• २८ मङ्सिर २०७६, शनिबार
  • Saturday,14 December,2019

कांग्रेसमा निर्देशिका ‘गोप्य’, कार्यसमिति समायाेजनकाे यस्ताे छ सूत्र

खबर स‌ंवाददाता

काठमाडौँ । नेपाली कांग्रेसले विभिन्न कार्यसमिति समायोजन गर्ने सूत्र फेला पारेको छ । पार्टीका विभिन्न तहका कार्यसमितिहरुलाई एकीकृत गर्ने सूत्र कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको हो । 

मुलुक संघीय संरचनामा गएपछि प्रदेश बनेको छ भने कतिपय जिल्लाको स्वरुप फेरिएको छ । गाउँ र नगर पनि आपसमा गाभिएर संख्या घटेको छ । तर, कांग्रेसले नयाँ संरचना अनुसार गाउँ, नगर तथा जिल्लामा कार्यसमिति बनाएको थिएन ।

यस्ता समितिहरुको ठाउँमा नयाँ समिति बनाउन कांग्रेसले निर्देशिका पारित गरेको हो । केन्द्रीय समितिले निर्देशिका पारित गरे पनि त्यसलाई गोप्य राखिएको छ । ‘निर्देशिकामा के छ भन्ने हामीले समेत हेर्न पाएका छैनौं’– कांग्रेसका एक केन्द्रीय सदस्यले सनराइज खबरलाई बताए । 

निर्देशिकाको सूत्र

कांग्रेसका एक प्रभावशाली नेताका अनुसार कार्यसमिति समायोजनाका लागि विभिन्न सूत्र प्रस्ताव गरिएको छ । जस्तो कि दुई गाउँपालिका एकै ठाउँ गाभिएको छ भने जुन गाउँ कार्यसमितिका अध्यक्ष ज्येष्ठ छन् उही नयाँ गाउँ कार्यसमितिको अध्यक्ष हुनेछ ।

त्यसैगरी उपमहानगरपालिका तथा नगरपालिकामा गाभिएका गाउँपालिकाका अध्यक्ष कार्यसमितिका अध्यक्ष बन्ने छैनन् । नगरका अध्यक्ष नै नयाँ निकायको कार्यसमितिका अध्यक्ष हुनेछन् । त्यसैगरी क्षेत्रीय समितिहरुको हकमा अघिल्ला क्षेत्रीय समितिको वडा संख्या धेरै भएको ठाउँका अध्यक्ष नै नयाँ क्षेत्रीय समितिको अध्यक्ष हुनेछन् ।

वडाहरु गाभिएको हकमा वडा कार्यसमितिका अध्यक्षहरु नयाँ कार्यसमितिका स्वत सदस्य हुनेछन् । त्यसैगरी आवश्यकता अनुसार संयुक्त अध्यक्ष अर्थात् दुईजना अध्यक्ष हुने प्रस्ताव पनि निर्देशिकाले गरेको बुझिन्छ । विगत कार्यसमितिका सबै सदस्यहरु नयाँ संरचना अनुसारकाे समितिमा स्वत सदस्य बन्‍नेछन् ।

पार्टीभित्र आपसी विवादका कारण कांग्रेसले नयाँ संरचना अनुसारको कार्यसमिति बनाउन सकेको थिएन । 

संघीय ढाँचाअनुसार कार्य समितिहरुलाई समायोजन गर्न पार्टीले निर्देशिका पारित गरेको भन्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले भने– ‘भदौ २० भित्र प्रतिनिधि सभा, प्रदेश सभाको क्षेत्रिय कार्यासमिति समायोजन गर्ने र कार्तिक भित्र सबै कार्यसमिति समायोजन गरिसक्ने छौं ।’

‘अब वडा तहसम्म संघीय ढाँचाअनुसार साबिकका कार्य समितिलाई समायोजन गरिनेछ’– महतले बताए । 

भदौ २० भित्र कार्यसमितिहरु समायोजन गरिने भए पनि निर्देशिका गोप्य राखिनुलाई अनौठो मानिएको छ । कांग्रेसले आफ्नो विधान पनि पारित भएको महिनौंपछि मात्र सार्वजनिक गरेको थियो ।
 

प्रतिकृया दिनुहोस