English

राजनीति

बन्द भयो माधव नेपालको सम्पर्क कार्यालय

sunrisekhabar

काठमाडौं । नेकपाका नेता माधवकुमार नेपालले खोलेको सम्पर्क कार्यालय बन्द भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित एक सहकारीको कार्यालयसँगै राखिएको कार्यालय केही दिन अघि बन्द भएको बुझिएको छ ।

स्रोत अनुसार सो कार्यालयको मासिक भाडा ५० हजार रुपैयाँ थियो । कार्यालयमा माधव नेपाल निकटकाहरु भेला हुने गरेका थिए । तर, नेता नेपाल आफैं भने विरलै मात्र जाने गरेका थिए । 

स्रोत अनुसार माधवले भेटघाट चाहिँ सम्पर्क कार्यालय नजिक रहेको अर्याल होटलमा गर्ने गरेका थिए । के कारणले बन्द भयो सम्पर्क कार्यालय ? स्रोत अनुसार कार्यालयमा भेला हुने माधव पक्षधरहरुको संख्या न्यून हुँदै गएपछि कार्यालयको औचित्य रहेन, त्यसैले बन्द गरिएको हो ।

यस्तो थियो विगत

गत २३ मंसिरमा नेकपा सचिवालयको बैठक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बहिष्कार गरेका थिए ।  

बहिष्कारको कारण थियो, सचिवालयको बैठक निर्धारित समयमा सुरु नहुनु । बैठक समयमै सुरु भएन भन्दै चार नेताले सार्वजनिक रुपमा आक्रोश व्यक्त गरेका थिए ।  बैठक समयमै सुरु नहुनु बहाना मात्र थियो । नौ सदस्य सचिवालयमा चार जनाले बहिष्कार गर्नु असामान्य थियो ।  

त्यो प्रकरणको करिब १० महिनापछि नेकपाभित्र परिस्थिति फेरिएको छ । त्यसबेला सचिवालयका करिब आधाजति नेताहरु प्रतिपक्षी नेपाली कांग्रेसले खटाएका प्रतिनिधि हौं भनेजस्तो गर्थे । त्यस्तै–त्यस्तै खालको भूमिका गर्थे ।  त्यो अवस्था अब रहेन ।

गत आइतबार नेकपा केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकीकरणको काम छिटै सम्पन्न हुने, अब सरकारले प्रभावकारी काम गर्ने भने । उनले सरकारका कामको प्रशंसा गरे । सरकारलाई सघाउ पुग्ने कुरा गरे ।

अर्का नेता नाराणकाजी श्रेष्ठले पनि ठ्याक्कै झलनाथ खनालको जस्तै लाइनमा भाषण गरे । सचिवालयका अर्का सदस्य वामदेव गौतमले पनि दह्रोसँग भन्न थालेका छन्– ‘यो सरकारले प्रभावकारी काम गरिरहेको छ, सरकारलाई सबैले सहयोग गर्नुपर्छ ।’

सचिवालयका नौमध्ये आठ जना सदस्य सरकारलाई सफल बनाउने अभियानमा जुटे । तर, माधव नेपाल पछाडि छुटे । माधव नेपाल अहिले पनि विगतको जस्तै प्रतिपक्षी शैलीको काम र कुरा गरिरहेका छन् । अर्थात्, सचिवालय भित्र प्रतिपक्षी बेञ्चमा माधव एक्लै परेका छन् ।


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत