English

राजनीति

प्रचण्ड निवासको बैठकमा वामदेव बोलाइन छाडे

sunrisekhabar

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा नियमित बैठक हुन्थ्यो प्रचण्ड, माधवकुमार वामदेव र बामदेव गौतमको । कतिपय बैठकमा झलनाथ खनाल पनि बोलाइन्थे । 

तर, केही दिनयता प्रचण्ड निवासमा हुने बैठकमा बामदेव गौतम बोलाइन छाडेका छन् ।

नेकपामा जिम्मेवारी बाँडफाँडको खिचातानी चर्कंदै गएको बेला आज सचिवालय बैठक बस्दै छ । सचिवालय बैठकमा अपनाउने रणनीति सम्बन्धमा छलफल गर्न बामदेवको सट्टा प्रचण्डले बोलाए भीम रावललाई । प्रचण्ड निवासमा रावल शनिबार अपरान्ह पुगेका थिए । 

सचिवालय बैठक बस्ने दिन आज बिहानै प्रचण्ड निवासमा नौला अनुहारहरु देखिए । प्रचण्ड निवासमा विरलै पुग्छन् कृष्णबहादुर महरा र रामबहादुर थापा बादल । दुवै नेता आज बिहान प्रचण्ड निवास खुमलटार पुगेको बुझिएको छ । 

त्यसैगरी नारायणकाजी श्रेष्ठ पनि बिहानै खुमलटार पुगेका थिए । सचिवालयले पार्टी विभागहरुको टुंगो लगाउने भएको छ । यही विषयमा छलफल गर्न बिहानैदेखि प्रचण्ड निवासमा नेताहरुको बाक्लो उपस्थिति देखिएको बताइएको छ । 

‘सभामुख महरा प्रचण्ड निवासमा आधा घन्टा मात्र बस्नुभयो,’- प्रचण्ड निवास सम्बद्ध एक स्रोतले सनराइज खबरलाई बतायो । उनका अनुसार बिहान जनार्दन शर्मा र मातृका यादव लगायतका नेताहरु पनि खुमलटार पुगेका थिए । 

मातृका यादव चाहिँ प्रचण्ड निवासमा प्रत्येक दिन पुग्ने गरेका छन् । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत