English

विचार

नेकपाका सेकेण्ड सुई अर्थात वामदेव गौतम

sunrisekhabar

बालकुमार नेपाल--

नेपाली राजनीतिका अनौठा र विलक्षण पात्र हुन् वामदेव गौतम । वामदेवलाई घडीको ‘सेकेण्ड सुई’सँग तुलना गर्न सकिन्छ । घडीमा सबैभन्दा पहिला र छिटो घुम्ने सुई ‘फस्ट सुई’ भनिनुपर्ने हो तर त्यसलाई भनिन्छ– ‘सेकेण्ड सुई’ । वामदेव सेकेण्ड सुई जस्तै छिटो छन् । 

नेपाली राजनीतिका अनेक दुर्लभ र महत्वपूर्ण क्षणका साक्षी हुन् वामदेव । यिनको राजनीतिक कारनामा अनेक छन् । सबैले बुझेको तथा देखेको कुरा हो– वामदेवमा ठूलो राजनीतिक खुबी छ । उनमा क्षमता छ, इमानदारी छ । वामदेवमा सबैथोक छ तर एउटा चिज छैन । त्यो हो– भाग्य । नेपाली राजनीतिका अभागी नेता हुन् वामदेव । 

राजनीतिमा शीर्ष नेतालाई चलाउने यिनको भूमिका रहँदै आएको छ र यो नै उनको विशेषता पनि हो । अहिलेसम्म वामदेवको पुर्पुरोमा फस्ट म्यान बन्न लेखिएको छैन । अँ, उनी एकपटक फस्ट म्यान बने, त्यो पनि पार्टी विभाजन भएको बेला । 

समीकरणका विलक्षण खेलाडि हुन् वामदेव । ०५१ सालपछिको त्रिशंकु संसद्मा राप्रपाको दुई खेमालाई फनफनी घुमाउने काम उनैले गरेका थिए । सरकार टिकाउने र गिराउने काम उनैले गरेका थिए । त्यो कालखण्डमा उनी तत्कालीन एमाले भित्र दह्रोसँग उदाएका थिए । 

०५४ सालमा पार्टी विभाजन भएपछि नेकपा मालेको केन्द्रीय कार्यालय बागबजारमा थियो, पछि धोबीचौरमा सर्यो । त्यसपछि ललितपुरको कुपण्डोलमा सर्यो । कुपण्डोलसम्म पार्टी आइपुग्दा खिइएर पूरै दुब्लाइसकेको थियो । आमचुनावमा वामदेव नेतृत्वको मालेले एक सिट पनि ल्याएन । तैपनि वामदेवको मालेले पाँच प्रतिशत भन्दा धेरै मत ल्याएको थियो । अहिलेजस्तो समानुपातिक सांसद्को व्यवस्था त्यसबेला भएको भए शायद वामदेवको राजनीतिक यात्रा अर्कै बाटोमा जाने थियो ।

०५६ सालमा पार्टी एकीकरण भयो । एकीकरण गर्दा वामदेवले कुनै इगो देखाएनन् । अहंकार पनि देखाएनन् । उनको साथमा रहेका सीपी मैनाली लगायतका केही नेताहरु प्रालिजस्तो पार्टी चलाएर बसे, तर, वामदेवले कम्युनिष्ट मूलधार छाड्न हुँदैन भनेर एमालेलाई नै अंगाले । एमालेले पनि वामदेवलाई अंगाल्यो । 
पार्टी एकीकरण भएपछि कुर्सी टेबलको एउटा रोचक किस्सा छ । एकीकरणपछि मालेको कुपण्डोल पार्टी कार्यालयबाट सबै सामान एमाले केन्द्रीय कार्यालय बल्खुमा पुग्यो । माले कार्यालयमा वामदेव बस्ने गरेको टेबुल कुर्सी पनि बल्खु पुग्यो । रमाइलो मानीमानी त्यो टेबल कुर्सी धेरैले एमालेको बल्खु प्राङगणमा हेरेका थिए । त्यो टेबल कुर्सी कसले प्रयोग गर्ने ? त्यसको प्रयोग गरेका थिए– तत्कालीन प्रचार बिभाग प्रमुख प्रदिप नेपालले ।

कालान्तरमा वामदेव गौतम फेरि पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री बने । उनी गृहमन्त्री बनेपछि पहिलेको त्यो टेबल कुर्सी प्रयोगकर्ता प्रदीप नेपाल वामदेवको राजनीतिक सल्लाहकार बने । 

वामदेवको क्रेज कहिल्यै घटेन । यी अभागी नेताले गत चुनाव हारे । चुनाव हारेपछि पनि उनी निरास देखिएनन् । कुनै न कुनै उपायले संसद्मा पुग्न उनले प्रयत्न गरेको देखियो तर अहिले उनको प्रयत्नमा विश्राम लागेको देखिएको छ । 

शक्तिबाहिर हुँदा पनि वामदेवले शक्ति अभ्याश गरे । सत्ता बाहिर रहँदा पनि सत्तालाई प्रभावित गरे । राजनीतिका जब्बर खेलाडि हुन् वामदेव । उनमा विगतमा टाढासम्म हेर्दैनथे । धैर्य गर्दैनथे । तर, अहिले उनी टाढासम्म हेर्ने र धैर्य गर्ने खेलाडि बनेको देखिँदैछ । कुरा छिनालेरै भन्ने हो भने अहिले वामदेव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको साथमा छन् । 

गुटको कुरा एक ठाउँमा छ, साथ र सहयात्राको कुरा अर्काे ठाउँमा छ । वामदेव जत्तिको नेता कुनै ठाउँमा उभिन्छ भने ऊ उभिएको ठाउँमा एउटा जमात भेला भइहाल्छ अनि त्यो जमातले गुटका रुपमा आफूलाई परिचालन गर्न थालिहाल्छ । नेपालका स्थापित राजनीतिक पार्टीहरुमा गुट हुनु सर्वसामान्य र सर्वस्वीकार्य विषय बनिसकेको छ ।

अर्थात्, वामदेव पनि नेकपाको एउटा गुटका नेता हुन् । तर, अहिले भने चित्र केही फरक देखिँदैछ । किनभने वामदेव र केपी ओली दुई गुटका नेताका रुपमा नभएर सहयात्रीका रुपमा एकाकार भएको देखिन थालेको छ । गुटभन्दा माथि उठेर केपी र वामदेवले राजनीतिक अभ्याश गर्न थालेका हुन् भने त्यसलाई नकारात्मक मान्न मिल्दैन । 
केपीसँगको मिलाप वामदेवका लागि फाइदै फाइदाको कारोबार भएको छ । उनी पार्टीको उपाध्यक्ष बनेका छन् । ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल भनेजस्तै वामदेवले सामु विधानको छेकबार तोडेर पनि पद र जिम्मेवारी पाउने गरेका छन् । ०५१  सालमा तत्कालीन एमालेको विधानमा उपमहासचिव पद थिएन, तैपनि वामदेव उपमहासचिव बने । अहिले विधानमा उपाध्यक्ष पद छैन, तैपनि उनी उपाध्यक्ष बन्दैछन् । 
अभागी भए पनि वामदेवलाई भाग्यले लात नै हानेको छ भन्न मिल्दैन । 

केपी र वामदेवको व्यक्तिगत सहयात्रा पनि रोचक छ । पार्टीमा यी दुई जहिले पनि एकै ठाउँ बसे, एउटै त्रिपालभित्र बसे । तर, पार्टी विभाजनका बेला भने केपी र वामदेव छुट्टिए । छुट्टिएपछि केपी ओलीले घोषणा गरिदिए– ‘चुनावमा मालेले शून्य सीट ल्याउँछ ।‘

ज्योतिष नै ठहरिए त्यसबेला ओली । माले शून्य सीटमै सीमित भयो । तर, राजनीतिक यात्रा रोकिएन । पार्टी एकीकरण भयो । फेरि केपी र वामदेव एउटै त्रिपाल मुनि आइपुगे ।

एकीकरणकै प्रसंगको कुरा लेखौं । एकीकरण समारोह भएको थियो काठमाडौंको राष्ट्रिय सभागृहमा । त्यहाँ भाषण गर्दै वामदेवले भनेका थिए– म जति लिएर गएको थिएँ, त्यति फिर्ता ल्याउन सकिन । तर, आगामी दिनमा पार्टी विभाजनको क्षतिपूर्ति म तिर्छु ।’

अहिलेसम्मको यात्रा हेर्दा वामदेवले क्षतिपूर्ति तिरेकै मान्न सकिन्छ ।  

राजनीति कहिल्यै रोकिँदैन, चलिरहन्छ, व्यक्तिको राजनीति कहिले उकालो लाग्छ, कहिले ओरालो लाग्छ । तर, ओरालो लाग्दा पनि हतास नहुने तत्कालीन एमालेका दुई मुख्य पात्र देखिए– केपी ओली र वामदेव गौतम । नहार्ने र नथाक्ने, ओरालो लाग्दा पनि नआत्तिने यी दुई पात्र अहिले एउटै त्रिपाल मुनि छन् । एउटै त्रिपाल मुनि भन्नुभन्दा पनि यी दुई एउटै डुंगामा सवार भएको देखिएको छ । 
अब सरकारको सफलता, सरकारको दिर्घायु र केपी ओलीको सफलतासँग वामदेवको पनि सफलता गासिएको छ । यी दुईको सफलता नै पार्टी पंक्ति र देशको सफलता हो भन्न सकिने अवस्था सिर्जना भएको छ । 

नेकपाको सेकेण्ड सुई वामदेव गौतमको घुमाईले फस्ट सुई ओलीलाई सफलता मिल्नेछ । अनि, नेकपा पार्टी र देशको घडीले अब ठिक समय देखाउँछ भनी आशा गरौं । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत