English

राजनीति

प्रचण्डबाट फिर्ता लिएर ओलीले गरे बैठकको अध्यक्षता

sunrisekhabar

काठमाडौं । नेकपा सचिवालयको आजको बैठकको अध्यक्षता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका छन् । 

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएको बेला सचिवालय बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । उनी एक ढंगको कार्यकारी बनेका थिए । तर, आजको बैठकबाट कार्यकारी हैसियत केपी शर्मा ओलीसँग सरेको छ ।  

प्रधानमन्त्री ओली उपचार गरेर फर्किएपछि सचिवालयको बैठक पहिलो पटक बसेको हो । सधैं सचिवालय बैठक प्रधानमन्त्री निवासको भुईं तलामा बस्ने गरेकोमा आजको बैठक माथिल्लो तलामा बसेको थियो । प्रधानमन्त्री ओलीको सुत्ने कोठासँगैको कोठामा बैठक बसेको बताइएको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई भने– ‘आजको सचिवालयको बैठकले निकट भविष्यमा हुन गइरहेको उपचुनावहरुका लागि पुन दल दर्ता गर्ने निर्णय गरेको छ ।’

प्रवक्ता श्रेष्ठका अनुसार दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिइएको छ । निर्वाचन आयोगले उपचुनावका लागि पुन दल दर्ता गर्नु आव्हान गरेको छ । 

सांगठनिक एकीकरणका लागि सचिवालयको बैठक आगामी दिनमा बस्ने प्रवक्ता श्रेष्ठले बताए । तर, अर्काे बैठक कहिले बस्ने भन्ने चाहिँ उनले खुलाएनन् । 

सञ्चारकर्मीहरुले ‘माधव नेपालको असन्तुष्टिबारे बैठकमा के छलफल भयो’ भनी सोधेको प्रश्नलाई छल्दै श्रेष्ठले भने– ‘निर्णय भएको यति नै हो ।’

बैठकबाट सबैभन्दा पहिले माधवकुमार नेपाल निस्किएका थिए । उनले सञ्चारकर्मीहरुलाई कुनै जवाफ दिन चाहेनन् । उनले भने– प्रवक्ता आउँदै हुनुहुन्छ, प्रवक्तालाई नै सोध्नुहोस् । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत