English

अपराध

‘भ्रष्टाचार’सँग जोडिएकाहरूको आत्महत्याले उठाएका प्रश्न

sunrisekhabar

काठमाडौं । पछिल्लो एक महिनामा भएका तीन वटा आत्महत्याले नेपाली समाजलाई नराम्रोसँग हल्लाइदिएको छ । तीन वटै आत्महत्याको कारक एउटै जस्तो देखिन्छ । कारक हो- भ्रष्टाचार । 

भ्रष्टाचार आरोप लागेका तीन जनाले साउन एक महिनामा आत्महत्या गरेको घटना बाहिर आएको छ । भ्रष्टाचार आरोप पुष्टि पनि नभई केवल आरोप लागेकै अवस्थामा उनीहरूले आत्महत्या गरेको देखिन्छ । भविष्यमा उनीहरूले अदालतबाट सफाई पाउन पनि सक्थे । 

आत्महत्याको शृंखला

नम्बर–१

साउन २ मा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका भनिएका पूर्वसहसचिव रामबहादुर पाण्डेले आत्महत्या गरे । सोही मुद्दाको विषयमा कानुन व्यवसायीसँग छलफल गर्न गएका उनी फर्केर आएनन् । त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर आत्महत्या गरे । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध एक वर्ष जेल सजायको दाबी गर्दै मुद्दा हालेको थियो । प्रहरीका अनुसार उनी उच्च रक्तचापका बिरामी थिए र डिप्रेसनको औषधि खाइरहेका थिए ।

नम्बर–२

साउन १२ गते पर्वतका युक्तप्रसाद श्रेष्ठले बालाजु माछापोखरीमा ‘आत्महत्या’ गरे । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको आठौं तलाबाट खसेर घाइते उनलाई उपचारका लागि पिपुल्स हस्पिटल लगिएको थियो । तर अस्पताल पुर्‍याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरे । प्रहरीले युक्तको निधनको कारण आत्महत्या हो कि होइन भनी अनुसन्धान गरिरहेको छ । 

युक्तप्रसाद बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा हुन् । उनी नेपाली कांग्रेसको पर्वत जिल्ला सचिव पनि थिए । 

नम्बर–३

२६ साउनमा उदयपुरका हरिप्रसाद आचार्यले आत्महत्या गरे । मालपोत कार्यालय कलंकीमा कार्यरत आचार्य ९२ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको आरोपमा मुद्दा परेपछि निलम्बित थिए । मुद्दाको सिलसिलामा काठमाडौं आएका उनी घर फर्किए लगत्तै मृत भेटिए । 

उनले दुई पाना ‘सुसाइड नोट’ लेखेर छाडेका थिए । अख्तियारका प्रमुखका कारण आफूले आत्महत्या गर्नुपरेको उनले लेखेको प्रहरीले बताएको छ । 

आत्महत्या नै किन ?

माथि उल्लेखित आरोपित तीन जनामाथिको आरोप पुष्टि भएको छैन । केवल मुद्दा परेको हो । आरोप पुष्टि भएर फैसला नहुँदै आत्महत्या जस्तो गलत र एकदमै आपराधिक बाटो रोज्नुले हाम्रो समाजको मानसिकता डरलाग्दो गन्तव्यतिर जाँदै गरेको अनुमान गर्न सकिन्छ । 

आचार्यको सुसाइड नोट भेटिए पनि पाण्डे र श्रेष्ठले आत्महत्या गर्नुको कारण भने स्पष्ट खुल्न सकेको छैन । उनीहरूको सुसाइड नोट नभेटिएकाले आरोपकै कारण आत्महत्या गरेको हो वा अन्य कुनै व्यक्तिगत कारण हो भन्ने खुल्न सकेको छैन । 

आचार्यको हकमा भने उनलाई भ्रष्टाचार मुद्दा लागेकै कारण ‘मेन्टल टर्चर’ भएर आत्महत्या गरेको उनले लेखेको नोटका आधारमा भन्न सकिन्छ । 

अदालतबाट मुद्दा खारेज भइसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको भन्दै उनले त्यो ‘टर्चर’ सहन नसकेर आत्महत्याको बाटो रोजेको उल्लेख गरेका छन् ।

भ्रष्टाचार नियन्त्रणमा मात्र अनुसन्धान केन्द्रित छ ?

अख्तियारको दुरुपयोग भए नभएको अनुसन्धान गर्ने सम्बन्धित निकायको अधिकार नै हो । तर अनुसन्धान क्रममा आत्महत्या गर्ने प्रवृत्ति बढेसँगै यो विषय विवादित हुनसक्ने देखिएको छ । 

अझै केही मुद्दामा संस्थागतभन्दा पनि व्यक्तिगत रिसइबी भएको बाहिरिएबाट ती मुद्दाहरू भ्रष्टाचार नियन्त्रण गर्नभन्दा पनि व्यक्तिविरुद्ध प्रयोग भएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । 

उल्लेखित घटनाहरू बढ्ने क्रमले यो समस्या विकराल बन्ने सम्भावना देखिएको छ । यसलाई समाधान गर्नका लागि नीतिगत रुपमै पहल गर्नुपर्ने देखिएको छ । अख्तियार दुरुपयोग भएको आरोप लागेको व्यक्तिलाई हीनताबोध नहुने गरी अनुसन्धान गर्ने र आरोप पुष्टि नभएसम्म गोपनीयता कायम गर्ने व्यवस्था गर्न सके यसमा केही कमी आउन सक्ने देखिन्छ । 

आत्महत्या जस्तो जटिल बाटो रोज्नेको संख्या किन दिनानुदिन बढिरहेको छ ? यसको कारण र समाधानको उपाय खोजी गर्नु जरुरी भइसकेको छ ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत