English

संसद्

चिनियाँ विदेशमन्‍त्रीको भ्रमण उपलब्धीमूलक भएन : जितेन्द्र नारायण देव

sunrisekhabar

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनतामा अनावश्यक भ्रम छर्ने काम नगर्न सरकारलाई सचेत गराएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले चिनियाँ विदेशमन्त्रीले गरेको तीन दिने नेपाल भ्रमण र प्राप्त उपलब्धिबारे सरकारले अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरेको बताएका हुन् । 

भ्रमणका बारेमा विभिन्न क्षेत्र र निकायले आ-आफ्ना दृष्टिकोण सार्वजनिक गरिसकेको स्मरण गराउदै उनले केही सामान्य विषय बाहेक ठूला ठूला आयोजनाका बारेमा खास उपलब्धि हासिल हुन नसकेकाे दाबी गरेका हुन् । उनले उच्चस्तरको भ्रमणको तयारी पनि सरकारले गर्न नसकेको आरोप लगाए । 

उच्चस्तरीय भ्रमणका क्रममा हुने वार्ताहरुमा आफ्ना योजनाहरुबारे नेपाल ठोस, स्पष्ट एवंम योजनावद्ध ढंगले प्रस्तुत गर्न नसकेको दाबी उनले गरे । भ्रमणको क्रममा केरुङ्ग – काठमाडौं रेलवे संभाव्यता अध्ययन गर्नका लागि नेपालबाट भएको प्रस्ताव, बिआर आई प्राेजेक्ट र मदनभण्डारी विश्वविद्यालयको बारेमा चीनकाे तर्फबाट कुनै प्रतिवद्धता नआएको तर अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरिएको उनले बताए । 

उनले नेपाली जनतालाई अनावश्यक रुपमा भ्रम फैलाउने गरि मिडियाबाजी गर्ने काम नगर्न पनि सचेत गराए । उनले भने “हामीले कहीँ नेपाली जनतालाई अनावश्यक किसिमले आईहाल्यो ठूल्ठूलो, एकदम त्यो चुच्चो चिनियाँ चि को फोटो लगाएर जसरी मिडियावाजी गरिराख्या छौँ । अनावश्यक रुपमा जनतालाई अब आयो, तब आयो, भोली आयो, पर्सि नै आईहाल्यो रेल उत्तरतिरबाट भनेर जसरी भन्न खोजेका छौँ । त्यसाे गर्न भएन । वास्तविकता अ‌ाउनु पर्‍याे।”

उनले ३५ करोड ६० लाखमा मनाङ्गमा एउटा अस्पताल बन्ने, आपतकालिन बसोबासका लागि पाँच हजार टेण्टहरु उपलब्ध भएको र नेपालका सरकारी स्कुलमा भाषा पढाउनका लागि चिनियाँ मास्टर आउने बाहेक कुनै पनि उपलब्धि हासिल हुन नसकेकाे बताए ।

उनले हालै मात्रै चिनियाँ चोरहरुले एटिएम हयाकिङ्ग गरेर झण्डै साढे तीन करोड रुपैया लुटेको, नेपाली चेलीलाई बेचबिखन गराउने काममा संलग्न भएको, केरुङ्ग काठमाडौंको बाटोमा चिनियाँ सुन तस्कर बढेको लगायत विषयबारे तत्काल चिनियाँ पक्षसँग नेपाल सरकारले कुरा गर्नुपर्ने बताए ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत