• २८ मङ्सिर २०७६, शनिबार
  • Saturday,14 December,2019

‘लगानी नआए निजगढ विमानस्थल सरकारले बनाउँछ’

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले आफैँ लगानी गर्ने बताएका छन् । 

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबार बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माण अगाडि बढाउने बताए ।

उनले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफलपछि थप निर्णय लिने पनि बताए । वैदेशिक लगानी नआए के गर्ने ? भन्ने चिन्तामा सरकार नरहेको भन्दै मन्त्री भट्टराईले सरकार ब्याकअपमा बसेर काम गरिरहेको बताए ।

आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्वतयारीको काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना रहेको पनि बताए ।

मन्त्री भट्टराईले सरकारले बनाउनुपर्ने अवस्था आए नेपाली प्राविधिकहरूले बनाउने जानकारी दिए । नेपाली प्राविधिकहरू पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले कर्मचारीहरूलाई विश्वास गर्नुपर्ने बताए ।

उनले निजगढ विमानस्थल निर्माणअघि त्यस क्षेत्रको बस्तीलाई व्यवस्थित गरिने पनि जनाएका छन् । विस्थापित हुने सबै नेपाली दाजुभाइ नै भएकाले अन्याय नहुने गरी व्यवस्थापन गर्ने सरकारको प्रतिबद्धता रहेको उनले बताए ।

मन्त्री भट्टराईले विमानस्थल बनाउँदा एक हजार नौ सय हेक्टरभित्र आधारभूत संरचना बन्ने जानकारी दिँदै वृक्षरोपणको कामलाई महत्वका साथ अघि बढाउने बताए । विमानस्थल निर्माण गर्दा रुख काट्नुअघि वृक्षरोपण गर्ने सरकारको तयारी छ । निजगढ विमानस्थल निर्माण गर्दा करिब ६ लाख रुख काटिने प्रतिवेदनमा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस