विप्लव माओवादीको शैलीमा नेवि संघको आगजनी
काठमाडौं । शनिबार देशका धेरै ठाउँमा एकै प्रकृतिको अनौठा अपराधिक घटना एकसाथ भयो । कतिपय ठाउँमा सरकारी नम्बर प्लेट भएका सवारी साधनमा आक्रमण गर्ने तथा जलाउने काम गरियो ।
माओवादी जनयुद्धकालको सम्झना आउने गरी सुनियोजित र छापामार शैलीमा ठाउँठाउँमा आगजनी गरिएको थियो । आगजनी विप्लव माओवादीले गरेको हो कि ? शंकाको औंला नेत्रविक्रम चन्द नेतृत्वको माओवादीतिर राम्ररी तेर्सन नपाउँदै जवाफ आयो— नेवि संघ ।
प्रमुख प्रतिपक्षी कांग्रेसको भ्रातृ संगठन नेवि संघले आगजनी गरेको स्वीकार नै गर्यो । कांग्रेसको भ्रातृ संगठनले विप्लव माओवादी शैलीमा यस्तो कुकर्म गर्दा धेरै मानिस चकित भए । कतिसम्म भने कांग्रेसजन तथा कांग्रेसका शुभचिन्तकहरु समेत अचम्ममा परे ।
नेविसंघको हर्कतबाट मर्माहत भएका फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले ट्वीटरमा मेन्सन गरेर यस्तो लेखे— ‘सरकारी गाडी जलाउनु सर्वथा गलत काम हो । हिंसात्मक गतिविधि हो । शनिबार निजी काममा चलेका हुन भने रोक्न सकिन्छ । साँचो खोस्न सकिन्छ । आगजनी गरेर नेविसंघको आफ्नो आस्था र सिद्दान्तलाई नै चोट पुगेको छ । राज्यको सम्पति नागरिकको रगत पसिनाबाट जम्मा भएको हुन्छ । दुरुपयोग रोकौं, नाश नगरौँ ।’
हिंसा, आगजनीको विरोधमा सैद्धान्तिक रुपमै उभिँदै आएको कांग्रेस भ्रातृ संगठनको विप्लव माओवादी शैलीले कांग्रेसका शुभेच्छुक गोविन्दराज पोखरेल पनि मर्माहत भएछन् । उनले त नेविसंघका अध्यक्ष नैनसिंह महरलाई ट्वीटरमा मेन्सन नै गरेर यस्तो लेखे— ‘राष्ट्रिय सम्पत्ति जलाउनु हामी सबैको सम्पत्ति जलाउनु हो । नैनसिंह महरजी, कृपया सबैलाई अनुरोध गरौं, सरकारी गाडीमा तोडफोड र आगजनी नगरौं । बरु यी गाडीको दुरुपयोग रोकौं ।’
नेवि संघका कार्यकर्ताले पोखरा महानगरपालिका शिक्षा शाखाको बा १ झ ५८७९ नम्बरको मोटर शनिबार बिहानै जलाएका थिए । उता राजविराजमा दुई नम्बर प्रदेशका मुख्यमन्त्रीको कार्यलय सचिवको ज १ झ ७३१ नम्बरको मोटर नेवि संघका कार्यकर्ताले चाबी खोसेर नियन्त्रणमा लिए । उनीहरुको भनाई थियो— ‘शनिवार सरकारी मोटर चल्न नदिनु भन्ने हाम्रो केन्द्रको परिपत्र छ ।’
पोखरामा चाहिँ गाडी जलाउनेहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, ग्राण्डी कलेजका नेविसंघ सभापति बिनय पौडेल, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल पक्राउ परेका हुन् ।
अछामको मेललेक गाउँपालिकाका उपाध्यक्ष चढेको बा २ झ ४१८८ नम्बरको गाडी डोटीमा नेवि संघका कार्यकर्ताले तोडफोड गरेका छन् । यता काठमाडौंमा मन्त्रीपरिषद् कार्यालयका एक कर्मचारी चढेको गाडि पनि नेविसंघले तोडफोड गरेको छ ।
काठमाडौंको बुद्धनगरमा नेवि संघले बा १ झ ७७१५ नम्बरको गाडीमा आगो लगाएको छ ।
तर, नेवि संघले भने सरकारले दमन गरेकाले आगजनी गर्नुपरेको बताएको छ । उता सरकारी अधिकारीहरुले भने आगजनी गर्नेहरुलाई पक्राउ गरिएको छ र आगजनी गर्न छुट नदिइने बताएका छन् ।
नेवि संघले फागुनमा गर्न प्रस्तावित त्रिवि स्ववियूको चुनाव रोक्न आगजनी गरेको बताइएको छ ।


प्रतिकृया दिनुहोस