English

अपराध

स्वयम्भू गोलीकाण्ड : लुटेरा र सांसदबीच ‘कनेक्सन’

sunrisekhabar

काठमाडौं । शुक्रबार स्वयम्भूमा भएको गोलीकाण्डको नयाँ तथ्य खुलेको छ । सो गोलीकाण्डमा मिलन लामा प्रहरीको गोली लागि घाइते भएका थिए । प्रहरीले सो गोलीकाण्डका बेला मिलन र उनका एक सहयोगी मात्र थियो भनेको थियो । तर, त्यसबेला रामेछाप लिखु–तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द खड्का पनि साथै भएको प्रहरी स्रोतको दाबी छ ।

‘लोप्साङ’ भनिने मिलन लामाले अध्यक्ष गोविन्दलाई बारम्बार धम्काइरहेका थिए । दुई करोड रुपैयाँ मागिरहेका थिए । सो दिन रकम दिन भनी गोविन्द झिंग् केटिएम क्याफे गएका थिए । उनीहरु बीच सो क्याफेमा भेट्ने पूर्व सल्लाह थियो ।

अध्यक्ष खड्काले ‘केही पैसा आज दिन्छु’ भनेपछि मिलन आफ्ना सहयोगी सहित बिजेश्वरी आउन लागेको सूचना पाएको महानगरीय अपराध महाशाखाको टोली गोविन्द खड्काको गाडीलाई फलो गर्दैै त्यहाँ पुगेको थियो । 

मिलनलाई यसअघि अध्यक्ष खड्काले खासै चिन्दैन थिए । भिंगु क्याफेमा चिनजान गरे, चिसो पेय पदार्थ मागे । गोविन्द र मिलनले चिसो पिउन लागेका मात्र के थिए, सादा पोशाकका प्रहरी फटाफट क्याफेमा प्रवेश गर्न थाले । 

०६४ सालदेखि नै राजनीति आवरणमा गुण्डागर्दी र लुटपाट गर्दै आएका मिलन निकै बाठा थिए । सादा पोशाकका प्रहरीले आफूलाई घेरेको थाहा पाएपछि भाग्न खोजेका थिए । 

प्रहरीले गोली चलायो, मिलन घाइत भए । अहिले उनको बीर अस्पतालमा उपचार भइरहेको छ ।

सांसदको साथ ?

गुण्डागर्दी तथा लुटपाटमा संलग्न रहँदै आएका मिलन लामा रामेछापको लिखु–तामाकोशी गाउँपालिका–७ का हुन् । उनको घर र रामेछापबाट निर्वाचित प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठ ‘कुशल’ को घर तामाकोशी वारी–पारी छ । 

श्यामकुमारसँग मिलन पहिलेदेखि नै निकट थिए । काठमाडौं–रामेछाप ओहोरदोहोर गरिरहने मिलन ०७० साल तिर माओवादी निकट मजदुर संगठनमा आवद्ध थिए । 

रामेछापमा निर्माण भइरहेका हाईड्रोपावर तथा अन्य खालका निर्माण ब्यवसायीलाई धम्क्याएर पैसा असुल्न थालेपछि मिलनको आर्थिक हैसियत आकासिन थाल्यो । 

मिलनको पछिल्लो सिकार गोविन्द बन्न लागेका थिए तर मिलन आफै सिकार बने । उनले केही समय अघि रामेछापका ‘क’ वर्गको निर्माण कम्पनीका मालिक ग्याल्जे शेर्पासँग २० लाख रुपैयाँ असुलेको बताइएको छ ।

गुण्डागर्दी पृष्ठभूमिकै नारायणदास श्रेष्ठ र मिलनको बीचमा ०६६÷६७ तिर  जिविसको टेण्डर कब्जा गर्ने विषयमा ठूलो विवाद भएको थियो । त्यतिवेला नारायणदासलाई मिलनले खुकुरी हानेका थिए । जिल्ला प्रशासनमा मुद्धा दर्ता भयो, पछि श्यामकुमार श्रेष्ठ (अहिलेका सांसद्)ले नै त्यो विवाद मिलाएको र मिलनलाई जोगाएको बताइन्छ । 

नारायणदास अहिले मन्थली नगरपालिका–१ का वडा अध्यक्ष छन् ।   

०७० र ०७४ मा लगातार सांसदमा निर्वाचित श्यामकुमार गृह राज्यमन्त्री हुँदा मिलन प्रायः उनलाई भेट्न गृह मन्त्रालय पुगिरहन्थे । श्यामकुमार गृह राज्यमन्त्री हुँदा मिलन र उनीसँगै पक्राउ परेका अर्का लुटेरा अमृत तामाङले सँगै खिचेको फोटो उनीहरुको मोवाइलमा भेटिएको छ । 

मिलन र अमृतबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार सांसद श्रेष्ठसँग मिलनको निकट सम्बन्ध रहेको खुलेको छ । ‘चुनावमा आफूलाई सहयोग गरेको हुनाले पनि निकट सम्बन्ध भएको हुनसक्छ’ एक अधिकृत भन्छन्,–‘थप अनुसन्धान भइरहेको छ ।’

‘श्यामकुमार आफैं अपराधमा संलग्न छैनन्, तर, अपराधीलाई राजनीतिक संरक्षण दिएको चाहिँ देखिन्छ’– ती अधिकृतको भनाई छ ।

गोली र गाउँपालिकाको विवाद

‘दुई करोड रुपैयाँ नदिए तपाईंकीे छोरीलाई अपहरण गरेर गोली हान्छु’ भन्दै गोविन्द खड्कालाई धम्की दिनेलाई प्रहरीले गोली हानेसँगै लिखु–तामाकोशीका अध्यक्ष खड्काले एउटा गम्भीर आरोप लगाए । त्यो के भने, –‘मलाई मेरो गाउँपालिका स्थित ७ नम्बरको वडा अध्यक्ष सुवास बोहराले मिलन र अमृतलाई प्रयोग गरेर पैसा माग्न लगाएका हुन् ।’ 

खड्काको आरोपपछि बोहराले तत्काल प्रेश विज्ञप्ती निकालेर उनको भनाइको खण्डन गर्दै दुरागाउँका विद्युत विस्तारको सवालमा खड्कासँग असहमती राखेको कुरा सार्वजनिक गरेका छन् । केही दिनअघी बोहरा र कार्यकारी प्रमुखलाई गोविन्द खड्काले कुर्सिले हान्न खोजेपछी अन्य वडा अध्यक्षहरुले छुट्याएका थिए ।

दुरागाउँमा विजुली विस्तारको नाममा करोडौं छुट्याएर खड्काले अनियमितता गर्न खोजेको आशंका गर्दै बोहरा र कार्यकारी प्रमुखले अनुगमन गरेर मात्र पैसा छुट्याउनुपर्ने अडान लिएरपछि विवाद शुरु भएको बताइएको छ । 

स्वयम्भू गोलीकाण्डसँगै गाउँपालिकाको विवाद मात्र सार्वजनिक भएको छैन, राजनीति भित्र असुली र अपराध झनझन बढिरहेको पनि प्रष्ट भएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत