English

विचार

संस्कार संस्कृति : तिज र नारी

sunrisekhabar

नेपाली महिलाको महान चाड तिज हाम्रो संघारमै आइसकेको छ । रातो साडी र सृङगारमा सजिएर तिजको दिन पतिको चिरञ्जीवी आयुको कामनाका गर्दै बिवाहित नारीले पानी पनि नपिइ व्रत बस्ने गर्छन् ।

विशेष गरी हिन्दू महिलाले मनाउँदै आएको यो चाड अहिले सबै वर्ग समुदायका महिलाले मनाउने गरेका छन् । हिन्दू महिलाको मात्र रहेन यो चाड । नेपाली महिलाको एकताको सूत्र बनेको छ यो चाड ।

यो परम्परा हाम्रो समाजमा परापूर्व कालदेखि चलिआएको छ । तिजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास तिजको व्रतमा अन्तरनिहित रहेको छ ।

हाम्रो समाज, संस्कृत र रितीथितिलाई हेर्ने हो भने तिजको महत्त्व आफ्नो ठाउँमा विशेष र आदरणीय छ । तिजमा दिदिबहिनी जम्मा भएर सुखदुख साट्ने, माइतीको आँगनलाई हराभरा र रमाइलो बनाई सुखी साट्ने र दुख बाँड्ने पर्व हो ।

तर, समय जति बदलिँदै छ, तिजको महत्त्व पनि घट्दैछ । हिजोसम्म तिजको अवसरमा माइतीको घर आँगनमा दर खाने चलन थियो भने आज तिज आउनुभन्दा महिना दिन अगाडि नै सहरबजारका महंगा पार्टी प्यालेस र रेष्टुराँमा गहना र झिलिमिली लुगाफाटोले सजिएर मनाइन थालेको छ ।

भड्किलो तरिकाले मनाइन थालेको तिजले परम्परागत मौलिकता गुमाउन थालेको छ । हिजोसम्म तिज सुखदुखको मीठो साइनो थियो भने आज तिज महंगा गहना र लुगाफाटोको प्रतिस्पर्धा भएको छ । महंगा गहना र लुगाफाटो नहुनेका लागि त तिज कुनै श्रापजस्तै भएको छ । जबकी हामीलाई थाहा छ– तिज हामी नारीका लागि आशीर्वाद स्वरुप हो । 

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन दिए । यो कुरा पार्वतीलाई चित्त नबुझेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइ निराहार व्रत बस्न थालिन् ।

पार्वतीको कठोर व्रतका कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह भयो । त्यो दिन भाद्र शुक्ल तृतीया थियो । सोही तिथीदेखि हिन्दू नारीले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तिजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको हो । र, यो तिज आफैंमा हामी नारीका लागि मीठो आशीर्वाद हो ।

अर्काेतर्फ तिजमा गीत–संगीतको विशेष महत्व रहन्छ । बिगतमा महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । आजका तिज गीतहरु देखि लिएर पहिरने पहिरन सम्म सबै उत्ताउला र भड्किला हुँदै गइरहेका छन् । 

विगतमा तिजमा मनमष्तिष्कमा गड्ने अनि आँखा रसाउने गीत संगीत हुन्थ्यो । आज तिज गीतहरु परिवारका बीच बसेर सुन्न नसकिने खालका भएका छन् । विगतमा हाम्रो संस्कार र संस्कृती थियो तिज, आज फेसन र विकृति विसंगतिको बहाना बनेको छ तिज ।

आज हामी जे गरिरहेछौं त्यही कुरा हाम्रा सन्ततिले सिक्नेछन् । वर्तमान नै भविष्य हो र भविष्यको जग राख्ने नै वर्तमानले हो । हाम्रा परम्परा र संस्कृतिको जगेर्ना र रक्षा आजैदेखि र आफैंबाट गर्नुपर्छ । तिजलाई फेसन बन्नबाट बचाउनुपर्छ, तिजलाई विशिष्ट संस्कृतिका रुपमा अगाडि बढाउनु पर्छ । तिजको खास अर्थ र महत्वलाई मार्नुहँुदैन, संस्कार र संस्कृतियुक्त तिजलाई भड्किलो र उत्ताउलो बनाउनु हुँदैन ।

तिजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएकी महिलाले अन्धविश्वासलाई चिर्दै तिजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तिजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु किमार्थ हुँदैन । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजना गर्छन् र मदिरामा डुब्छन् । तिजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि फैलिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेल पार्छ । यो पर्वको सांस्कृतिक महत्व जगेर्ना गर्दै विकृति–विसंगति हटाउँदै जानु सबैको कर्तव्य भएको छ ।

तिजको सन्दर्भ एकातिर चल्दैछ भने अर्कातिर छोरीहरुको संघर्ष पनि चल्दैछ । तिज नारीको पर्व हो, छोरीहरुको पर्व हो । यो पर्वको प्रसंग चर्चा गरिरहँदा दुईजनाको नाम लिनैपर्छ– निर्मला पन्त र अस्मिता कार्की रुकु ।

निर्मलाको देह हामीमाझ छैन तर आत्मा अवश्य कतै होला । उनको आत्मा न्यायको लागि संघर्ष गर्दैछ । अर्कातिर अस्मिताको अस्मितामाथि सवाल उठाइएको छ । मर्ने त मरेर गइसक्यो तर के अस्मिताको आगामी जीवन सहज होला ? अदालतले निर्दोष साबित गरे पनि समाजाका आँखामा उनको निर्दाेषिता साबित होला ? यस्ता प्रश्नले हामी सबैलाई घोचिरहेको छ । भोलीका दिनमा उनको अस्मितामाथि कसैले केही भन्न सक्दैन भन्ने बिश्वासको प्रमाण आजका दिनमा कसले दिनसक्छ ? 

चाडपर्व मात्र होइन तिज, नारीको सम्मान, स्वतन्त्रता, अस्तित्व र सहअस्तित्वको वोध समाजलाई गराउने अवसर पनि हो । एउटी नारीका लागि तिज पर्व ठूलो खुशी हो, उमंग हो, उत्साह हो, विश्वास हो, सुन्दर सपनाको एउटा अंश पनि हो ।

तिजको मौलिकता बचाउँदै भावी सन्ततिलाई पनि शिक्षा र संस्कार दिने गरी मनाऔं ।


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत