English

कृषि

तरकारी व्यापारबाट सियावती आत्मनिर्भर

sunrisekhabar

सिरहा । सामान्य लेखपढ गर्न समेत नजानेकी सियावती रामलाई बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजीकको शहर बजारमा कतिबेला पुर्‍याउने भन्ने हतारो हुन्छ । 

सिरहाको लक्ष्मीपुर गाउँपालिका–६ सलोखरीकी सियावती देवी रामलाई अचेल बजारमा तरकारी पुर्या‍उन भ्याइनभ्याई छ ।
दुई वर्षअघिसम्म पुँजीको अभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी सियावती देवीले अहिले भने तरकारी खरिद बिक्रीलाई आयआर्जनको राम्रो आधार बनाएकी छिन् । 

सियावती अहिले गाउँ नजीकैको बजारमा तरकारी किनबेच गरेर राम्रो आम्दानी गरिरहेकी छन् । आयआर्जनको गतिलो आधारसँगै सियावतीको जीवनमा परिवर्तन मात्र होइन, परिवारको पहिचान समेत फेरिएको छ । 

आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहुमहाजन कहाँ बनिबुतो गर्दैआएको विगत सम्झँदै सियावती देवीले भनिन् – “पहिले ज्याला मजदूरीमा  काम गरेर जीविकोपार्जन गरिरहेकी थिएँ । बालबच्चाको पालनपोषण गर्न धौ–धौ हुन्थ्यो ।” 

ज्याला मजदूरीमा दिनभरि काम गर्दा तीन किलो धान मात्र ज्याला पाउँथे उनी ।  सियावती देवीले भनिन् – “तर, अब मेरो त्यो दुःखका दिन कटेको छ ।” अहिले तरकारी व्यापार गरेरै उनले पाँचजनाको परिवार धानिरहेकी छन् । 

दुई वर्षदेखि तरकारीको व्यवसाय शुरु  गरेकी उनले छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएकी छन् । त्यति मात्रै होइन, त्यही तरकारी व्यापारबाट घडेरीका लागि १० धुर जग्गा समेत जोडेकी छन् । 

घरबाट निस्कन र अरुका अगाडि बोल्न लजाउने स्वभावकी सियावती देवीको जीवनमा आएको यो परिवर्तन कुनै चामत्कारिक शक्तिबाट नभई गाउँकै महिलाहरुको अग्रसरताबाट गठन भएको समूहबाट आएको हो । 
“शुरु शुरुमा म धेरै लजाउँथे, के गर्नुपर्छ भन्ने थाहै थिएन, सधै मजदूरी गरेर जेनतेन परिवार मात्रै पाल्थें,” सियावती देवीेले भनिन् – “जब गाउँका महिलाहरु समूह बनाएर बचत गर्न तथा ऋण लिन थाले तबदेखि मेरो  जीवनमा पनि परिवर्तन आयो ।” मिलन सामाजिक परिवारमा आबद्ध भएकी सियावती देवी त्यही सामाजिक परिवारको सहयोगमा दुई वर्ष अघिदेखि तरकारी व्यापार शुरु गरेको बताउँछिन् । 

सिरहाको लहान, गोलबजार, धनगढीमाई लगायतको बजारबाट तरकारी खरिद गरी लक्ष्मीपुर, पोखरभिण्डा, पतारी लगायतको बजारहरुमा बेच्दै आएकी सियावती देवीले भनिन् – “अहिले त्यही तरकारीको व्यापारबाट दैनिक तीन सय देखि एक हजार रुपैयाँसम्म नाफा भइरहेको छ ।”
आफू आबद्ध भएको सामाजिक परिवारबाट १५ हजार रुपैयाँ ऋण लिएर शुरु गरेको तरकारी व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गर्न पनि समूहमै बचत गर्दैआएको उनी बताउँछिन् । 
“शुरु शुरुमा तरकारी व्यापार गर्न लाज लाग्थ्यो,”  उनले भनिन् – “तर, समग्र विकासको चन्देश्वर राम सरले तरकारी किनबेच गर्ने तरीका बताउनुका साथै एक– दुई हटियामा सँगै तरकारी किनबेच गर्न सहयोग गरेपछि विस्तारै मलाई पनि हिम्मत आयो र लाज मान्नेरै भए पनि मैले तरकारी किनबेचलाई निरन्तरता दिँदै आएँ ।” यसरी विस्तारै लाज हट्दै गएको र प्रगतिको ढोका समेत खुल्दै गएको उनको कथन थियो ।  
आफ्नो तरकारी व्यापार प्रगतिको पथमा अघि बढ्दै गएपछि परिवारमा हुँदै आएको झैंझगडा समेत रोकिएको सियावती देवी सुनाउँछिन् । अहिले पति रामउदगारले पनि  व्यापारमा उनलाई सघाउँछन् । 

पहिला कुनै काम गर्दा साहुमहाजनबाट मासिक ब्याजमा ऋण लिनुपर्ने बाध्यताबाट समेत मुक्त भएकामा उनी खुशी छिन् । तरकारी व्यापारका कारण अहिले साहुमहाजनको ऋणबाट मुक्तिबाट मात्र होइन, गरिबी जीवनबाट समेत छुटकारा पाएको अनुभव पनि उनी अरुलाई सुनाउँछिन् । 

जीवन सङ्गिनीको सहासिक कदमबाट उत्साहित रामउदगार भन्छन् – “मैथिलीमा एउटा भनाइ छ, जेने करे कपार, से करे व्यापार (जे सम्भव छैन भाग्यबाट, त्यो सम्भव छ व्यापारबाट) । हो रहेछ, त्यो मैले महशुस गरें ।” सियावती देवी जस्तै महिलाहरु घरेलु तथा साना व्यापार व्यवसायमार्फत आत्मनिर्भर बन्ने बाटोमा अग्रसर भए समाजमा छिट्टै परिवर्तन आउने विश्वास स्थानीय बुद्धिजीवीहरु व्यक्त गर्छन् । 
–रासस
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत