English

समाज

इन्द्रजात्रामा विदेशी पाहुना सहभागी हुने

sunrisekhabar

काठमाडौं । अ‌ाठ दिनसम्म मनाइने काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रामा पहिलो पटक विदेशी पाहुनाहरु पनि सहभागी हुने भएका छन् । काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुनालाई पनि सहभागी गराउन लागिएको जानकारी दिएको हो ।

इन्द्रजात्रालाई नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन पहिलो पटक विश्वका विभिन्न मुलुकका ५ मेयरसहित ४८ जना पाहुनालाई सहभागी गराउने योजना रहेको मेयर विद्यासुन्दर शाक्यले बताए । मेयर शाक्यले इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन पनि आग्रह गरे ।

उनले इन्द्रजात्रालाई भव्य रुपमा मनाउनका लागि इन्द्रजात्रा व्यवस्थापन समिति गठन गरिएको बताए । महानगरले इन्द्रजात्रा व्यवस्थापन समितिका लागि १० लाख खर्चको व्यवस्था गरिसकेको छ ।

इन्द्रजात्रामा सहभागी हुन आउने विदेशी पाहुनाहरुको खर्चको व्यवस्था पनि महानगर आफैले गर्ने बताइएको छ । उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पुर्‍याउँन पनि विदेशी पाहुनालाई इन्द्रजात्रामा सहभागी हुने निम्तो दिएको बताए । 

विदेशी पाहुना नेपाल आउने क्रम बिहीबारबाट सुरु हुने छ । शाक्यका अनुसार उनीहरु आगामी २७ भदौमा हुने इन्द्रजात्राको विशेष कार्यक्रममा सहभागी हुने छन् । सोही दिन विदेशी पाहुनाहरुलाई पनि कुमारीको रथमा सहभागी गराई काठमाडौं उपत्यकाका सम्पदाहरुको अवलोकन गराउने महानगरको योजना छ । उनीहरुलाई चन्द्रागिरीहिल, स्वयम्भूनाथ, दरबार स्क्वायर, पशुपतिनाथ लगायतका धार्मिक तथा पर्यटकीय तीर्थस्थलको समेत अवलोकन गराइने बताइएको छ ।

मंगलबार हनुमानढोका परिसरमा लिङ्गो ठड्याएपछि इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ । जात्राको अवसरमा श्रीकुमारी, श्रीगणेश, श्रीभैरवको रथयात्रा, लाखेनाँच, गायतकका नृत्य प्रस्तुत गरिने बताइएको छ । जात्राको अन्तिम अर्थात विशेष दिन कुमारी घरमा पुगेर राष्ट्र प्रमुखले कुमारीको हातबाट टीका ग्रहण गर्ने प्रचलन छ । 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत