English

सरकार

असमानता रहेसम्म दिगो विकास असम्भव : अर्थमन्त्री

sunrisekhabar

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले देशमा विद्यमान असमानताको अन्त्य नभएसम्म सरकारले लिएको दिगो विकासको लक्ष्य प्राप्त गर्न असम्भव रहेको बताएका छन् ।

संघीय संसद्, राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा सुशासन समितिले ‘दिगो विकास लक्ष्य कार्यान्वयन तथा सुशासन सुदृढीकरणमा संसदीय भूमिका’ विषयमा शुक्रबार आयोजना गरेको राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यसँगको कार्यशाला गोष्ठीमा अर्थमन्त्रीले यस्तो बताएका हुन् । सरकारले लिएको दिगो विकासको लक्ष्य हासिल गर्न असमानता अन्त्यका लागि सबै तहमा एकीकृत अभियान सञ्चालन गर्नुपर्ने उनले बताए ।

आय, भूगोल, लिंग, शारिरीक अक्षमतालगायत विभिन्न क्षेत्रमा असमानता रहेकाले दिगो विकासको लक्ष्य प्राप्तिका लागि ती सबै क्षेत्रका असमानता अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । असमानतालाई पहिलो एजेन्डा नबनाएसम्म समन्यायिक अवधारणाको औचित्य नहुने भन्दै उनले असमानता अन्त्यका लागि सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

दिगो विकासको लक्ष्य प्राप्तिका लागि संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्य महत्वपूर्ण हुने भन्दै उनले योजना तर्जुमा, प्राथमिकता निर्धारण, अनुगमन र मूल्यांकनलाई प्रदेश सरकारले पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए । 

यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेलले दिगो विकासका लागि योजना समन्वयको समस्या जटिल देखिएको बताए । योजना निर्माण र समन्वयका सन्दर्भमा स्थानीय तहलाई कसरी लैजाने भन्नेमा स्पष्ट हुन नसक्दा प्रदेश, स्थानीय र संघका योजनाको पनि समन्वय हुन नसकेको उनले बताए । 

राष्ट्रिय योजना आयोगको कुल बजेटको एक तिहाई बजेट प्रदेश र स्थानीय तहलाई दिएको उल्लेख गर्दै उनले प्रदेशलाई १४ र स्थानीय तहलाई २१ प्रतिशत बजेट गएको जानकारी दिए ।

उनले तथ्यांक र अनुगमन मूल्यांकनमा पनि समस्या रहेको भन्दै यसबीचको दूरी कम गर्दै लैजानुपर्ने बताए । अनुगमन र मूल्यांकनको पनि नीति व्यवस्थापन नभएको र प्रभावकारी संयन्त्र नभएको उनले उल्लेख गरे । 

प्रादेशिक तथा स्थानीय तहका राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गराउन सक्रियतापूर्वक लाग्न संघीय संसद्का सांसद् र प्रदेश सांसद्हरुलाई आग्रह गरे । सुरु भएका योजनालाई प्राथमिकीकरण गरी अगाडि बढ्न सके मात्रै दिगो विकासका १७ वटा लक्ष्य हासिल गर्न सकिने विश्वास उनले व्यउक्त गरे । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत