English

समाज

देशैभरि फैलियो डेंगू

sunrisekhabar

काठमाडौं । डेंगू ज्वरो अहिले देशैभरि फैलिएको छ । वर्षा सकिने बेला भएपनि डेंगू नियन्त्रणमा भने आइसकेको छैन । 

यसअघि डेंगू तराईका जिल्लाहरुमा बढी देखिन्थ्यो । अहिले पहाडी जिल्लामा पनि यसले सताउन थाल्यो । यो रोगको प्रकोप बढेसँगै आम मानिसमा त्रास फैलिइरहेको छ । 

मौसम परिवर्तनका कारण भाइरल ज्वरोका विरामी पनि बढ्दैछन् । ती विरामीहरुमा डेंगू संक्रमणको शंकामा भइ थप परीक्षण गर्नुपर्ने चुनौति चिकित्सकहरुमा छ । 
लामखुट्टेबाट सर्ने डेंगूको संक्रमण जुनसुकै उमेरका मानिसलाई हुन्छ । 

मन्त्री, चिकित्सक देखि सर्वसाधारण पनि डेंगूको संक्रमणमा परिसकेका छन् । 

कृषि मन्त्री चक्रपाणी खनाल, नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई पनि डेंगू भएको पुष्टी भएको छ । मन्त्री खनाल सोमबार उपचार गरेर घर फर्किएका छन् । रुइत भने उपचाररत छन् ।

के हो डेंगू रोग ?

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट हो डेंगू लाग्ने । यो लामखट्टे सेतो र कालो रंगको हुन्छ । 

यो लामखुट्टेले दिउँसो टोक्छ । सफा पानीमा बस्छ र त्यही फुल पार्छ । वर्षात्को समयमा यो लामखुट्टेले बढि आक्रमण गर्छ ।  

डेंगू भाइरसको संक्रमण भएको चारदेखि दश दिनपछि यसका लक्षणहरू देखिन्छ ।

डेंगूका मुख्य लक्षण भनेकै ज्वरो आउनु हो । डेंगू रोग लागेपछि हाड, जोर्नी र मांसपेशी पनि दुख्छ । विरामीको शरिरमा रातो टाटो पनि देखिन्छ ।  

‘ब्रेक बोन फिभर’ पनि भनिने यो रोगको संक्रमण तीन प्रकारको हुन्छ । क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम । 

क्लासिक डेंगू सामान्य खालको डेंगू हो । यो डेंगू लागेमा विरामीको मृत्यु हुने सम्भावना निकै कम हुन्छ । 

हेमोरेजिक र साक सिन्ड्रोम डेंगू भने जटील खालको हुन्छ । विरामीमा रक्तस्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो समस्यामा रोगको लक्षण अनुसार उपचार गरिन्छ । 

यी दुई खाले डेंगू लागेपछि समयमै उचित उपचार नभए विरामीको मृत्यु हुन सक्छ ।

नेपालमा डेंगू 

नेपालमा डेंगूको संक्रमण नयाँ होइन । सन् २००४ मा नेपाली पहिलोपटक डेंगू भेटियो । जापानी स्वयंसेवकलाई डेंगू भएको थियो । 

सन् २००६ मा झापामा महामारीको रुपमा फैलियो, डेंगू ।  त्यतिबेला एक सय ४० जनामा डेंगू देखा परेको थियो । 

त्यसयता देशभरका करिब १५ वटा जिल्लामा डेंगूको भाइरस देखिन थाल्यो । 

तर, अहिले भने यो भाइरस देखिने जिल्लाको संख्या बढेर ४२ पुगेको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष डेंगूको सक्रमण बढेको छ । 

डेंगू संक्रमितको संख्या बढेपनि यसले महामारीको रुप भने नलिएको चिकित्सकहरुको भनाइ छ । नेपालमा अधिकांश मानिसमा देखा परिरहेको डेंगू सामान्य खालको रहेको चिकित्सकहरु बताउँछन् । 

यो रोगबाट बच्न  लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ । यसको लागि लामखुट्टेको नियन्त्रण नै सबै भन्दा उत्तम उपाय हो ।

विश्व परिवेशमा डेंगू 

डेंगू दोस्रो विश्वयुद्धदेखि यो रोग देखिन थाल्यो । हाल यो रोग विश्वका एक सय १० देशहरूमा व्याप्त छ । 

गम्भिर प्रकृतिको डेंगू विश्वमा पहिलो पटक सन् १९५० मा फिलिपिन्स र थाइल्याण्डमा देखापर्यो । अहिले एसियाली तथा ल्याटिन अमेरिकी मुलुक बढि प्रभावित छन् । 

विश्व स्वास्थ्य संगठनकै अध्ययन अनुसार वार्षिक ३९ करोड व्यक्तिमा डेंगुको संक्रमण भएको पाइन्छ । यस्तै एक सय २८ मुलुकका करिब तीन अर्व ९० करोड जनसंख्या डेंगू भाइरसको जोखिममा रहेको छ ।    

डेंगुको संक्रमण वर्षेनी बढ्दै गएको छ । सन् २०१० मा जम्मा २२ लाख मानिसमा डेंगू यो रोग सिमित थियो । तर, सन् २०१६ सम्ममा ३३ लाख ४० हजार मानिसमा डेंगू भेटियो ।

यस्तो छ उपचार 

बिरामीको लक्षण र अस्पतालमा गरिने परीक्षणबाट यो रोगको पहिचान गर्न सकिन्छ । 

चिकित्सकहरुका अनुसार डेंगु ज्वरोको कुनै विशेष उपचार छैन । यसको कुनै खोप पनि छैन । 

यसको लक्षणका आधारमा उपचार गरिन्छ । रोगीले सामान्यतया घरमै आराम गरेमा र प्रशस्त झोलिलो पदार्थ खाएमा आफै ठिक हुन्छ । तर, रोगको जटिलता बढेमा नजिकको स्वास्थ्य संस्थामा भर्ना भई चिकित्सकको सल्लाह अनुसार उपचार गराउनुपर्दछ ।

सतर्कता अपनाउँ

देशका अधिकांश अस्पतालहरु डेंगू रोगी संख्या बढेको छ । संघीय संसदमा पनि यसको नियन्त्रणका लागि आवाज उठिरहेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगूको संक्रमणले महामारीको रुप नलिएका कारण हल्लाका पछि नलाग्न आग्रह गरेको छ । 

डेंगू ज्वरोका लक्षणहरू

यो सामान्य प्रकारको ज्वरो हो । आजसंम्म पनि यो रोग विरुद्धको खोप पत्ता लागेको छैन । 
एक्कासी तीन देखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । यसको साथै निम्न लक्षणहरु पनि देखा पर्दछन् ।

– बेस्सरी टाउको दुख्ने    
– आँखाको गेडी दुख्ने    
– शरीरमा डामहरु आउने  
–अरुचि हुने 
– जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने 
– पेट तथा आन्द्रामा गडबडी हुने

केही बिरामीमा भने सुरुमै शरीरभर खटिरा आउँछ । त्यस्तै शरीरमा डण्डिफोर जस्तो देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तस्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ । कालो वर्णको मानिसहरूमा डावरहरू प्रस्ट देखिदैन । 

बच्ने उपायहरू

–    पानी राख्ने भाँडाहरु जस्तै पानी ट्याङकी, गाग्री, दहीको कतारो, बाल्टिन, ड्रम आदि सधैं छोपेर राख्ने । 
–    लामखुट्टेको नियन्त्रणको लागि घर वरपर 
–    पानी जम्न नदिने, खाल्डा–खुल्डी पुर्ने 
–    घर आंगन सफा राख्ने 
–    यो लामखुट्टेले सफाजमेको पानीमा फुलपार्ने हुनाले लामो समयसम्म एउटै ठाँउमा पानी जम्मा गरेर नराख्ने । 
–    पुराना टायर,पानी जम्न सक्ने भाँडाकुँडा, पुरानाबट्टा खाल्टो खनी छोप्ने वा नष्ट गर्ने । 
–    गमला÷फुलदानी, एअर–कुलर जस्ता पानी जम्ने सामग्रीको पानी हप्तामा एकपटक नियमित रुपमा सुख्खाहुने गरी सफागर्ने । 
–    कुनै स्थानमा खानेपानीको पाईप तथा ढलहरू चुहिने भएमा तुरुन्त मर्मतको व्यवस्था गर्ने ।   

डेंगू ज्वरोको उपचार 

डेंगू ज्वरो विषाणुको कारणबाट लाग्ने भएकाले यसको कुनै किसिमको उपचार छैन । तर, बिरामीमा देखिएका लक्षणहरू अनुसारको उपचार गरिन्छ । 

ज्वरो घटाउन सिटामोल र प्रशस्त मात्रामा झोल पदार्थ पिउनु पर्दछ । त्यसैले यस्ता लक्षणहरू कुनैपनि व्यक्तिमा देखापर्ने बित्तिकै डेंगू ज्वरोबाट बचाउन तुरुन्त स्वास्थ्य संस्थामा लगेर उपचार गराउनु पर्छ । डेंगूको बिरामीहरुको विशेष हेरचाहका लागि अस्पतालमा भर्ना गर्नुपर्छ । 

डेंगू ज्वरोको संक्रमणबाट बच्ने उपायहरू

यो रोगबाट बच्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ । यसको लागि लामखुट्टेको नियन्त्रण नै सबै भन्दा उत्तम उपाय हो । लामखुट्टेको नियन्त्रण गर्न तल दिइएका कुराहरूमा ध्यान दिनुपर्दछ :-

–    पुरा शरीर ढाकिने गरी कपडा लगाउने । 
–    लामखुट्टेको टोकाईबाट बच्न मल्हम वा मच्छड धूप जस्ता सामग्री प्रयोग गर्ने । 
–    राति र दिउँसो सधैं झुलभित्र सुत्ने । 
–    घर वरपर वा खेतबारीमा काम गर्न जाँदा लाम खुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउने । 
–    झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत