English

राजनीति

स्वदेश फर्किए चिनियाँ विदेश मन्त्री वाङ

sunrisekhabar

काठमाडौं  । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमण पूरा गरी स्वदेश मंगलबार फर्किएका छन् । विदेश मन्त्री वाङ आज दिउसो विशेष विमानबाट स्वदेश फर्किएका हुन् । 

उनलाई विदाइ गर्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलगायतको टोली त्रिभुवन विमानस्थल पुगेको थियो ।

स्वदेश फर्कनुअघि उनले आज बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेका थिए । भेटमा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण, आपसी हित लगायतका विषयमा छलफल भएको बताइएको छ । काठमाडौंको नक्सालस्थित मेरियट होटलमा भेटवार्ता भएको हो ।

त्यसअघि सोमबार उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आइतबार नेपाल भ्रमणमा आएका थिए । दुवै देशका परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । उनले भक्तपुर दरबार क्षेत्रको अवलोकन पनि गरेका थिए ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत