बाँझो जग्गा सदुपयोग गर्दै व्यावसायिक कफी खेती

बाग्लुङ । बागलुङको जैमिनी नगरपालिकाबाट बसाइँ सरेर जाने मानिसको संख्या बढ्दो थियो । बसाइँसराइसँगै जमिन बाँझो हुने क्रम पनि बढ्दै थियो ।
जमिन बाँझो भएपछि त्यहाँ बाँकी रहेका स्थानीयबासी चिन्तित थिए । स्थानीय ठाउँको साना किसान कृषि सहकारी संस्थाले सामूहिक कफी खेती सुरु गर्यो । बाँझो जमिन सदुपयोगमा आयो ।
उक्त सहकारीले तत्कालका लागि सर्कुवामा रहेको २५ रोपनी जमिनमा कफीका बिरुवा लगाएको छ ।
सो ठाउँ छोडेर सहर तथा तराईमा बसाइँ सरेर जाने मानिसको जमिन सहकारीले वार्षिक प्रतिरोपनी एक हजार दुई सय रुपैयाँमा भाडामा लिएको सहकारीका अध्यक्ष लीलादेवी थापाले जानकारी दिइन् । सहकारीको कार्यक्षेत्रभित्र भएको सबै बाँझो जमिन सदुपयोग गरेर खेती गरिएको थापाले बताइन् ।
पहिलो वर्ष भएकाले स्थानीय किसानले उत्पादन गरेका कफीका बिरुवा सरकारी दरमा खरिद गरेर सहकारीले बाँझो खेतबारीमा लगाएको छ । ‘अहिले हामीले २५ रोपनी जमिन लिएका छौँ, यो सुरुआत मात्रै हो’, अध्यक्ष थापाले भनिन्, ‘यो अभियानलाई वडाभरिका बाँझो जमिन प्रयोगमा आउने गरी सशक्त बनाउँछौँ ।’
आगामी वर्ष आफ्नै नर्सरी बनाएर बिरुवा उत्पादन गरेपछि थप क्षेत्र विस्तारको काम गरिने थापाले बताइन् । सहकारीका शेयर सदस्यले नै कफीका बिरुवा रोपेका हुन् ।
‘हामी सामूहिकरुपमा खेती गर्छौं र उत्पादनको उपयोग पनि सामूहिक हुन्छ’, थापाले भनिन्, ‘अभियानमा सबैले सघाउने हुनुभएको छ ।’ बजारका कफीको माग उच्च रहेकाले व्यावसायिक उत्पादनका लागि अभियान थालिएको हो । सहकारीले कफीखेती गर्न थालेको भूभाग कफीका लागि उपयुक्त मानिन्छ । सहकारीले थालेको यो अभियानमा स्थानीय सरकारले पनि सहयोग गर्ने भएको छ ।
‘आफ्नो ठाउँमा अवसर नदेख्नेलाई व्यावसायिक खेती उदाहरण हुन सक्छ’, जैमिनी नगरपालिका–४ का वडाध्यक्ष चक्र थापाले भने, ‘उनीहरुलाई हामी हौसला प्रदान गर्छौं, यो हाम्रा लागि राम्रो सुरुआत हो ।’ सहकारीले खेतीको क्षेत्र विस्तार गरेर रोजगारीको सिर्जना गर्ने सोचसमेत बनाएको छ । ‘हामीले लगाएको कफीले उत्पादन दिन थालेपछि सहकारी सदस्यको आयआर्जनको स्रोत बन्ने छ, बाँझो जग्गा उपयोग हुने नै भयो’, अध्यक्ष थापाले भने, ‘उत्पादन टिप्दादेखि बजारीकरण गर्दासम्म कैयौँले रोजगारी पाउने छन् ।’
जैमिनी नगरपालिकाले कफी, मह, सुन्तला कागतीलगायतका उत्पादनले बजार नपाएमा नगरपालिकाले नै लिने निर्णय गरेकाले सर्कुवामा उत्पादित कफीलाई बजार नपाउने समस्या हुने छैन । –रासस
प्रतिकृया दिनुहोस