English

सरकार

हवाई सुरक्षामा नेपाल गम्भीर छ : प्रधानमन्त्री ओली

'सगरमाथालाई 'माउन्ट एभरेस्ट' र गैंडालाई 'राइनो' नभन्नुस्'
sunrisekhabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रमा प्रगति हुँदै गएको बताएका छन् । 

सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन गर्दै उनले हवाई सुरक्षामा नेपाल गम्भीर रहेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल तयार रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रको विकासका लागि कनेक्टिभिटीको ठूलो महत्व रहेको बताए । उनले भने, ‘नेपालको मुख्य क्षेत्र पर्यटन हो, यसको विकासका लागि कनेक्टिभिटी आवश्यक छ ।'

प्रधानमन्त्री ओलीले नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको पनि जानकारी गराए । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको उनले बताए । त्यस्तै उनले गौतमबुद्ध विमानस्थल समयमै सञ्चालनमा ल्याइने प्रतिबद्धता पनि  जनाए ।

आर्थिक सुरक्षाका क्षेत्रमा क्रमिक सुधार भएको प्रधानमन्त्रीको भनाइ थियो । ओलीले विकासका लागि नेपालले सबैसँग मिलेर काम गर्ने पनि बताए ।
 
त्यसैगरी प्रधानमन्त्री ओलीले नेपाली भाषाको पहिचान जोगाउनुपर्ने पनि बताए । ‘सगरमाथालाई ‘माउन्ट एभरेस्ट’ भन्नुको साटो सगरमाथा नै उच्चारण गरिदिनुस्,  ‘गैंडाज आर गैंडाज, नट राइनोज’, ओलीले भने ।

त्यसैगरी उनले नेपाल भ्रमणका लागि सम्मेलनमा उपस्थित पाहुनालाई नेपाल भ्रमणको निम्तो पनि दिए । सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै छ । साे वर्ष २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ ।

सम्मेलनमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालले हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार गरेको दाबी गरे । उनले भने, ‘नेपालले हवाई सुरक्षामा अधिकतम ध्यान दिएर संयन्त्र परिचालन गरिरहेको छ, नेपालको नागरिक उड्डयन सुरक्षा आइकाओले निर्धारण गरेभन्दा धेरै विषयमा प्रगति भएको छ ।’  

सरकार अहिले हवाई पूर्वाधार विस्तारमा केन्द्रित भएको पोखरेलको भनाइ छ । ‘लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको र सात विमानस्थल रात्रिकालीन उडानका लागि तयार भइसकेका छन्’, पोखरेलले भने ।

त्यसैगरी आइकाओका एसिया प्यासिफिक निर्देशक अरुण मिश्रले नागरिक उड्डयनको हिसाबमा नेपाल उत्कृष्ट लयमा रहेको बताए । उनले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन काम गरिरहेको पनि दाबी गरे । 

सोमबार सुरु भएको सम्मेलन पाँच दिन चल्ने छ ।  सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेको आयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत