English

समाज

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ, ओली र मोदीले अ‍ाज उद्घाटन गर्ने

sunrisekhabar

काठमाडौं । करिब डेढ दशकदेखि चर्चित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले मंगलबारदेखि पूर्णता पाउने भएको छ । देशकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको आज औपचारिक उद्घाटन हुँदैछ ।

पाइपलाइनकाे प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने बताइएको छ । मध्याह्न १२ बजे औपचारिक रूपमा पाइपलाइनको उद्घाटन हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र उनका भारतीय समकक्षी मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट एकैसाथ पाइपलाइन उद्घाटन गर्ने छन् । दुवै देशका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पाइपलाइन उद्घाटन गर्ने अधिकारीले सनराइज खबरलाई बताए । त्यसक्रममा रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुल्ने छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु हुने छ । 

नयाँदिल्लीबाट मोदीले थिचेको स्विचले तेल नेपाल पठाउने र काठमाडौँबाट ओलीले थिचेको स्विचले तेल अमलेखगञ्जमा झर्ने छ । कम्प्युटरकै माध्यमबाट पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको बताइएको छ । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने बताइएकाे छ । त्यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ ।

उद्घाटनसँगै सो पाइपलाइन हुँदै भारतबाट नियमित पेट्रोलियम पदार्थ आपूर्ति सुरु हुने नेपाल आयल निगमले जनाएको छ । पाइपलाइनबाट  दैनिक करिब चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने छ । यसका लागि पाइपलाइन दैनिक २० घन्टा सञ्चालन हुनेछ । पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने बताइएकाे छ । गत २ साउनमा पहिलो पटक मोतिहारीबाट पाइपलाइन हुुँदै अमलेखगन्ज डिपोमा डिजल आइपुगेको थियो । 

मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर छ । जसमा नेपालतर्फ २६.२ र भारततर्फ ३३.६९ किलोमिटर रहेको छ। सो पाइपलाइनको यसअघि नै सफल परीक्षण भइसकेको छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रुपैयाँ बचत हुने निगमको अनुमान छ । पाइपलाइनको नेपालतर्फको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले दिइएको बताइएको छ ।


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत