English

विचार

लाइसेन्स नलिई पत्रकारिता गर्न दिन हुँदैन

sunrisekhabar

लोकेन्द्र ओली-- 

संघीय संसद्को एक सदन राष्ट्रिय सभामा पत्रकार बन्‍नलाई प्रमाणपत्र (लाइसेन्स) लिनुपर्ने विषयमा सामान्य छलफल भएकाे छ । यसपछि पत्रकारितामा लाइसेन्स बहस पुन तातेकाे छ ।

तुलनात्मक रुपमा पत्रकारलाई बौद्धिक व्यक्ति मानिन्छ र पत्रकारितालाई नेपालमा मात्रै नभएर संसारभर नै सम्मानित पेसा मानिन्छ । समाज र राष्ट्रले पत्रकारलाई हेर्ने द‍ृष्टिकाेण नै आम व्यक्तिलाई भन्दा फरक छ । पत्रकारले पत्रकारिताको सिद्धान्तभित्र रही सत्य, सन्तुलित तथा विश्‍वशनीय सूचना तथा जानकारी दिनुपर्छ । सामान्यतया पत्रकारले सत्य सूचना मात्र प्रवाह गर्छन् भन्‍ने बुझाइ छ । पत्रकारिताको जन्म नै सत्य, तथ्य, सन्तुलन र विश्‍वसनीयताबाट भएको हो । पत्रकारिताको सिद्धान्तले समाचार सत्यभन्दा अरु हुँदैन भन्छ र पत्रकारले पनि सत्यभन्दा अरु लेख्दैनन् भन्‍ने मान्यता छ ।

पत्रकारिता क–कसले गर्ने, यसको मापदण्ड के हुने, पत्रकारिता गर्नलाई कति पढ्नुपर्ने, कस्ता विषयवस्तु प्रकाशन तथा प्रशासन गर्नुपर्ने हो भन्‍ने महत्वको प्रश्‍न बनेर निरन्तर बहस भइरहेको छ । कानुनको शासन भएको राष्ट्रमा कानुनभन्दा माथि कोही हुँदैन भन्‍ने सर्वमान्य सिद्धान्त छ । संविधानमा मौलिक हकका रुपमा समानताको हकको व्यवस्था छ, जसमा भनिएको छ, ‘सबै नागरिक कानुनका दृष्टिकोणबाट समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्‍चित गरिनेछैन ।’ 

पत्रकारिता गर्न लाइसेन्स लिनुपर्ने कुनै जरुरी छ ? किन लिनुपर्‍याे ? पत्रकारको लाइसेन्स परीक्षा लिनसक्ने कसैको हैसियत छ ? एकथरी वर्गले यसो भनिरहेका छन्, लाइसेन्स लिने व्यवस्था अनिवार्य गर्नुपर्दछ, पत्रकारिता मृत्युशैयामा पुगिसक्यो, यसलाई शुद्धिकरण गरी जिवित पार्ने उपायमध्ये एउटा लाइसेन्सको व्यवस्था पनि हो, अर्काेथरीले भनिरहेका छन् । 

नेपालका विश्‍वविद्यालयहरुमा विद्यावारिधि (पीएचडी) गर्नेहरुको समेत शोधपत्रमाथि निर्णय गर्नसक्ने क्षमता र प्रमाणपत्रसमेत दिनसक्ने प्राध्यापकहरु छन्, त्यस कारण पत्रकारका लागि लाइसेन्स लिन सक्ने क्षमता कसैसँग छैन भन्‍न सकिने अवस्था रहेन । 

पत्रकारिता पेसा हो कि व्यवसाय हो ? स्वतन्त्र हो कि परनिर्भर ? राजनीतिक हो कि गैरराजनीतिक ? निष्पक्ष हुन्छ कि पक्षपाती ? यस्ता प्रश्‍नहरु पनि गम्भीर रुपमा आउने गर्दछन् । सिद्धान्ततः पत्रकारिता राजनीतिभन्दा पवित्र, सफा, सत्य र आम मानिसले विश्‍वास गर्नसक्ने हुन्छ । 

एउटा गाउँ, टोल, जिल्ला, राष्ट्र मात्र नभई विश्‍वभर नै विश्‍वास जित्‍न सक्ने र सत्य विषयमाथि कलम चलाउने पत्रकार कस्तो हुनुपर्ला ? उसको अध्ययन कति हुनुपर्ला, शैक्षिक योग्यता हुनुपर्ला कि नपर्ला ? यी प्रश्‍नको यदि जवाफ हुँदैन थियो र विश्‍वाविद्यालयहरुमा पत्रकारिता र आमसञ्‍चार अध्ययन हुँदैन्थ्यो भने कैयौँ विद्यार्थीले यसको अध्ययन गर्थे होलान् ? आ–आफ्नो सुन्दर बासस्थान छाडेर यो सबै चिजको अभावैअभाव रहेको काठमाडौंमा कोही आउँथ्यो होला ? विश्‍वविद्यालयहरुले पत्रकारिता बेकाम्मे भएको भए व्यर्थै प्राध्यापकहरुको दरबन्दी सिर्जना गरी रकम खर्च गर्थे होलान् ? यसमा मन बुझाउने कुनै सही तर्क छ ? 

राष्ट्रिय सभाका केही सदस्य, जसले पत्रकारको लाइसेन्सको कुरा उठाएका छन्, यो ठीक कि बेठीक ? ठीक लाग्छ भने विधेयक पारित गर्ने हो, लाग्दैन भने चलिरहेको छ, छाडिदिऊँ, प्रेस पास दिने विभागले दिएकै छ, चलिहाल्छ भने हुन्छ । तर कुनै पनि पेसा वा व्यवसाय गर्नेहरुका लागि निश्‍चित मापदण्ड राख्नु अनिवार्य हुन्छ । त्यस्तो कुनै व्यवसाय वा पेसा छ, जहाँ लाइसेन्स लिनु नपर्ने, विषयगत पढ्नु नपर्ने ? त्रिभुवन विश्‍वविद्यालयले प्रवीणता प्रमाणपत्र तह खारेज नगर्दासम्म पत्रकारितामा स्‍नातकोत्तर त के, स्‍नातक तह अध्ययन गर्न खोज्दासमेत प्रवीणता प्रमाणपत्र तहमा अनिवार्य पत्रकारिता विषय अध्ययन गरेकै हुनुपर्ने नियम बनाएको थियो । 

अब लाइसेन्स

मेडिकल शिक्षा लिएपछि, पेसामा लाग्‍नलाई नर्सिङ काउन्सिल, चिकित्सकका लागि नेपाल मेडिकल काउन्सिल, इन्जिनियरका लागि इन्जिनियरिङ काउन्सिल, कानुन व्यवसायका लागि नेपाल कानुन व्यवसायी परिषद्, शिक्षक बन्‍न शिक्षक सेवा आयोग, लेखापरीक्षकका लागि चार्टर एकान्उटेन्सी संस्था आदिले निश्‍चित शिक्षा लिइसकेपछि सम्बन्धित निकाय वा संस्थाबाट अनिवार्य प्रमाणपत्र प्राप्त गर्दछन् र पेसामा प्रवेश गर्न योग्य मानिन्छन् । नर्स बन्‍न पनि नर्सिङ काउन्सिल परीक्षा उत्तिर्ण गरेर प्रमाणपत्र लिनुपर्छ । 

अब सत्य, तथ्य, सन्तुलित र विश्‍वसनीयतासहित पत्रकारिता गर्न पत्रकार बन्‍नलाई प्रमाणपत्र लिनुपर्ला कि नपर्ला ? कुनै सूचना तथा खबर दिनुभन्दा पहिला पत्रकारले सूचनाको जानकारी प्राप्त गर्दछ, त्यो सूचना सत्य हो कि होइन भनी पुनर्पुष्टि गर्छ र सत्य जे हो त्यसको सूचना आमसञ्‍चार माध्यमबाट सम्प्रेषण गर्दछ । यस्तो जिम्मेवार र महत्वपूर्ण व्यक्तिले निश्‍चित अध्ययन नै गर्नु नपर्ने, पेसामा लाग्‍नलाई प्रमाणपत्र लिनै नपर्ने भन्‍न मिल्छ र ? विचार गरौँ, सोचौँ, पत्रकारिता बर्बाद हुँदैछ, सत्यभन्दा असत्य बढी भइरहेको छ, कुनै विषयमाथि विश्‍वास मान्‍न सकिँदैन, पत्रकार जे पनि बोल्छन्, लेख्छन् भन्‍ने आक्रोेश आजभोलि नसुनिएको होइन । 

संवैधानिक सर्वाेच्चता भएको राष्ट्रमा कानुनबमोजिम चल्नुपर्छ भन्‍ने कुरा असान्दर्भिक भयो भन्‍न सकिँदैन, दूषित कार्यलाई शुद्धीकरण गर्न अति जरुरी भइसकेको छ । शुद्धीकरण गर्नलाई यदि जेल जानुपर्छ भने बरु जान तयार तर पत्रकारिता सुध्रिनुपर्‍याे, मर्यादित हुनु पर्‍याे । पत्रकारिताको विश्‍वशनीयता मर्यो भने त्यसले स्वयं सञ्‍चालन गर्ने व्यक्ति र संस्थालाई मात्र होइन राष्ट्रलाई नै ठूलो क्षति गर्दछ, यो कुरा बुझ्नुपर्दछ । 

पत्रकारिता अध्ययन गराउने गुरु वर्ग, सञ्‍चारविद्, अध्ययन गरेका विद्यार्थीहरुले लाइसेन्स लिने व्यवस्था राख्‍ने कि नराख्‍ने भन्‍नेमा धेरै विरोध नगर्दा उपयुक्त होला । कतिपय विषयमा बोल्दाभन्दा नबोल्दा नै उचित हुन्छ । मानौँ, पत्रकारितामा स्‍नातक तह उत्तीर्ण गरी पत्रकारितामा लाग्‍न लाइसेन्सको परीक्षा उत्तिर्ण गरेपछि के ती व्यक्ति अपत्रकार हुन सक्छन त् ? हुँदैनन्, असल पत्रकार हुन्छन, यसमा कुनै शंका नगरौँ, शतप्रतिशत पत्रकारितालाई जिम्मेवार, मर्यादित र जवाफदेही बनाउने छन्, भन्‍नेमा विश्‍वश्‍त हुनुपर्दछ । 

लाइसेन्ससम्बन्धी व्यवस्था राखिए वा नराखिए पनि पत्रकारिता चलिरहेको छ तर लाइसेन्सको व्यवस्था नराख्‍ने हो भने आउँदै गरेको मिडिया काउन्सिल विधेयकको पनि खास अर्थ र औचित्य हुने छैन । यो अहिलेकै अवस्थामा कानुन बनेर आयो भने दलका कार्यकर्ता भर्ती केन्द्र नै बन्‍नेछ । जस्तो अहिलेको प्रेस काउन्सिल छ । सांसद्हरुले यस विषयमा अति गम्भीर हुन जरुरी छ, कानुन बनाउने काम सांसद्हरुको हो, यदि कानुन आवश्यक छैन, संविधानसँग बाझियो भने त्यसलाई खारेज गर्न सर्वाेच्च अदालतको समेत व्यवस्था छ । संविधान र कानुनको व्याख्या गर्ने अन्तिम काम सर्वाेच्च अदालतको हो, मर्का पर्ने पत्रकारले निवेदन दिएमा त्यसमा केही न केही व्याख्या अवश्य हुनेछ ।    

हाल पेसामा आबद्धको हकमा के गर्ने ? 

पत्रकारिता विषय लिएर स्‍नातक र स्‍नातकोत्तर उत्तीर्ण गरी पत्रकारिता पेसा अँगालेकाहरुलाई त कुनै समस्या भएन । तर हाल भइरहेको लाइसेन्सको चर्चाले पत्रकारिता विषय नपढेका, कुनै पनि शैक्षिक योग्यता नभएका वा पत्रकारिता बाहेक अरु विषय पढेर यो पेसा अँगालिरहेकाहरुको हकमा के हुने भन्‍ने प्रश्‍न उठेको छ । यो पेसालाई मर्यादित बनाउन कम्तीमा पत्रकारिता विषयमा स्‍नातक तह उत्तीर्ण गरी लाइसेन्स परीक्षा पास गरेर मात्र पेसामा आउनुपर्छ भन्‍नेमा अब द्धिविधा रहेन । तर कार्यरतको हकमा एकपटकका लागि काउन्सिलले लिने परीक्षा उत्तिर्ण गर्ने मौका दिनुपर्छ । यसो हुँदा यो पेसामा दीर्घसेवा गरेका र इमान्दारिता साथ हालसम्म कार्यरत कुनै पनि पत्रकार डराउनुपर्ने अवस्था रहन्‍न । यो पेसालाई मर्यादित बनाउन लाइसेन्स प्रणालीमा जानुको अब कुनै विकल्प छैन ।

नत्र काठ तस्करदेखि भन्सार तस्करसम्म सबैले नक्कली पत्रकार बनेर यो पेसालाई बद्‍नाम बनाइरहने अवस्था यथावत रहने छ । 

( अधिवक्तासमेत रहेका ओली त्रिविबाट पत्रकारिता तथा आमसञ्‍चार, राजनीतिशास्त्रमा स्‍नातकोत्तर हुन् )

प्राप्त प्रतिक्रिया
bulu Mukarung लेख्नुहुन्छ १९ भदौ, २०७६ ४:२७ pm

लाइसेन्स लिनु राम्रो हो । पत्रकारिता क्षेत्र अझै विश्वासनीय र मर्यादित हुन्छ भन्ने आशा भयो ।

तपाईँको मत