English

विचार

लाज पनि लजाउने हर्कत

sunrisekhabar

आज नेपालको संसदीय इतिहासमा असाध्यै कालो दिन हो । आज प्रतिनिधि सभा बैठकमा सभामुख विरुद्ध नारावाजी गरियो । संसदीय प्रणालीमा सभामुख विरुद्ध नारावाजी हुनु दुर्लभ र अत्यन्तै आपत्तिजनक मानिन्छ । सभामुख विरुद्ध सदनमै नारावाजी गरिएको नेपालको संसदीय इतिहासमा पहिलो घटना हो ।

विश्वमा पनि विरलै यस्ता घटना भएका छन् ।

आज के भयो भन्ने बारे चर्चा थाल्दा वेलायती संसद्मा सभामुखको भूमिका बारे चर्चा गर्नुपर्ने हुन्छ । वेलायतको संसद्मा ठूलो आवाजमा बोल्न सक्ने मानिस सभामुख बन्थे । ठूलो आवाज भएको मानिस खोजीखोजी ल्याएर सभामुख बनाइन्थ्यो । आवाज ठूलो भएर मात्र हुँदैनथ्यो, सभामुख अग्लो पनि हुनुपथर््यो । अर्थात्, अग्लो र उच्च आवाजमा बोल्ने मानिसलाई सभामुखको जिम्मेवारी दिइन्थ्यो । 

प्रविधिको विकासले गर्दा त्यो दिन गयो । आजका सभामुखले उच्च आवाजमा बोल्न पर्दैन, ध्वनीयन्त्रले आवाज उच्च बनाएर सबैले सुन्नसक्ने बनाइदिन्छ । सभामुख अग्लो हुनुपर्ने प्रथा पनि युगले विदा गरिसक्यो । आजका सभामुख निष्पक्ष, तटस्थ र विवेकी हुनुपर्छ । ऊ कुनै पनि राजनीतिक दलमा लागेको हुनुहुँदैन ।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महारा तत्कालीन नेकपा माओवादीबाट निर्वाचित सांसद् हुन् । सभामुख बनेपछि उनले पार्टीबाट राजीनामा दिएका छन् । अहिले उनी कुनै पनि पार्टीका सदस्य होइनन् । 

आजको कालो दिन

सभामुख विरुद्ध सदनमा नारावाजी गरियो, यो दुर्दान्त घटना हो । कसले गर्यो नारावाजी ? यो पनि दुखद छ । प्रमुख प्रतिपक्षी अर्थात् नेपाली कांग्रेसले सभामुख विरुद्ध नारावाजी गर्यो । कांग्रेसको साथमा राष्ट्रिय जनता पार्टी (राजपा) पनि थियो । राजपाले लाजसरम त्यागेर, मर्यादा भुलेर अशोभनीय काण्ड गर्नु अस्वाभाविक होइन । यो पार्टीको जन्म खासै राम्रो नियतले भएको होइन भन्ने जगजाहेर छ । 

जहाँसम्म कांग्रेसको कुरा छ, नेपालमा संसदीय प्रणालीको अगुवा हो कांग्रेस । संसदीय प्रणाली स्थापनाका लागि कांग्रेसले अग्रमोर्चामा लड्दै आएको छ । कांग्रेसजन के भन्छन् भने संसदीय प्रणाली जति बलियो हुन्छ, कांग्रेसको उति वैचारिक जित हुन्छ । तर, आजको घटनाले के देखायो भने संसदलाई बदनाम बनाउन, संसदीय प्रणाली यो देशका लागि अफाप सिद्ध छ भन्ने सिद्ध गर्ने परिपञ्चमा कांग्रेस स्वयम् लागिपरेको छ ।

सभामुख विरुद्ध कांग्रेसले नारावाजी गर्न सक्छ भन्ने आजपर्यन्त कल्पना गरिएको थिएन । अरुले गर्न सक्छन् होला, तर, कांग्रेस संसदीय मर्यादाबाट यतिविध्न गिर्छ भन्ने कल्पना समेत गरिएको थिएन । कांग्रेसको सैद्धान्तिक आदर्शको पक्षमा उभिनेहरुका लागि आजको दिन झन धेरै ‘कालो दिन’ हो । नेपालमा संसदीय प्रणाली स्थापित गर्न पौने शदी संघर्ष गरेको आफ्नो पार्टीले संसदीय परिपाटीको उछितो काढ्ने काम गरेको देखेर इमानदार र निष्ठावान कांग्रेसजन धुरुधुरु रोइरहेका होलान् । 

प्रतिनिधि सभाको बैठकमा अतितमा कालो दिन धेरैवटा आए । इतिहासमा अंकित भएका अनेक कालो दिन छन् । कतिपय हामी सम्झन्छौं, कतिपय बिर्सिसक्यौं । तर, कतिपय दिन यस्तो हुन्छ जसले कालान्तरसम्म समाज र देशलाई झस्काइरहन्छ, प्रतिनिधि सभालाई चस्काइरहन्छ । 

आजको कालो दिनले चाहिँ मुलुकको भाग्य र भविष्यलाई गम्भीर दुष्प्रभाव पार्न सक्छ । कुनै पनि सभ्य संसदीय मुलुकमा सदनभित्र सभामुख विरुद्ध नारावाजी हुने कल्पना समेत गर्न सकिँदैन । संसदीय प्रणालीमा सभामुखलाई विवादमा तान्ने, विरोधको तारो बनाउने काम गरिँदैन । 

हाम्रो प्रतिनिधि सभा नियमावलीले पनि सभामुखलाई विवादभन्दा माथि राखेको छ । सत्तापक्ष र प्रतिपक्षको द्धन्दमा सभामुख तटस्थ राखिन्छन् । कृष्णबहादुर महराको सदन सञ्चालन शैली प्रभावकारी नभएको हुनसक्छ, तर, उनी निष्पक्ष भएनन् भनी आरोप लगाउनृु अन्याय हो । सभामुख निष्पक्ष नभएको अत्तो थापेर सभामुख विरुद्ध सदनमै नारावाजी गर्नु भनेको प्रतिनिधि सभा नियमावली च्यातचुत पार्नु हो । 

कांग्रेसले प्रतिनिधि सभा नियमावली मात्र होइन, संसदीय मूल्य, मान्यता र आदर्शलाई समेत च्यातचुत पारेको छ । सभामुख महरासँग कांग्रेसलाई चित्त नबुझेको हुनसक्छ । तर, सदनमै उनी विरुद्ध नारावाजी गर्नु भनेको चरम आपत्तिजनक काम हो । संसदीय मूल्य, मान्यता, परिपाटी तथा संसदीय अभ्याश बुझेका कसैले पनि कांग्रेसको हर्कतलाई क्षम्य भन्न सक्दैन । 

विगतमा सभामुख रहिसकेका दमननाथ ढुंगाना, रामचन्द्र पौडेल र तारानाथ रानाभाटले आफ्नो पार्टी कांग्रेसले प्रतिनिधि सभामा गरेको यस्तो हर्कतको किमार्थ समर्थन गर्ने छैनन् । उनीहरु सांसद छैनन्, तथापि प्रतिक्रिया अवश्य आउला । उनीहरु तीनैजनाले आफ्नो पार्टीले संसदको चीरहरण गरेको दृष्य देखेका छन् । 
०१६ सालको प्रतिनिधि सभाका सभामुख थिए कृृष्णप्रसाद भट्टराई (किशुनजी) । उनी स्वर्गीय भइसके । आफ्ना शीष्यहरुको आजको हर्कत स्वर्गबाटै देखेर कृष्णप्रसाद निश्चय पनि स्तब्ध भए होलान् । 

सदन प्रतिपक्षको

०४८ सालमा सभामुख थिए दमननाथ । नेपालमा संसदीय परिपाटी तथा संस्कार निर्माणमा उनको कार्यकाल उल्लेखनीय मानिन्छ । उनले सदनमा भनेका थिए– ‘सरकार सत्तापक्षको, सदन प्रतिपक्षको’ । अर्थात्, सदनमा प्रतिपक्षले खुलेर बोल्न पाउनुपर्छ, सरकार सत्तापक्षले चलाउनुपर्छ । सदन सञ्चालनका लागि उनको त्यो वाक्य सैद्धान्तिक मार्गदर्शन थियो । 

त्यसपछिका दिनमा तत्कालीन प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गर्ने अपसंस्कृति थाल्यो । दमननाथ भन्ने गर्थे– सदन चलाउने, सदनमा बोल्ने काममा प्रतिपक्षी लाग्नुपर्छ, सदन अवरुद्ध गर्ने काममा प्रतिपक्षी लाग्न हुँदैन । दमननाथको सो भनाईलाई ‘कांग्रेस बोलेको’ अर्थमा लिइयो, तत्कालीन प्रतिपक्षले गम्भीरतासाथ लिएन । दमननाथ कांग्रेसबाट निर्वाचित सांसद थिए । 

नेपालमा संसदीय अवरोधले सबैभन्दा पीडित पार्टी कुनै छ भने त्यो कांग्रेस नै हो । अहिले कांग्रेस नै सदन अवरुद्ध गर्ने काममा लागिपर्नु भनेको संसदीय प्रणालीका लागि शुभ संकेत होइन । सदन अवरुद्ध गर्ने मात्र नभएर सभामुख विरुद्ध नारावाजी गर्ने काममा समेत कांग्रेस लाग्यो । कांग्रेसको सैद्धान्तिक, वैचारिक तथा संगठनात्मक पतन कुन हदसम्म भइसकेको छ भन्ने यो उदेक लाग्दो नमुना हो । 

सदनमा अवरोध गर्ने विभिन्न शैली छ । शून्य समय, विशेष समय सकिएपछि सदन व्यवस्थापन कार्यमा प्रवेश गर्छ । व्यवस्थापन कार्यमा मात्र सदन अवरोध गर्ने परम्परा लगभग स्थापित भइसकेको थियो । त्यस विपरित कांग्रेसले बैठकको सुरुमै अवरोध गर्यो । सुरुमै बैठक अवरुद्ध गर्दा कांग्रेसका आफ्नै सांसदहरुले पनि जनसाधारणका समस्याबारे सदनमा बोल्न पाउँदैनन् । सबैको बोल्ने बाटो बन्द गरेर सदन अवरुद्ध गर्नु कांग्रेसका लागि सुहाउँदो काम होइन । शून्य समय र विशेष समयमा सांसद्हरुले बोल्न पाउनुपर्छ । कांग्रेसले संसदभित्रको आवाज थुन्न हुँदैन । 

विगतमा रामचन्द्र पौडेल विरुद्ध तत्कालीन एमालेले महाभियोग प्रस्ताव राख्यो । तर, सदनमै नारावाजी भने गरेको थिएन । विगतका सभामुखहरुको पनि विरोध भएकै हो । तर, यसरी सदनमै नारावाजी गरेर हुर्मत लिने काम गरिएको थिएन । सभामुख पदमा कुनै व्यक्ति बसेका हुन्छन्, उनको हुर्मत लिने नाममा सभामुख पदकै अपमान गर्नु, अवज्ञा गर्नु स्वीकार्य हुन सक्दैन । 

नेपालको पहिलो सभामुख कृष्णप्रसाद थिए, अहिले कृष्णबहादुर छन् । कृष्णप्रसाद देखि कृष्णबहादुरसम्मको यात्रामा मुलुकले ७ जना सभामुख पाइसकेको छ, ६ दशक बिताइसकेको छ । यो ६ दशकमा संसदीय अभ्याश झन उन्नत हुनुपर्ने थियो । तर, संसदीय प्रणालीप्रति अत्यन्त प्रतिवद्ध मानिएको कांग्रेस नै मुलुकले गुमाएको छ । कांग्रेस पार्टी जिवित छ तर उसको सैद्धान्तिक आदर्शबाट ‘संसदीय प्रणालीप्रति प्रतिवद्ध’ भन्ने वाक्य झिकेर मिल्काइएको छ । 

खसीको टाउको, बोकाको मासु

०४८ सालमा प्रतिनिधि सभामा कृष्णबहादुर महरा पनि थिए, उनी जनमोर्चाका सांसद् थिए । कृष्णबहादुर सहित जनमोर्चाका नौ जना सांसद्हरु सदनमा बारम्बार भन्थे– संसद् भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो । उनीहरु सदनमै बसेर ‘संसद् भत्काउनुपर्छ’ भन्थे । 

आज उनै कृष्णबहादुर सभामुख छन् । उनी सदनको लाज र गरिमा बचाउनुपर्ने भूमिकामा छन् । अनि, कांग्रेस चाहिँ करिब ३० वर्ष अघिको जनमोर्चाको भूमिकामा देखा परेको छ । अब कांग्रेसले मुखले प्रष्टसँग ‘संसद् भत्काउनुपर्छ’ भन्‍न मात्र बाँकी रह्यो । 

कांग्रेसलाई संसद् भत्काउन दिने कि नदिने ? सबैले गम्भीर भएर सोचौं ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत