समर्थन गरेर अध्यक्ष प्रचण्डले राखेको विचारको पक्षमा नेकपा जाँदैन भन्ने संकेत पनि गरेको छ ।

सल्लाहकारको पनि उही विचार

भेनेजुयला प्रकरणमा सोमबार तीन उल्लेखनीय दृष्य देखिए । परराष्ट्र मन्त्री र राजदूत बेरी एउटै कार्यक्रममा देखिनु, नेकपाको सचिवालय वैठकमा भेनेजुयला सम्वन्धमा छलफल हुनु र तेस्रो चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बोल्नु ।

भट्टराईले संवाद चौतारीले आयोजना गरेको कार्यक्रममा भट्टराईले भने  ‘कुनै पनि देशमा कुनै समस्या हुन्छ भने शान्तिपूर्ण रुपमा समाधान हुनुपर्छ भन्ने नेपालको पहिले देखिकै नीति हो । त्यही नीतिअनुसार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरिसकेको छ र पार्टीको नीति पनि त्यहि हो ।’

प्रतिकृया दिनुहोस