English

राजनीति

कांग्रेसको दोस्रो चरणको जागरण अभियान सुरु

sunrisekhabar

काठमाडौं । नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आजदेखि देशभर एकसाथ सुरु भएको छ । कांग्रेसले जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको दिवस पारेर जागरण अभियान सुरु गरेको हो । आजदेखि सुरु भएको अभियान आगामी असोज ७ गते समापन हुनेछ । 
 
जागरण अभियानको दोस्रो चरणमा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत विभिन्न कार्यक्रम गरिने कांग्रेसले जनाएको छ । जसअनुसार आज बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरूप १ सय ६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर अभियानको देशव्यापीरूपमा उद्घाटन गरिएको छ ।
 
अभियानको उद्घाटनमा सम्बोधन गर्न कांग्रेसका केन्द्रीय पदाधिकारीसमेत विभिन्न जिल्लामा खटिएका छन् । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदारले सम्बोधन गर्ने छन् । त्यस्तैमकवानपुरमा महामन्त्री डा शशाङ्क कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्नेछन्  ।
 
अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । अभियानका लागि काङ्ग्रेसले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक÷एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाइएको छ । प्रवक्ता शर्माले भने– ‘अभियानका औपचारिक कार्यक्रम छरितो हुने र वक्ता सीमित सङ्ख्या तथा बढी अन्तक्र्रियात्मक हुनेछन् । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका कार्यक्रम निर्धारण गरिएको छ ।’
 
अभियानका क्रममा नागरिक पङ्क्तिमा स्थानीय तहमा वडास्तरीय सामाजिक संवाद कार्यक्रम, सामाजिक विसङ्गतिविरूद्ध जागरण, युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिने बताइएको छ । अभियानका कार्यक्रममध्ये वडास्तरीय अन्तक्र्रियामा पार्टी सुदृढीकरण र प्रभाव विस्तारका सन्दर्भमा गाउँ–गाउँमा रहेका नेता कार्यकर्ताको भावना बुझ्न महत्वपूर्ण हुने कांग्रेसको बुझाइ छ । 
 
वडाको विकास निर्माणमा पार्टीको भूमिका, गाउँ–नगरपालिकाको कार्य समीक्षा तथा समग्रमा काङ्ग्रेस सुदृढीकरणका लागि आवश्यक कार्यबारे वडास्तरीय विशेष छलफल हुने प्रवक्ता शर्माले बताए । जागरण अभियानका क्रममा पार्टीका केन्द्रीय प्रतिनिधि र अन्य नेताकार्यकर्ता आजको स्थिति बुझ्न पार्टीका अग्रज, तथा शहीद परिवारप्रति श्रद्धा प्रकट गर्न उहाँहरूको घरमा पुग्ने कार्यक्रम तय गरिएको छ ।
 
यसैगरी स्थानीय सरकारको दुई वर्षे समीक्षा पनि गरिनेछ । साथै कांग्रेसको नेतृत्व रहेका तहमा जनभावनाअनुरूप अझ प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने र निर्वा्चित प्रतिनिधिबीच पर्याप्त समन्वय र एकता कसरी बढाउने सम्बन्धमा पनि अन्तक्र्रिया हुने बताइएको छ । 
 
जागरण अभियानका क्रममा पार्टीका सबै जिल्ला कार्यसमितिले अभिलेख सङ्कलनलाई गति दिने, सबै प्रदेश क्षेत्रमा युवा केन्द्रित विशेष संवादको सहजीकरण गर्ने, प्रदेशसभा क्षेत्रका जागरण कार्यक्रमको आवश्यक समन्वय गर्ने, असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय जनप्रदर्शनको गरिनेछ ।  
 
अभियानका क्रममा पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले अभियान सफल बनाउन तोकिएका कार्यक्रममा आफ्नो संयन्त्र परिचालन गर्नेछन् । नेपाली जनसम्पर्क समितिहरूले विदेशमा रहेका सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै राजदूतावास र कन्सुलेटमार्फत सरकारसमक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेश गर्नेछन् । काठमाडौँमा रहेका पार्टीका जिल्ला सम्पर्क समितिहरूले जागरण अभियानका क्रममा अभियानको प्रचारका लागि भूमिका निर्वाह गर्नेछन् । 
 
जागरण अभियानको अवधिमा पर्ने संविधान दिवस असोज ३ गते विभिन्न कार्यक्रम गर्ने, जागरणको अन्तिम दिन असोज ७ गते बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक भनिएका विधेयक र कुशासनका विरुद्ध जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गरिने उनले बताए । 

यसअघि कांग्रेसले ७७ वटै जिल्लामा गत वैशाख २५ देखि जेठ २५ गतेसम्म अभियानको प्रथम चरण सम्पन्न गरेको थियो । अभियानको तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भएर पुस १६ गते मेलमिलाप दिवसमा समापन हुने पार्टी कार्यालयले जनाएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत