• २८ मङ्सिर २०७६, शनिबार
  • Saturday,14 December,2019

छथरमा बन्दैछ पूरै ढलान गरिएकाे नमूना सडक

सनराइज खबर स‌ंवाददाता

तेह्रथुम । नेपालका हरेक स्थानीय तहमा सडक बिस्तार भइसकेको छ । तर, पहाडि जिल्लाका गाउँपालिका तथा नगरपालिकाहरुमा बिस्तार भएका सडक अव्यवस्थित हुँदा स्थानीयले सास्ती भाेग्‍नु परेको छ ।

तेह्रथुम स्थित छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा पनि सडकको स्थिति यस्तै थियो । बर्खामा हिलो र हिउँदमा धुलोका कारण सास्ती खेपिरहेको यो गाउँपालिका अहिले सडक व्यवस्थित बनाउन लागि परेको छ ।

अहिले गाउँपालिकाले शुक्रबारे बजार भित्र रहेका मुख्य तथा भित्री सडकहरुमा धमाधम आरसिसि ढलान गरिरहेको छ । गाउँपालिकाले प्रदेशकै नमूना सडक बनाउन शुक्रबारे बजार भित्रका सडक ढलान गर्न थालेको हो । हिलाम्मे र धुलाम्मे सडक ढलान हुन थालेपछि स्थानीय निकै खुसी भएका छन् । 

सडक बनाउन आर्थिक वर्ष ०७५/०७६ मा १ नम्बर  प्रदेश सरकारको ८२ लाख २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेकाे छ । त्यसैगरी चार लाख ३२ हजार आठ सय ६५ रुपैयाँ बराबरकाे जनश्रमदान सडकमा प्राप्त भएकाे छ । 

सडककाे पहिलाे चरणकाे ढलाई समपनन्‍न भएकाे गाउँपालिकाले जनाएकाे छ ।

रत्‍नदेवी मन्दिर जाने  ८३ मिटर,  छ्थर दुग्ध  सहकारीको नयाँ  भवन जाने  एक सय ४२ मिटर र २ नम्बर वडा कार्यालय जाने  ९० मिटर गरी कुल तीन सय १५ मिटर सडक रड सहितको आरसिसि ढलान भएको जानकारी इन्द्रबहादुर इम्सङले दिए । उनी सुक्रबारे बजार छेत्र भित्री सडक पक्की योजनाका अध्यक्ष हुन् ।

गाउँपालिका केन्द्र शुक्रबारे बजार क्षेत्र भित्री सडक पक्की योजना अन्तर्गत बाँकी रहेको सडक आगामी आर्थिक वर्षमा ढलान सम्पन्‍न गर्ने गाउँपालिकाको योजना रहेको छ । पिच गरिएकाे सडकभन्दा ढलान गरिएकाे सडक कैयन गुणा बलियाे र टिकाउ हुने विज्ञहरुले बताएका छन् । 

आगामी आर्थिक वर्षमा ढलान सम्पन्‍न गर्न प्रदेश सरकारसँग बजेट लिनका लागि पहल भइरहेको अध्यक्ष इम्सङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस