गगनलाई कालो झण्डा देखाइनुको अर्थ के हो ?
काठमाडौं । आइतबार बिहानदेखि गगन थापाको फोनको घन्टी बज्न थाल्यो । नेवि संघका कार्यकर्ताहरुले गगन थापालाई बिहान देखि फोन गरेर र गुनासो गरेर धुरुक्क पारे । सबैको एउटै भनाई थियो— ‘हाम्रो आन्दोलनको किन विरोध गरेको ?’
निकट स्रोतहरुले बताए अनुसार गगनलाई कतिपय नेताहरुले समेत फोन गरेर किन नेवि संघको आन्दोलनको विरोध गरेको भनी प्रश्न सोधेका थिए ।
भएको के थियो भने अघिल्लो दिन अर्थात् शनिबार रात ११ बज्न तीन मिनेट बाँकी हुँदा गगनले ट्वीटरमा एउटा ट्वीट लेखे । त्यही ट्वीटले नेवि संघका कार्यकर्ताहरुमा हल्लाखल्ला भएको थियो ।
गगनले लेखेका थिए— ‘नेवि संघको नाममा केही विद्यार्थीले सरकारी गाडि जलाएकोमा तपाईंको धारणा के हो भनेर थुप्रै साथीहरुको प्रश्न रहेछ । किन्तु, परन्तु केही नलगाई मेरो उत्तर ः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई निरुत्सासाहित गर्न म डटेर लाग्नेछु ।’
यो ट्वीटले गगनलाई आपत आइलाग्यो । राति अबेर लेखेकाले राति त फोन आएन तर बिहानैदेखि फोन आउन थाल्यो । नेवि संघका महामन्त्री समेत रहिसकेका गगनले नेवि संघले चलाएको हिँसात्मक तोडफोड अभियानको कडा विरोध गर्दा कतिपय कार्यकर्ताले भने सहेनन् ।
स्रोत भन्छ— यति धेरै विरोध आयो कि गगनलाई आपत नै आइलाग्यो ।
आइतबार प्रतिनिधिसभा वैठक थियो । कांग्रेसले संसद अवरोध खोल्नुपर्ने थियो । अवरोध खोल्दा आफ्ना कुरा कांग्रेसका कोही सांसदले राख्नुपर्ने थियो । गगनले म बोल्छु भने । उनैलाई बोल्न दिइयो ।
गगनले टुइटरमा लेखेको कुरा प्रतिनिधिसभामा चाहिँ दोहोर्याएनन् । बरु, उनले आक्रोशपूर्ण शैलीमा ‘प्रतिपक्षी भनेको कस्तो हुन्छ, अब देखाइदिन्छौं’ भने । रिसाएका नेवि संघका विद्यार्थीलाई खुसी पार्ने उनको मनसाय प्रष्ट देखिन्थ्यो ।
सोमबार कांग्रेसले गरेको देशव्यापी प्रदर्शनमा सहभागी हुन गगन पोखरा गए । यो त्यही पोखरा थियो जहाँ शनिबार नेवि संघका कार्यकर्ताले सरकारी मोटर जलाएका थिए र प्रशासनले पाँच जनालाई पक्राउ गरेको थियो ।
गगनले प्रतिनिधिसभामा गरेका आक्रोशपूर्ण शैलीको भाषण काम लागेन । सोमबार पोखरामा कार्यकर्ताले उनलाई कालो झण्डा देखाइदिए ।
हिँसा र आगजनीको विरोध गर्ने नेताको विरोधमा कालो झण्डा देखाइनु भनेको असहिष्णुता हो । देशमा पछिल्लो कालमा फैलाइँदै गरेको घृणा र असहिष्णुताको अगुवा कांग्रेस नै हो तर त्यस्तो नकारात्मक प्रवृत्ति कांग्रेस भित्रै मौलाएको देखियो ।
अन्नपूर्ण पोष्टका अनुसार सोमबार पोखरामा गगनलाई कालो झण्डा देखाउनेहरु नेवि संघका प्रतिवद्ध कार्यकर्ता हुन् ।


प्रतिकृया दिनुहोस