• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

करको दायरा बढाउँदै भरतपुर महानगर

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

चितवन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस काेराेना पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो । 

भरतपुर महानगरपालिकाले हालसम्म २५ करोड ५० लाख  रुपैयाँ राजस्व स्ङ्कलन गरेको छ । असार मसान्तसम्ममा  ९० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ जसमा रजिष्टे्शन सेवा शुल्कसमेत छ । गत वर्ष यसै हाराहारीमा राजस्व सङ्कलन भएको थियो । महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल राजस्वको दायरामा आउन नसकेका करदाताका घर घरमा टोली परिचालन गर्न थालिएको बताउनुहुन्छ ।

महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर राजस्व सङ्कलनलाई तीव्रता दिएको छ । अर्यालले भन्नुभयो, 'हामीले स्थलगतरुपमा कर दाताको नवीकरण र राजस्व सङ्कलनसमेत गर्न थालेका छौँ ।' महानगरमा करको दायरामा ६० प्रतिशत हाराहारी व्यवसायी आएका छन् । यसलाई ८० प्रतिशतमा पुर्‍याउने लक्ष्यका साथ अभियान थालिएको छ । 

महानगरपालिकाको राजस्व परामर्श र सङ्कलन समितिका संयोजकसमेत रहनुभएका उपप्रमुख पार्वती शाह ठकुरी हिजोआज हरेक हप्ता राजस्व सङ्कलनको विषयमा नियमित छलफल गरी सङ्कलनमा जोड दिएको बताउनुहुन्छ ।

टोली परिचालनसँगै ठूला करदातालाई पत्राचार गर्ने काम भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'यो वर्ष हामीले दर बढाएका छैनाैँ दायरा बढाउने काममा लागि परेका छौँ ।' सबैलाई करको दायरामा आउन अनुरोध गर्दै उहाँले सबैले कर तिरेमा दर बढाउनु नपर्ने बताउनुभयो । सरोकारवालाको परामर्शमा दर तय भएकाले राजस्व सङ्कलनमा सहयोग पुर्‍याउनुपर्ने उहाँको धारणा छ । 

महानगर प्रमुख रेनु दाहाल कोरोनाका कारण सङ्कलनमा केही कमी भए पनि सन्तोषजनक रहेको बताउनुहुन्छ । महानगरपालिकाले कर सङ्कलनलाई अभियानका रुपमा अघि बढाएको भन्दै उहाँले यसमा साथ र सहयोग गर्न निजी क्षेत्रसँग अनुरोध गर्नुभयो ।

आन्तरिक आम्दानी बढाउन सकेमा महानगरको विकासमा थप सहयोग पुग्ने दाहालको भनाइ छ । आन्तरिक आम्दानी कम भए पनि महानगरपालिकाले सङ्घीय सरकारका विभिन्न मन्त्रालयमा निरन्तर पहलकदमी गरेर ठूला आयोजना महानगर क्षेत्रमा पार्न सफल भएको दाहालले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षको बाँकी अवधिमा लक्ष्यअनुसार राजस्व असूलीका लागि साना ठूला करदाताको सूचीकरण, वडामा स्थलगतरूपमा कर शिक्षा र स्थलगतरूपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखाङ्कन डिजिटाइजेसन तथा अनलाइन भुक्तानीको व्यवस्थाजस्ता उपाय अवलम्बनमा जोड दिई करको दायरा फराकिलो पार्दै लगिएको उहाँले जानकारी दिनुभयो । करदातामैत्री प्रणाली विकासमार्फत करको लक्ष्य हासिल गर्न सकिने दाहाल बताउनुहुन्छ । 

चालु आव २०७७/०७८ को लागि कूल राजस्व  तीन अर्ब ३१ करोड ६४ लाख ८९ हजार रुपैायाँ मध्ये आन्तरिक स्रोततर्फ  ९० करोड रुपैायाँ अनुमान गरिएको छ । उहाँका अनुसार उक्त आन्तरिक राजस्वका स्रोतका शीर्षकमा मुख्यरूपमा घर बहाल करतर्फ  आठ करोड रुपैयाँ, नक्सा पास दस्तुरतर्फ  सात करोड २० लाख रुपैयाँ, एकीकृत सम्पत्ति करतर्फ  चार करोड रुपैयाँ, व्यवसाय दस्तुरतर्फ  ६ करोड रुपैायाँ, विभिन्न सिफारिस दस्तुरतर्फ रु सात करोड, अन्य क्षेत्र आय  ४० करोड रुपैयाँ, अन्य बिक्रीमा ढुङ्गा, गिट्टीलगायतका बिक्रीबाट जम्मा  ६ करोड ८० लाख रुपैयाँ समेत गरी राजस्व प्रक्षेपण गरिएको छ ।

भरतपुर महानगपालिकाले पुस मसान्तभित्र राजस्व बुझाएमा २० प्रतिशत छुट दिएको थियो । विगतका वर्षहरूलाई हेर्दा यहाँ व्यवसाय कर पुसपछि तिरेको देखिन्छ भने सम्पत्ति कर पुस अगाडि बुझाएको पाइन्छ । पछिल्ला वर्षहरूमा निजी क्षेत्रको लगानी महानगरमा बढ्दै गएको छ ।

जसका कारण आन्तरिक आम्दानीसमेत बढ्ने देखिन्छ । स्थानीय तहले मुख्यरुपमा आम्दानी गर्नसक्ने प्राकृतिक स्रोतबापतको कर यहाँ कम हुने भएकाले राजस्व तुलनात्मक हिसाबले कम रहेको छ । 
–रासस

प्रतिकृया दिनुहोस