• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

रेष्टुराँ सञ्चालकहरुकाे लुट्ने धन्दा : पाँचजना गिरफ्तार

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । राम्रोसँग चलिरहेकाे काठमाडौंको एक रेष्टुराँका पाँचजनाले अर्काे धन्दा पनि गर्ने रहेछन् । उनीहरुको धन्दा हो– लुट्ने । 

काठमाडौं महानगरको १६ नम्बर वडामा चलिरहेको ‘हाई रेष्टुरेण्ट एण्ड डान्स बार’ का मालिकहरु कुशल अधिकारी, राम बहादुर तामाङ, धर्मराज तामाङ, पिटर तामाङ र विजय तामाङले लुटेरा गिरोह चलाइरहेको खुलेको छ । उनीहरु सहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट दुईटा पेस्तोल र चार राउण्ड गोली पनि बरामद भएको छ ।

गत बिहिबार (१९ गते) यो समूह सामाखुसी बसपार्क स्थित मुस्ताङ गेष्ट हाउसमा पस्यो । गेष्ट हाउसको कोठा नम्बर ४०४ मा बसेका सुन ब्यापारी योगेश वि.क को कञ्चटमा पेस्तोल ताक्दै ‘हामी प्रहरी हौं’ भनेर उनको साथमा रहेको केही नगद र सामान लिएर भागे । 

‘प्रहरी हौं’ भन्नेले किन लुटे ? योगेश छक्क परे । ती नक्कली प्रहरी रहेको आकलन गर्दै उनी सक्कली प्रहरीको सम्पर्कमा पुगे । त्यही बेला लुटेरा गिरोहले एउटा गल्ती गर्यो । उनीहरुले योगेशलाई फेरी सम्पर्क गरेर आफूहरुसँग सुन रहेको र त्यो सुन किन्न पैसा लिएर आउनु भने । त्यतिबेलासम्म प्रहरीले सो समूहलाई पछ्याइसकेको थियो । 

नवलपरासीको बर्दघाट–१५ घर भई बालकृष्ण सुनचाँदी पसल सञ्चालन गर्ने योगेशलाई लुट्ने यो समूह शनिबार नै पक्राउ पर्यो । उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । 

लुटेरा समूह सार्वजनिक गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले उनीहरुको साथबाट दुईथान पेस्तोल र एक किलो नक्कली सुन बरामद गरिएको जानकारी दिए । 

सुवेदीका अनुसार रेष्टुराँ सञ्चालक पाँचजना बाहेक पक्राउ पर्नेमा गुल्मीका युवराज भण्डारी, रसुवाका योर्साङ घले, नुवाकोटकै राजन तामाङ रहेका छन् । उनीहरुलाई ‘हाई रेष्टुरेण्ट एण्ड डान्स बार’बाटै पक्राउ गरेको हो । 

सो समूह सुन लुटपाटमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रतिकृया दिनुहोस