English

संसद्

विषादीबारेको हल्ला सत्य होइन : वाणिज्यमन्त्री

sunrisekhabar

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा आयात हुने तरकारी तथा फलफूलमा ८० प्रतिशतसम्म विषादी पाइएको भन्ने कुरामा सत्यता नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्नोत्तर कार्यक्रमअन्र्तगत सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘असार मसान्तसम्म तीन हजार सात सय ४४ वटा नमुना परीक्षण गरिएकामा तीन हजार सात सय २९ वटामा ३५ प्रतिशतभन्दा कम देखिएको, १३ वटा नमुनामा ३५ भन्दा बढी देखिएको र दुई वटामा ४५ प्रतिशतभन्दा बढी विषादी प्रयोग भएको पाइएको छ ।’

उनले विषादी जाँच गर्न रोकिएको भन्ने कुरा पनि सत्य नभएको स्पष्ट पारे । सबै स्थानमा उच्चस्तरीय परीक्षण प्रयोगशाला नभएकाले राजधानी ल्याएर परीक्षण गर्ने गरिएको उनले बताए ।

जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । कालोबजारी रोक्ने र गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने जिम्मेवारीमा सरकार कटिबद्ध रहेको उनको भनाइ थियो । 

उनले सबै प्रदेशका मन्त्री, महानगर, उपमहानगरपालिका लगायतका पदाधिकारीहरूसँग वृहत् छलफल गरी योजना बनाएको भन्दै अनुगमन र कारबाही गरेको पनि सुन्न र देख्न आग्रह गरे ।

‘योजना बनाएको मात्रै सुन्नुभयो । थुप्रै अनुगमन गरेको छु । थुप्रै कारबाही गरेको छु’उनले भने, ‘त्यो चाहिँ सुन्नुभएन, मलाई आश्चर्य लाग्छ । एकातिर मात्रै सुन्ने कि दुईटै कानले सुन्ने हो ?’

उनले नेपाल भारतबीच मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङमा व्यापारिक नाका स्थापना गर्ने योजना नभएको र थप नाका स्थापना गर्नुपर्ने देखिएमा दुई पक्षीय वार्ता गरेर मात्रै स्थापना गरिने जानकारी दिए ।

सांसदहरू उमा रेग्मी, वसन्तकुमार नेम्वाङ, डिला संग्रौला पन्त, रंगमती शाही, प्रेम सुवाल, घनश्याम खतिवडा, लक्ष्मी परियार, दिव्यमणि राजभण्डारीलगायतले मन्त्रीलाई प्रश्न गरेका थिए ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत