English

खेलकुद

युएईलाई यसरी हरायो नेपालले 

sunrisekhabar

काठमाडौं । यू–१९ एशिया कप अन्तर्गत आज भएको खेलमा नेपाली युवा टोलीले युएईको युवा टोलीलाई १ सय ६० रनको अन्तरले हराएको छ । 

श्रीलंकामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाइ २ सय ८५ रन बनायो । टोलीको लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । ८४ बल खेलेका उनले ६७ रन बनाए । सो क्रममा ९ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सन्दीप जोराले ५३ बलमा ४८ रन बनाए । 

आशिफ शेखले पनि ५३ बलमा ४५ रन बनाए भने कमल सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै २६ बलमा ५ चौका र २ छक्कासहित ४१ रन बनाए । कुशल मल्लले भने २२ बलमा २२ रन बनाए । 
बलिङतर्फ युएईका संचित शर्मा र आकाश ताहिरले समान ३ विकेट लिएभने पललियपन मियप्पनले २ र रिसभ मुखर्जीले १ विकेट लिएका छन् । 

जवाफी ब्याटिङ गरेको युएईले ३४.४ ओभर ब्याटिङ गर्दे सबै विकेट गुमाइ १ सय २५ रन मात्र बनाउन सक्यो । 

उसका लागि वृत्या अरविन्दले २८ रन बनाए भने अलिसन शराफुले २१ रन बनाए र ओसामा हसनले १६ रनको योगदान दिए । 

बलिङतर्फ नेपालको लागि स्पीनर सागर ढकालले ७ ओभर बलिङ गर्दै २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै पवन शर्राफ, रशिद खान र सूर्य तामाङले समान २ विकेट लिए । कमल सिंह ऐरीको नाममा एक विकेट रह्यो । 

शानदार ब्याटिङ गरेका रोहित पौडेल प्लेयर अफ द म्याच चुनिए । 

नेपाल र युएई दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिइ सकेका छन् । नेपालको आजको जित प्रतियोगिताको सुखद अन्त्य हो । 

यसअघि एसीसी यू–१९ प्रतियोगितामा नेपाललाई १ रनले हराउँदै युएई विश्वकपको लागि छनोट भएको थियो । वर्षाले विथोलेको उक्त खेलमा डक वर्थ लेविस नियमअनुसार हारेको नेपालले आज सो हारको बदला लिएको छ । 
 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत