English

अर्थ

नेपाल स्याटेलाइट टेलिकमलाई बक्यौता तिर्ने अवधि थप

sunrisekhabar

काठमाडौं । सरकारले नेपाल स्याटेलाइट टेलिकमलाई अविलम्ब बक्यौता तिर्न पटक–पटक ताकेता गरेपनि नेपाल दूरसञ्चार प्राधिकरणले भने सो कम्पनीलाई बक्यौता तिर्ने अवधि थप गरेको छ । 

थपिएको अवधि अनुसार स्याटेलाइट टेलिकमले आगामी भदौ १ गतेसम्म सात करोड रुपैयाँ तिर्नुपर्नेछ । कुल एक अर्ब तिर्नुपर्ने उक्त कम्पनीले आगामी तीन महिनासम्ममा बाँकी रकम भुक्तानी गर्ने सुविधा पाएको थाहा भएको छ ।

यसअघि स्मार्ट टेलिकमलाई पनि करिब दुई वर्षअघि यसैगरी बक्यौता तिर्ने अवधि बढाइएकोमा उक्त मौका छौप्दै स्मार्ट टेलिकमले प्राधिकरण विरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले पनि उक्त विषयमा अन्तरिम आदेश जारी गरेपछि बक्यौता असुल गर्न थप समय कुर्न प्राधिकरण बाध्य भएको थियो । 

यस्ता टेलिकम कम्पनीहरुको लाइसेन्स खारेजी प्रक्रियामा जानुभन्दा सकेसम्म उसलाई मौका दिएर बक्यौता तिर्न लगाउने उद्देश्य रहेको प्राधिकरणले जनाएको छ । व्यापारी अजयराज सुमार्गीको नेपाल स्याटेलाइट कम्पनीले लाइसेन्स नविकरण, फ्रिक्वेन्सी शुल्क, सेवा विस्तार शुल्क र ग्रामीण दुरसंचार विकास कोष शीर्षकमा गरि कुल एक अर्ब रुपैंया तिर्नुपर्ने भइसकेको छ । 

यसअघि यी सम्पूर्ण शुल्क मिनाहा हुनुपर्ने भन्दै अदालतमा मुद्दा दायर गरेकोमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशले यसलाई कार्यान्वयन नगराउन आदेश दिन अस्वीकार गरेको थियो ।

अहिलेसम्म प्राधिकरणलाई विभिन्न टेलिकम कम्पनीहरुले करिब २ अर्ब ९६ करोड रुपैंया तिर्न बाँकी रहेको छ । नेपालमा दूरसञ्चार सम्बन्धी सेवा प्रदान गर्ने कुल १ सय ५३ वटा संस्था रहेका छन् । यसरी बक्यौता नतिर्ने कम्पनीहरुमा युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट टेलिकम, ब्रोडलिंक नेटकर्व लगायतका रहेका छन् । 

यसरी बक्यौता तिर्न बाँकी रहेकोहरु मध्ये स्मार्ट टेलिकमको सबैभन्दा धेरै बक्यौता रहेको छ । कुल १ अर्ब ४० करोड तिर्न बाँकी रहेको उक्त कम्पनीले बक्यौता तिर्न आनाकानी गर्दै यसको अवधि बढाउन कानुनी छिद्र टेक्दै समयावधि बढाइरहेको देखिन्छ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत