English

राजनीति

सरकारले विपीका सिद्धान्तमाथि प्रहार गर्‍यो : देउवा

रेलिङ भाँच्दैनौं, शन्तिपूर्ण आन्दोलन गर्छौँ
sunrisekhabar

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले विश्वेश्वरप्रसाद कोइरालाको सिद्धान्तमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । शहिद स्मृति प्रतिष्ठानले बिपी स्मृति दिवसको अवसरमा गरेको कार्यक्रममा सभापति देउवाले भने– ‘सरकार नागरिकका अधिकार र स्वतन्त्रता कुन्ठित गर्न उद्यत छ, तर हामीले रोक्छौँ ’।

प्रजातन्त्र विपीको पहिलो शर्त भएको भन्दै उनले प्रजातन्त्र विरोधी विधेयक फिर्ता नलिए संसद चल्न नदिने दाबी गरे ।  उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए । ‘हामीले रेलिङ भाँच्दैनौं, शन्तिपूर्ण आन्दोलन गर्छौँ, जनताका अधिकार कुन्डित हुन दिँदैनौं’ ।

सभापति देउवाले विपीका विचार आज पनि सान्दर्भिक रहेको बताए ।  उनले सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याएर मिडिया नियन्त्रण गर्न खोजेको आरोप समेत लगाए ।

सरकारले टेलिफोनबाट गाली बेइज्जती गरे कारबाही गर्ने बहानामा नागरिकको गोपनियताको हक माथि धावा बोल्न खोजेको आरोप पनि लगाए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्टको सोच पनि राजाको जस्तै अतिवादी भएको आरोप लगाए । 

उनले गलत विचारका कारण कम्युनिस्टहरू कहिल्यै स्थापित हुन नसक्ने दाबी पनि गरे । ‘गलत विचारकै कारण राजा सकिए अब कम्युनिस्टहरू पनि सकिन्छन्’ निधिले भने ।

उनले बिपीकोे राजतन्त्रबिना देश रहे पनि लोकतन्त्रबिना देश रहँदैन भन्ने सिद्धान्तको जित भएको पनि दाबी गरे ।

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३७ औं स्मृति दिवस कांग्रेस र उसका भ्रातृ संगठनले देशभर विभिन्न कार्यक्रम गरी सोमबार मनाई रहेका छन् ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत