English

अपराध

काठमाडौंमा प्रहरीले बनाउँदैछ यस्तो आकर्षक भवन

आईजीपी भन्छन –‘गुणस्तरमा सम्झौता गरिँदैन’
sunrisekhabar


काठमाडौं । नेपाल प्रहरीका अत्याधिक व्यस्त रहने दुई निकायले अत्याधुनिक भवन पाउने भएका छन् । 

०७२ को भूकम्पपछि बसन्तपुर स्थित हनुमानढोकाबाट विस्थापित भएको महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको छुट्टाछुट्टै अत्याधुनिक भवन बन्न लागेको हो । 

मङ्गलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टेकु र भद्रकालीमा बनाउन लागिएको दुवै कार्यालय भवन शिलान्यास गरेका छन् । 

महानगरीय अपराध महाशाखाको भवन टेकुमा बन्ने भएको छ । ९ रोपनीमा बन्ने महाशाखा भवन दुई बर्षभित्र बनिसक्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयको भवन निर्माणका लागि मन्त्रिपरिषद्‍बाट निर्णय गरेर सरकारले नेशनल ट्रेडिङ लिमिटेडको जग्गा प्रहरीलाई उपलब्ध गराएको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंको भवन चाहिँ भद्रकालीमा बन्ने भएको छ । खाद्य संस्थानको नाममा रहेको भद्रकालीको १५ रोपनी जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर काठमाडौं प्रहरीलाई उपलब्ध गराएको थियो । काठमाडौं प्रहरीका लागि निर्माण हुन लागेको अत्याधुनिक भवन दुई बर्षभित्र बनिसक्ने बताइएको छ । 

अर्थ मन्त्रालयले खाद्य संस्थान र नेशनल ट्रेडिङलाई जग्गा खरिद बापत करिब १ अरब ९६ करोड भुक्तानी दिएको थियो । नयाँ बन्ने भवनमा अपराध अनुसारको थुनुवा कक्षको हुनेगरी डिजाइन गरिएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । 

निर्माण हुन लागेका ती भवनमा प्रहरीलाई सहयोग गर्नेगरी सूचना दिने मानिसका लागी छुट्टै डेस्कको स्थापना गरिने छ । 

आईजिपी भन्छन–‘क्वालिटीमा संझौता गरिन्न’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भवन शिलान्यास गर्दै भवन निर्माणको क्रममा गुणस्तरमा कुनै सम्झौता नगरिने बताए । 

‘गुणस्तरमा कुनै सम्झौता हुँदैन’ भवन शिलान्यास कार्यक्रममा बोल्दै खनालले भने, –‘भवन निर्माण गर्दैगर्दा हुनसक्ने कुनै अनियमितता सैह्य हुँदैन ।’ 

काठमाडौं प्रहरी र अपराध महाशाखामा कार्यरत प्रहरी कर्मचारी झरी र हावाहुरी सँग पौंठेजोरी खेल्दै कर्तब्य पालना गरेको स्मरण गर्दै खनालले भवन निर्माणका क्रममा यसअघि गलत अभ्यास हुनेगरेको संकेत गर्दै भने,–‘केही गलत अभ्यास छन भने विल्कुल चल्दैन ।’ 

प्रहरी प्रधान कार्यालयले सयममा काम नसक्ने ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको बताए । उनले भने– ‘निर्माणमा हात हालिराख्ने तर समयमा काम नसक्ने र गुणस्तरमा तलमाथि गर्ने प्रवृत्ति अन्त्य गरिन्छ ।’ 

भवन निर्माण समयमै सक्ने चुनौती प्रहरी प्रधान कार्यालयको सामु भएको भन्दै खनालले त्यो चुनौती सामना गरिने दाबी गरे । 

पुलिस क्लवमा बहुउद्देश्यीय भवन  

भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लवमा पनि अत्याधुनिक बहुउद्देश्यीय भवन बन्ने भएको छ । मङ्गलबार खनालले सो भवनको पनि शिलान्यास गरेका छन् । 

सात सय ५० जना अट्ने क्षमताको सभा हल सहितको भवन ६० हजार बर्गफिटमा बन्न लागेको छ । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत