• २३ मङ्सिर २०७६, सोमबार
  • Monday,09 December,2019

सन्दीप लामिछानेको ‘स्टारडम’ र अमेरिकी भिसाको सकस

प्रताप दुलाल

क्रिकेट खेल विश्वव्यापी हुने क्रममा छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आफ्नो सदस्य संख्या थप्दै ती देशहरूमा क्रिकेटको गतिविधि बढाएसँगै यो खेल फुटबलपछिको लोकप्रिय खेल रहेको तथ्यांकहरूले देखाइरहेका छन् । 

पछिल्लो समय टी–२० क्रिकेटले यसको लोकप्रियता ह्वात्तै बढेको छ । विशेष गरी फ्रान्चाइज लिगको अवधारणा आएसँगै क्रिकेट खेलले धेरै दर्शक पाइरहेको छ । 

यही फ्रान्चाइज टी–२० लिगका स्टार हुन्, सन्दीप लामिछाने ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) प्रतियोगिताअन्तर्गत सुरुवाती केही खेल संयुक्त राज्य अमेरिकामा खेलिने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीपले आज अर्थात् मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सोही प्रतियोगिताका लागि भन्दै भिजिट भिसा आवेदन गरेकामा उनको आवेदन अस्वीकृत भयो । सीपीएलमा बार्बाडस ट्राइडेन्टबाट खेल्ने निश्चित भएका उनको आवेदन अस्वीकृत भएसँगै उक्त प्रतियोगितामा उनको सहभागिता नै अनिश्चित बनेको थियो । 

अघिल्लो वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) –का लागि छनोट भई फ्रान्चाइज लिगहरू खेल्न थालेयता उनले वेस्ट इन्डिज, क्यानडा, अस्ट्रेलिया, युएई, बंगलादेश, पाकिस्तान जस्ता देशहरू पुगिसकेका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय टोलीबाट खेल्दै नेदरल्यान्ड्स, सिंगापुर, बर्मुडालगायत थुप्रै देश पुगिसकेका छन् । आईसीसीको एसोसिएट्स राष्ट्रबाट विश्वव्यापी रुपमा फ्रान्चाइज लिग खेल्ने उनी एक मात्र खेलाडी हुन् । उनका समर्थकहरू नेपाललगायत अन्य एसोसिएट्स राष्ट्र तथा टेस्ट राष्ट्रसमेतमा छन् । उनलाई अन्तर्राष्ट्रिय मिडियाले समेत उदीयमान ‘स्टार’ को रुपमा व्याख्या गर्ने गरेका छन् । 

उमेरमा कलिलै भए पनि ठुलो ‘स्टारडम’ भएका सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले गरेको व्यवहार अपमानजनक रहेको चर्चा चलिरहेको छ । सन्दीपले आफ्नो भिसा आवेदन अस्वीकृत भएको सामाजिक सञ्जालबाट जानकारी दिएयता नेपाली तथा विदेशी सञ्चारमाध्यममा यसबारे ठुलै बहस चलेको छ । 

१९ वर्षको उमेरमा वार्षिक करौडौं रुपैयाँ कमाइरहेका सन्दीपलाई अमेरिकी दूतावासले सबै कागजात पूरा गर्दागर्दै पनि भिसा नदिनुको मूल कारण उनी नेपाल नफर्किने शंका भएकाले नै हुनुपर्छ । 

आजसम्म नेपाली क्रिकेटरहरू विदेशमा खेल्न जाने बहाना बनाई भागेको कुनै रेकर्ड छैन । अन्य खेलका केही खेलाडी विभिन्न देशमा भागेको फाट्टफुट्ट घटना भए पनि नेपाली क्रिकेटरहरूले यस्तो हर्कत गरेका छैनन् ।

अमेरिकी दूतावासले भिसाको विषयमा अन्य देशका खेलाडीहरूमाथि पनि यस्तो विवादास्पद निर्णय गर्ने गरेको छ । अघिल्लो महिना भारतीय क्रिकेटर मोहम्मद शामीलाई वेस्ट इन्डिज भ्रमणका लागि भिसा दिन अस्वीकार गरेको थियो । लगत्तै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का प्रमख कार्यकारी अधिकृत राहुल जोहरीले दिल्लीस्थित अमेरिकी दूतावासलाई पत्र लेखेपछि आफ्नो गल्ती सच्याउँदै उनलाई भिसा दिने निर्णय गरेको थियो । 

सानो राष्ट्र भएर पनि नेपालले टी–२० विश्वकप खेलिसकेको छ भने अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको छवि सफा छ । यो सबै नेपाली क्रिकेटरहरूको निरन्तरको इमान्दार प्रयासबाट मात्र सम्भव भएको स्पष्ट छ । 

फ्रान्चाइज लिगका केही खेलका लागि अमेरिका जानुपर्ने अवस्थामा सन्दीप जस्तो व्यक्तित्वलाई अमेरिकाले यो हदसम्म हेपाहा व्यवहार देखाउन सक्छ भने अन्यको अवस्था कस्तो होला भन्ने विषयमा अहिले बहस चलिरहेको छ । 

तर अमेरिकी दूतावासले आज गरेको व्यवहारको प्रतिक्रियास्वरुप निस्किएको आवाजले नेपालमा क्रिकेटको ‘क्रेज’ कत्तिको छ भन्ने देखाएको छ । यसैका कारण सन्दीप लामिछानेलाई अपमान गर्दै भिसा आवेदन अस्वीकार गरेको दूतावासले तीन घण्टापछि नै उनलाई पुनः बोलाई भिसा दिने निर्णय गर्दै आफ्नो गम्भीर गल्ती सुधार्न बाध्य हुनुप¥यो । यो घटनाबाट नेपाली क्रिकेटको स्तरलाई अवमूल्यन गर्न नसकिने स्पष्ट हुन्छ । 

यसअघि अमेरिकी दूतावासले नेपाली क्रिकेटरहरू करन केसी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई पनि भिसा नदिई अमेरिका जान रोकेको थियो । अमेरिकामै रहेका नेपालीहरूले आयोजना गरेको टी–२० क्रिकेट प्रतियोगिताका लागि बोलाइएका उनीहरूलाई अपमानपूर्ण व्यवहार देखाउँदै अमेरिकी दूतावासले भिसा आवेदन अस्वीकार गरेको थियो । 

नेपाली खेलाडीलाई ‘दोषी चस्मा’ लगाई हेर्ने अमेरिकी प्रवृत्तिलाई आजको घटना गतिलो पाठ भएकै हुनुपर्छ ।
 

प्रतिकृया दिनुहोस