English

सरकार

विद्युत् प्राधिकरणको नाफा सवा सात अर्ब

sunrisekhabar

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७५÷७६ मा सात अर्बभन्दा बढी नाफा कमाएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले सात अर्ब २० करोड रुपैयाँ नाफा कमाएको जानकारी दिए । 

२०७४/७४ मा प्राधिकरणले दुई अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्राधिकरणले एक सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो । प्राधिकरणले साँवा, ब्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ । 

प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमी ल्याएको छ । अघिल्लो वर्षको भन्दा पाँच दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशमलब १३ प्रतिशत छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा तीन करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । पत्रकार सम्मेलनमा ऊर्जामन्त्री पुनले लामो समयदेखि रुग्ण बनेको अपर त्रिशूली ३ ‘ए’ तथा काबेली करिडोर लगायतका उत्पादनतर्फ एक, प्रसारणतर्फ तीन र वितरणतर्फ ३४ गरी ३८ वटा रुग्ण आयोजना सम्पन्न भएको जानकारी दिए ।

उनले काठमाडौँ उपत्यकालाई ताररहित बनाउने अभियानअन्र्तगत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने पनि बताए ।

विद्युत् चुहावटमा कमी ल्याउँदै प्रभावकारी सेवा विस्तार लगायतका सुधार गर्दै अघि बढेको प्राधिकरणले भविष्यमा थप नाफा आर्जन गर्ने विश्वास मन्त्री पुनले व्यक्त गरे ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत