English

सरकार

मिसन बारा–पर्सा : प्रधानमन्त्री ओली निदाउन नपाएको त्यो रात

sunrisekhabar

राजेश भण्डारी / विकास अधिकारी--

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्यो रात निदाउन पाएनन् । त्यो रात थियो– १७ चैतको । 

झमक्क रात परेपछि बारा–पर्सा जिल्लामा आँधी हुरी आयो । त्यसले ठूलो क्षति गर्यो । आफ्नो गृहजिल्ला झापाको दमकमा थिए प्रधानमन्त्री ओली । 

त्यो रात जे भयो, दुःखद भयो । त्यो रातको पीडा र दुःख घटाउन, पीडित परिवार तथा देशको आँशु पुछ्न तथा पुननिर्माण गर्न जेजे गरियो, त्यसको कथा हो यो । त्यो कालो रातको पीडासँगै नेपालको इतिहासमा एक विलक्षण र अद्भूत पुननिर्माण कार्य सुरु भयो । त्यस्तो सफल र उदाहरणीय पुननिर्माण नेपालको इतिहासमा कहिल्यै भएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेपालको गौरवशाली सेनाले देश र जनताप्रति समर्पित हुँदै कति महान कार्य गरेको छ भन्ने आलेख हो यो ।

अस्वाभाविक त्यो आँधी

त्यसबेला पूर्वी नेपालका विभिन्न कार्यक्रममा सहभागी हुन केही दिनका लागि प्रधानमन्त्री ओली झापा पुगेका थिए । झापाको दमकमै प्रधानमन्त्रीलाई बारा–पर्साको आँधीको समाचार दिइयो । 

प्रधानमन्त्रीको साथमा रहेका प्रधानमन्त्री कार्यालयका एक अधिकृतले त्यो रातको स्मरण गर्दै सनराइज खबरलाई भने– ‘प्रधानमन्त्रीलाई आँधी सम्बन्धमा सामान्य रिपोर्टिङ गर्यौं । उहाँले वारा पर्साका प्रहरी र प्रजिअलाई उद्दार तथा राहत राम्रोसँग गर्न निर्देशन दिन अह्राउनुभयो । हामीले त्यो आँधी हुरी सामान्य खालकै ठानेका थियौं ।’

तर, असामान्य थियो त्यो आँधी हुरी । बारापर्साका कैयन गाउँलाई आँधीहुरीले तहसनहस बनाएको थियो । 

धेरै मानिस मारिएका छन्, सयौं मानिस घाइते छन्, सबै अस्पताल खचाखच छ, विरामी राख्ने ठाउँ छैन भन्ने खबर प्रधानमन्त्री ओलीलाई दिइयो । 

त्यसपछि प्रधानमन्त्री ओलीले दमकबाटै गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री उपेन्द्र यादव लगायतलाई तत्कालै टेलिफोन सम्पर्क गरेका थिए । 

बारापर्साको अवस्था चिन्ताजनक थियो । चैत बैशाखमा आँधी हुरी आउनु र धनजनको क्षति हुनु नियमित घटना थियो । तर, बारा–पर्सामा अवस्था सामान्य थिएन । मृत्यु हुनेको संख्या थपिँदै थियो । प्रधानमन्त्री ओलीलाई मृत्यु हुने र घाइते हुनेको संख्या निरन्तर बढिरहेको रिपोर्टिङ गइरहेको थियो । 

करिब आधा घन्टाको आँधीहुरीले बारा–पर्साका कैयन गाउँलाई मरुभूमि तुल्य बनाइसकेको थियो । त्यो रात देश सुतेन । सञ्चार माध्यमहरु पूर्ण रुपमा बारा–पर्सामा केन्द्रीत भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली दमकमा रातभर बारा–पर्साको अवस्थाको खबर लिँदै निर्देशन दिन व्यस्त भएका थिए । 

‘त्यो रात प्रधानमन्त्री ओलीलाई हामीले आराम गर्नुहोस् भनिरहेका थियौं । तर, बारा–पर्साको आँधीहुरीले गरेको क्षतिको खबर पाउन थालेपछि प्रधानमन्त्रीले आराम गर्न मान्नुभएन । अरुले पनि उहाँलाई आराम गर्नुहोस् भन्न सकेनन्’– प्रधानमन्त्री ओलीको साथमा रहेका ती अधिकृतले बताए । 

प्रधानमन्त्री ओलीले मध्यरातमा निर्णय गरे– पूर्वाञ्चलका सम्पूर्ण कार्यक्रम रद्द, बिहान उठ्ने बित्तिकै बारापर्सा जाने । प्रभावित क्षेत्रमा जान प्रधानमन्त्रीको सचिवालयले राति नै नेपाली सेनासँग समन्वय थालेको थियो ।

भोलिपल्ट..

भोलिपल्ट १८ चैतको बिहान पनि मानिस घाइते भएको, वेपत्ता भएको र मृत्यु भएको तथ्यांक भित्रको अंक थपिँदै थियो । 

प्रधानमन्त्री ओली दमकबाट भद्रपुर विमानस्थल पुगे । सेनाको स्काई भ्यानबाट उनी बाराको सिमरा विमानस्थल ओर्लिए ।  प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई पनि प्रभावित क्षेत्रमा बोलाइसकेका थिए । 

प्रधानमन्त्री ओली घाइतेहरुलाई भेट्न अस्पताल गए । उपचारको सम्पूर्ण व्यवस्था मिलाउन निर्देशन दिए । त्यसपछि प्रभावित क्षेत्रको निरीक्षण गरे । आँधीहुरीले त्यति ठूलो क्षति गर्न सक्छ भन्ने उनलाई लागेको थिएन । 

पूरै देश बारा–पर्सामा राहत तथा उद्दारमा केन्द्रीत भइरहेको थियो । त्यस्तो बेला काठमाडौंमा चाहिँ एकखाले परम्परागत शक्तिहरुले चलखेल थालेका थिए । उनीहरु थिए– पुननिर्माण माफिया । त्यस्ता माफियाहरु सरकारी पावर सेन्टरहरु धाउन थालेका थिए । 

१८ चैत अपरान्ह प्रधानमन्त्री ओली काठमाडौं आइपुगे । आइपुग्नासाथ प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखे । बैठकले राहत र उद्दार सम्बन्धमा गम्भीर निर्णयहरु लिँदै कामलाई प्रभावकारी बनाउन निर्देशन जारी गर्यो ।

बारा–पर्सामा सयौं घर ध्वस्त भएको प्रधानमन्त्री ओलीले आफ्नै आँखाले देखेका थिए । अर्थात्, अब पुननिर्माण गर्नुपर्ने भयो । 

खानकै धन्दा

कसैलाई के धन्दा, कसैलाई चाहिँ खानकै धन्दा भने झैं प्रधानमन्त्रीलाई पुननिर्माणको चिन्ता थियो, पुननिर्माण माफियाहरुलाई चाहिँ मौका यही हो भन्ने भयो ।

काठमाडौंमा देशीविदेशी पुननिर्माण माफियाहरुको चलखेल सुरु भइसकेको थियो । जानकारहरुका अनुसार पुननिर्माण गरिदिने भन्दै कैयन आइएनजीओ, दातृ निकाय तथा केही देश अगाडि सरेका थिए । 

विदेशी सहयोग कस्तो हुन्छ भन्ने नेपालले भोगिसकेको थियो, प्रधानमन्त्री ओलीले देखिसकेका थिए । जानकारहरुका अनुसार त्यसबेला प्रधानमन्त्री ओलीले निकटहरुसँग भन्न थालेका थिए– ‘पुननिर्माणको काम सजिलो छैन ।’

बारा–पर्सामा उद्दारको काम चलिरहेको थियो, बेघरबार मानिसहरु त्रिपाल मुनि बसेर रोइरहेका थिए । तिनको आँशुको खबर लिइरहेका थिए प्रधानमन्त्री ओली । घाइतेको उपचारको जानकारी लिइरहेका थिए । तर, प्रधानमन्त्रीको सबैभन्दा ठूलो चिन्ता पुननिर्माणको थियो । पुननिर्माणका लागि अनेक खाले प्रस्तावबाट प्रधानमन्त्री ओली घेरिएका थिए । 

र, त्यो अपूर्व निर्णय

पुननिर्माण कसरी गर्ने ? विभिन्न खालका प्रस्तावहरु आइरहेका थिए । प्रदेश नम्बर २ को सरकारलाई पुननिर्माणको जिम्मा दिन विशेष खालका दवाबहरु आइरहेका थिए । आइएनजीओ तथा विदेशी दातृ संस्थाहरु पनि पुननिर्माणको खेलोमेला गर्न पाइन्छ भन्दै मुख ‘आँ’ गरेर बसिरहेका थिए । 

विभिन्न आवरणका पुननिर्माण माफियाहरु सक्रिय देखिएका थिए । 

जति ढिला गर्यो, समस्या त्यति बढ्छ, पुननिर्माणमा त्यति जटिलता थपिन्छ भन्ने आँकलन प्रधानमन्त्री ओलीले गरे । त्यसपछि उनले मन्त्रिपरिषद् बैठक डाके । 

बारा–पर्सा आँधीहुरी विनाशको चार दिनपछि अर्थात् २१ चैतमा अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को विशेष बैठक बस्यो । त्यो बैठक पूर्ण रुपमा बारा–पर्सामा केन्द्रीत थियो । 

बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ट्वीटरमा लेखे– ‘हालै हावाहुरीबाट बारा र पर्सा जिल्लामा घरबार क्षति भई पीडित हुनुभएका जनताको घर नेपाल सरकारले वर्षायाम अगाडि नै जनता आवासको मोडलमा बनाई हस्तान्तरण गर्नका लागि नेपाली सेनालाई जिम्मेवारी दिएको सविनय सबैमा जानकारी गराउँदछु।’ 

मन्त्रिपरिषद्को सो बैठकले क, ख, ग र घ निर्णय गरेको थियो । अर्थात्, एउटा निर्णय गर्यो, जसका चार खण्ड थिए । जसको पहिलो खण्डमा लेखिएको थियो– पुनस्र्थापाना र पुनर्निर्माणको कार्य नेपाल सरकारले गर्ने ।

अर्काे खण्डमा लेखिएको थियो– घर निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने ।

नेपाली सेनालाई यो जिम्मेवारी त्यसै दिइएको थिएन । स्रोत अनुसार प्रधानमन्त्री ओलीले पुननिर्माण सम्बन्धमा छलफल गर्न प्रधान सेनापति पूर्णचन्द्र थापालाई बोलाएका थिए । तीन महिनामै काम सकिन्छ कि सकिँदैन भनी प्रधानमन्त्रीले सोधेका थिए । प्रधान सेनापति थापाले ‘सकिन्छ कि सकिँदैन भन्ने प्रश्नमा नेपाली सेना प्रवेश नै गर्दैन, जिम्मेवारी पाएपछि अवश्य सक्छ’ भनी जवाफ दिएका थिए ।

सेनापतिको जवाफबाट उत्साही भए प्रधानमन्त्री । त्यसपछि मन्त्रिपरिषद्बाटै निर्णय गराए ।

लगभग असम्भव मिसन

नेपाली सेनालाई जिम्मेवारी दिइएपछि विभिन्न कित्ताले विरोध थाले । विरोधकै बीच नेपाली सेनाले पुनसर््थापना तथा पुनर्निर्माणको तयारी थाल्यो । जिम्मेवारी पाए लगत्तै प्रधान सेनापति पूर्णचन्द्र थापा प्रभावित क्षेत्रको निरीक्षणमा गए । प्रभावित क्षेत्र हेरेपछि सेनाले कार्ययोजना बनाउन थाल्यो ।

जिम्मेवारी पाएको ठिक एक महिनापछि अर्थात् २१ बैशाख ०७६ मा नेपाली सेनाले पुनर्निर्माण कार्य थाल्यो । १८ भदौमा पुनर्निर्माण कार्य समापन भएको घोषणा गर्यो ।

करिब चार महिनाको छोटो अवधीमा आठ सय ६९ वटा घर बनाइसक्ने लगभग असम्भव मिसन नेपाली सेनाले पूरा गर्यो । नेपालको इतिहासमा यति छोटो समयमा यति वृहत् पुनर्निर्माणको सफल अभ्याश पहिलो हो । 

(यो काम सजिलो थिएन । तर, यो कसरी सम्भव भयो ? पुनर्निर्माणमा नेपाली सेनाले कस्ता चुनौतीहरु सामना गर्यो ? स्थानीयको प्रतिक्रिया के रह्यो ? सरकारले यो लगभग असम्भव मिसन पूरा गर्न केके गर्यो ? यो आलेखको दोस्रो भागमा चर्चा गरिनेछ ।)

प्राप्त प्रतिक्रिया
तपाईँको मत