• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

देउवा, रामचन्द्र, विश्वप्रकाश, गगनहरुले यसरी बिर्सिए विपी

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । आज विपी कोइरालाको स्मृति दिवस हो । तर, कांग्रेसका दिग्गज नेताहरुले भने स्मृति दिवस बिर्सिएका छन् । विपीको स्मृतिमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानै टुइटरमा श्रद्धाका अक्षरहरु लेखे । राप्रपाका अध्यक्ष कमल थापाले पनि श्रद्धाका अक्षर कोरे । तर, कांग्रेसका मुख्यमुख्य नेताहरु ट्वीटरमा झुल्किएका छैनन् । 

ट्वीटरमा सर्वाधिक सक्रिय कांग्रेस नेता हुन् प्रवक्ता विश्वप्रकाश शर्मा । कुनै पनि घटना हुँदा या सत्तापक्षका कसैले बोल्नासाथ ट्वीटको वर्षा गर्ने प्रवक्ता शर्माले बिहान १० बजेर ५६ मिनेट जाँदासम्म विपीका बारे ट्वीट गर्ने कष्ट गरेका छैनन् । 

तर, उपसभापति विमलेन्द्र निधीले भने बिहानै ट्वीटरमा लेखे– ‘राजा र राजतन्त्र बिना देश रहँदैन भन्नेहरुले विपीको यो सूत्र प्रजातन्त्र बिना देश रहँदैन भन्न ग्रहण गर्नु’ । 

राप्रपा अध्यक्ष कमल थापाले ट्वीटरमा लेखेका छन् ‘आज बिपी कोइराला स्मृति दिवस। राष्ट्रियता र प्रजातन्त्र एक अर्काको परिपूरक हुन्। राजसंस्था र जनताको एकता नै नेपालको राष्ट्रिय सुरक्षा, स्वतन्त्रता र एकताको अभेद्य कवच हो। राष्ट्रिय मेलमिलाप नीति का सुत्रधार बिपी कोइरालामा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा बिहान आठ बजे नै लेखेका छन्– ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा ख्यातिप्राप्त साहित्यकार बिपी कोइरालाको ३७औं स्मृति दिवसका अवसरमा स्वर्गीय कोइरालाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।समृद्ध नेपाल निर्माण अभियानमा अग्रसर हुन यस अवसरमा सबैलाई आव्हान गर्दछु।’

कांग्रेसले विपी स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम राखेको छ तर खासै प्रभावकारी कार्यक्रम दिन केही वर्षदेखि छाडेको छ । अहिले आएर सामाजिक सञ्जालमा समेत कांग्रेसका नेताहरुले विपीलाई उपेक्षा गर्न थालेका छन् । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहान ट्वीटरमा विभिन्न विषयमा लेखेका छन् तर विपीको स्मृतिमा एक अक्षर खर्चिएका छैनन् ।
 

प्रतिकृया दिनुहोस