• ६ चैत २०८०, मंगलबार
  • Tuesday,19 March,2024

कृषि उपज सङ्कलन केन्द्र उद्घाटन

.

.

ललितपुर । नेपाल जाइका अलमनाई एशोसिएशन (जान) र जापान नेपाल सोसाइटी, टोकियो जापानको सहयोगमा ललितपुरको लेलेमा निर्माण भएको कृषि उपज सङ्कलन केन्द्रको उद्घाटन गरिएको छ ।

नेपालका लागि जापानका राजदूत मासामिचि साइगो, गोदाबरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख आवासीय प्रतिनिधि युमिको आसाकुमा र जानका अध्यक्ष डा रामचन्द्र भुसालले एक समारोहकाबीच संयुक्त रुपमा सो केन्द्रको उद्घाटन गरेका हुन् । 

सो अवसरमा जापानी राजदूत मासामिचि साइगोले जानले लामो समयदेखि नेपाल जापान बीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको र हाल सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरी यो सङ्कलन केन्द्रको निर्माणसमेत गरेकोमा धन्यवाद दिए । 

जापानी राजदूतले सामुदायिक विकासका कार्यक्रम सञ्चालन र कृषि सङ्कलन केन्द्र निर्माणले स्थानीय किसानको र खासगरी महिलाको क्षमता अभिवृद्धि भई आयआर्जन बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले केन्द्र निर्माणले आसपासको क्षेत्रका तरकारी उत्पादनमा सहयोग पुग्ने अपेक्षा पनि गरे । 

गोदाबरी नगरपालिकाका प्रमुख महर्जनले यस क्षेत्रमा जानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै सङ्कलन केन्द्र निर्माणले लेले क्षेत्रको कृषि विकासमा समेत सहयोग पु¥याउने बताए ।

जाइका नेपालका प्रमुख युमिको आशाकुमाले जानले आफ्ना नियमित कार्यक्रमका अतिरिक्त सामुदायिक विकासका कार्यक्रम सञ्चालन र सङ्कलन केन्द्रको निर्माणले स्थानीय समुदाय लाभान्वित हुने कार्यक्रम समेत गरेकोमा धन्यवाद दिँदै जाइकाले जानलाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने बताए । 

जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले सामुदायिक विकास कार्यक्रम अन्तर्गत ललितपुरको लेले र नल्लु क्षेत्रमा सञ्चालन गर्दै आएका कार्यक्रमको बारेमा जानकारी गराए । 

जानले लेले र नल्लु क्षेत्रमा करीब चार सय घरधुरीका लागि सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । जानको सामुदायिक विकास कार्यक्रममा सहयोग गर्न जाइका नेपालले नियमित रुपमा एक जना जापानी स्वंयसेवक समेत उपलब्ध गराउँदै आएको छ ।
–रासस
 

प्रतिकृया दिनुहोस