• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

यसरी सत्तापक्ष र प्रतिपक्षी एक ढिक्का भए

टेकेन्द्र बुढाथाेकी

काठमाडौं । आज बसेको राष्ट्रिय सभाको बैठकले सबैको ध्यान मात्रै तानेन  राष्ट्रिय सभा विज्ञहरुको सभा भएको पुष्टि समेत गर्यो । वास्तबमा यो देशकै लागि गौरवको बिषय हो ।

आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका तीनजना सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरे । नेकपाका खिमलाल भट्टराई, नेपाली कांग्रेसका बद्रि प्रसाद पाण्डे, राजपाका ब्रिषेशचन्द्र लाल र समाजवादी पार्टीकी प्रमिला कुमारीले वर्षाका कारण भएको प्राकृतिक प्रकोप सम्बन्धमा प्रस्ताव राखेका हुन् । 

यसका समर्थक थिए नेकपाका जीवन बुढा र कांग्रेसकी अनिता देवकोटा । 

नयाँ संविधान अनुसार चुनाव भएपछि बनेको संसदमा सत्तापक्ष र प्रतिपक्षीहरु मिलेर एउटै प्रस्ताव राखेर सदनमा छलफल गरेको यो पहिलो घटना हो । 
प्रस्ताव उपर सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले बोले । उनीहरुको अभिव्यक्ति निकै शालिन र शिष्ट थियो । उनीहरुको अभिव्यक्ति आरोपमुखी थिएन, सुझावमुखी थियो । उनीहरुले समस्या देखाए, समाधान पनि सुझाए । 

छलफल सकिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने– ‘अब म निम्नलिखित प्रस्ताव पेस गर्छु ।’

त्यसपछि उनले वाचन गरे– ‘अविरल वर्षाका कारण देशका बिभिन्न भागमा हालै आएको बाढि, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति राष्ट्रिय सभाको यो बैठक गहिरो दुख व्यक्त गर्दछ । यस प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तब्त परिवारजन प्रति हाार्दिक समवेदना प्रकट गर्दछ र घाइतेहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । राष्ट्रिय सभाको यो बैठक बाढि पहिरो र डुबानमा परी बेपत्ता हुनुभएकाहरुको खोजी, उद्धार, राहत र पुर्नस्थापनाको उचित व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै यस कार्यमा सहयोग पुर्याउन सम्पूर्ण सरोकारवालाहरुमा हाार्दिक अनुरोध गर्दछ । साथै यस बिपत्तिको घडीमा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार, राहत, पुर्नस्थापनाका साथै विपत्तिबाट क्षतिग्रस्त संरचना निर्माणका लागि राहत स्वरुप संघीय संसदका माननीय सदस्यहरुका तर्फबाट आफ्नो संसदीय दल मार्फत प्रदान गरिएको रकमका अतिरिक्त राष्ट्रिय सभाका माननीय सदस्यहरुको तर्फबाट एकदिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गर्दछौं ।’

त्यसपछि अध्यक्षले यो ‘प्रस्ताव पारित गरिदिन अनुरोध गर्दछु’ भने । 

सांसदहरुले टेबल ठटाएर समर्थन जनाए । टेबल ठटाएर सांसदहरुले समर्थन जनाएपछि अध्यक्षले भने– ‘सर्वसम्मतिले पारित भएको घोषण गर्दछु ।’

फेरि सांसदहरुले टेबल ठोके ।

आजको बैठक राष्ट्रिय सभाको जीवनमा उपलब्धिमूलक र निर्णायक रह्यो । किनभने सत्तापक्ष र विपक्षको खिचातानी र राजनीतिक दाउपेचभन्दा माथि उठेर सांसदहरुले विवेक प्रदर्शन गरे । एकता देखाए । 

आजको बैठक कस्तो भयो ? सांसद कोमल वलीले सभामा भनिन्– ुदलगत रुपमा छुट्टाछुट्टै देखिए पनि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रका लागि एकजुट भएर काम गर्छौ भन्ने पनि आज देखिएको छु, 

छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए गृहमन्त्री रामबहादुर थापाले । उनले भने– ‘विपतको यो घडीमा जुन एकता र ऐक्यवद्धता प्रदर्शन गर्नुभएको छ, तपाईंहरुको उच्च सराहना गर्न चाहन्छु ।’
 

प्रतिकृया दिनुहोस