English

फिचर

ब्रुस ली र सय डलरको हलिउड यात्रा 

sunrisekhabar

मृत्युको झन्डै आधा शताब्दीसम्म पनि  चर्चामा आइरहने कलाकार सायदै हुन्छन् । ब्रुस लीको निधन भएको ४६ वर्ष भइसकेको छ । उनी ३२ वर्षमात्रै बाँचेका थिए । 

आफ्नोे छोटो जीवन र त्यसमा पनि छोटो समयको हलिउडड यात्रामा उनले जसरी काम गरे, त्यसले मानिसको शरीर र दिमागमा नयाँ उर्जाको सञ्चार गराउन सफल भए र त्यसकै फलस्वरुप आज उनी अमर बनेका छन् । 

अमेरिकाको सानफ्रान्सिस्को, चाइनाटाउनस्थित अस्पतालमा सन् १९४० नोभेम्बर २७ मा जन्मिएका ब्रुस लीको निधन जुलाई २०, १९७३ मा भएको थियो । 

कलाकार बाबुका छोरा 

ब्रुस ली अमेरिकामा जन्मिएपनि उनको स्थायी घर हङकङ हो । उनका बाबु लि होई हङकङका चर्चित गायक तथा अभिनेता थिए । ब्रुस लीको वास्तविक नाम ली जुन फ्यान हो । उनलाई ‘लिटिल ड्र्यागन’ भनेर पनि बोलाइन्थ्यो । चीनको ड्र्यागन वर्ष, ड्र्यागन दिन र ड्र्यागन घडीमै जन्मिएका कारण पनि ड्रयागन थिए । चिनियाँ समाजमा यस घडीमा जन्मनेहरु बहुप्रतिभाशाली र सफल हुने आमविश्वास छ । 

सफल डान्सर 

ब्रुस ली मार्सल आर्टस्सँगै डान्समा पनि पोख्त थिए । सन् १९५८ मा उनले हङकङको प्रतिष्ठित डान्स रियालिटी शो ‘चा चा डान्सिङ’ जितेका थिए । यतिमात्रै होइन उनले सानैमा हङकङको इन्टरस्कुल बक्सिङ प्रतियोगिता पनि जितेका थिए । 

बालकलाकार 

ब्रुस ली १८ वर्षको उमेरमा अमेरिका गएका थिए । त्यहाँ जानुअघि नै उनले हङकङमा २० वटा फिल्म गरेका थिए । तीन महिनाको उमेरमा उनी पहिलोपटक फिल्मको पर्दामा देखिएका थिए । उनले धेरै फिल्ममा बालकलाकारको भुमिका निभाए । १३ वर्षको पुगेपछि मार्सल आर्टस्को ट्रेनिङ थालेका थिए । 

१ सय डलरको यात्रा 

अमेरिकामा जन्मिएका ब्रुस ली १८ वर्षको उमेरमा अमेरिका नै फर्किए । अमेरिका पुग्दा उनको खल्तीमा १ सय डलर मात्रै थियो । तर सपना ठूलो थियो, अमेरिकाभर मार्सल आर्टस् स्कुल खोल्ने । ब्रुस लीले एउटा सानो एकेडेमीमा मार्सल आर्टस् सिकाएर महत्वाकांक्षी योजना अघि बढाए ।  

१९६४ मा क्यार्लिफोनियामा भएको ‘लङ विच कराते च्याम्पियनसिप’ ब्रुस लिको जीवनमा टर्निङ प्वाइन्ट साबित भयो । यस प्रतियोगितामा ब्रुस ली प्रशिक्षकका रुपमा थिए । उनलाई हलिउडका चर्चित हेयर स्टाइलिस्ट जे श्रीब्रिङले मार्क गरे । त्यसपछि दुईबीच कुराकानी भयो ।

श्रीब्रिङकै सिफारिसमा फिल्म तथा टेलिभिजन निर्माता विलियन डोजिरलले ब्रुस लीलाई एउटा सिरियलमा खेलाए । यो सिरियल प्रसारण त भएन, तर शुटिङ सेटमा भेटिएका सबै कलाकार ब्रुस लीबाट प्रभावित भइसकेका थिए, हलिउडमा मार्सल आर्टस्को नयाँ इतिहास यहींबाट सुरु भयो । ब्रुस लीलाई हलिउडमा आधुनिक मार्सल आर्टस्का श्रेयदाता भनिन्छ, उनी अभ्यासका दौरान दैनिक रूपमा पाँच हजार पन्च प्रहार गर्थे । 

बहुआयामिक व्यक्तित्व 

ब्रुस ली ‘जितकुन्डो’ खेलका संस्थापक हुन् । उनलार्ई दुईवटा श्रेय जान्छ, परम्परागत मार्सल आर्टस्लाई नयाँ स्वरूप दिने र हलिउडमा आधुनिक मार्सल आर्टस् भित्र्याउने । उनी अध्ययनशील थिए । कविता पढ्न र लेख्न रुचाउँथ्ये । 

उनको कविताको लाइन्न – ‘बी फर्मलेस, सेपलेस लाइक वाटर’ निकै चर्चित छ । बोस्निया–हर्जिगोभिनास्थित मोस्टार सहरमा शालिक बनाउने क्रममा एकपटक विवाद निम्तिएको थियो । केही व्यक्ति महात्मा गान्धीको सालिक बनाउने पक्षमा थिए भने कोही क्याथोलिक धर्मगुरुको शालिक बनाउन चाहन्थे । यस्तोमा सबैले मिलेर ब्रुस लीको सालिक बनाउने निर्णय लिए । उनको सालिक निर्माणले एकताको सन्देश दिने स्थानीयको बुझाइ थियो । 

विवाह र सन्तान 

१९६४ मा ब्रुस लीको विवाह लिन्डा इमेरीसँग भएको थियो । यो जोडीका दुई सन्तानमध्ये छोरी सान्नोन ली हलिउड कलाकार तथा व्यवसायी हुन् । छोरा ब्रान्ड ली पनि कलाकार तथा मार्सल आर्टका खेलाडी थिए । तर दुग्भार्य, सन् १९९३ मा २८ वर्षकै उमेरमा उनको मृत्यु भयो । 

मृत्युपछि अमर

१९७१ मा रिलिज भएको ‘द बिग बोस’ ले ब्रुस लीलाई सुपरस्टार बनाएको थियो । लगत्तै अर्को वर्ष ‘फिस्ट अफ फुरी’ र ‘वे अफ द ड्र्यागन’ रिलिज भए । ‘इन्टर द ड्र्यागन’ ब्रुस लीको निधनको ६ दिनपछि मात्रै रिलिज भएको थियो । ‘द गेम अफ डेथ’ उनको निधनको पाँच वर्षपछि मात्रै रिलिज भयो, कतिपय दृश्य छायांकन हुन बाँकी छँदै ब्रुस लीको निधन भएको थियो । 

निधनपछि ब्रुस लीबारे धेरै डकुमेन्ट्री तथा फिल्महरु निर्माण भए । विश्वभरका एक्सन फिल्ममा उनीजस्तै पात्रलाई खडा गरियो, ब्रुस ली एनिमेटेड फिल्म र भिडियो गेममा पनि छाएका छन् । उनीबारे पुस्तक र गीतहरु पनि लेखिका छन् । यसले नै देखाउँछ, यस धर्तीबाट छोटो समयमै बिदा भएपनि ब्रुस लीले मानव मस्तिस्कमा भने अमर बनेका छन् । (एजेन्सीको सहयोगमा) 

प्राप्त प्रतिक्रिया
तपाईँको मत