• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

विपत्तिमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन : खिमलाल भट्टराई

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले विपत्तिको समयमा को सत्तापक्ष र को प्रतिपक्ष भन्ने प्रश्न नहुने बताएका छन् । 

शुक्रबार राष्ट्रियसभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै सांसद् भट्टराईले यस्तो बताएका हुन् । बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले यस्ता मुद्दामा राष्ट्रियसभा एक भएको बताए ।

देश बाढी र पहिरोको चपेटामा आफू दुखित भएको भन्दै उनले तर यो विपत्तिको घडीमा सबै वैमनस्यता र राजनीतिक प्रतिशोध छोडेर एक भएर देश अघि बढेकामा भने खुसी लागेको बताए ।
उनले भने, ‘आज सत्तापक्ष र प्रतिपक्षको कुरा छैन । यहाँ राष्ट्रियसभा छ । एउटा सदन छ । हामी एकताबद्ध भएर यो राष्ट्रिय सकंटको मुद्दालाई उठाउन चाहिराखेका छौँ ।’

भूगोल, राजनीतिक आस्था, जात धर्म सबै कुरा बिर्सेर सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र जनता एक भएर यस्तो राष्ट्रिय संकटको सामना गर्नुपर्ने खिमलालले बताए । 
उनले भने, ‘यो अठोट र आह्वान हो । यसरी सबै एक भएर काम गर्दा मलाइ खुसी लागेको छ ।’
बाढी र डुबानमा परी ९० जनाको निधन भएको २९ जना बेपत्ता भएको जानकारी दिँदै उनले भने, ‘यो दुःखको कुरा हो । जसको घरमा मान्छे हराएको छ, उसले अनुभूति गर्न सक्छ । मानवीय संवेदना भएको मानिस भएको नाताले त्यो वेदनालाइ अनुभूत गर्न सक्छौँ ।’

बाढी र पहिरोका कारण धेरै घाइतेहरू उपचार गराइरहेको भन्दै उनले १३ हजारभन्दा बढी परिवार बिस्थापित भएकाृ जानकारी दिए । ‘सात वटा सडक अहिले पनि बन्द छन् । यो सबैको पीडा हो’, उनले भने, ‘अब एउटा आह्वान गरेर राष्ट्रियसभाको तर्फबाट के गर्न सकिन्छ ? त्यसको योजना बनाइरहेका छौं ।’

अहिले भइरहेको को उद्धारलाइ अझै प्रभावकारी बनाएर यसको दीर्घकालीन योजना बनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘दीर्घकालीन योजना बनाउदा जमिन सार्न सकिँदैन । तर बस्ती सार्न सकिन्छ ।’

सेना प्रहरीको योगदान र भूमिकाको प्रशंसा गर्दै भट्टराइले उद्धार र राहत अझै प्रभावकारी बन्नुपर्ने बताए । सरकार उद्धार र राहतको काममा लागिरहेको भन्दै उनले त्यसलाई अझै प्रभावकारी बनाउन जोड दिए ।

उनले भने, ‘तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाएर यसलाई अझै प्रभावकारी रुपमा उद्धार, राहत र पुनःस्थापनाका लागि अगाडि बढोस् । म सरकारलाइ आग्रह गर्छु ।’

‘प्रिभेन्सन इज बेटर द्यान क्युर’ अर्थात् उपचारभन्दा रोकथाम मुख्य कुरा हो भन्दै अब हामीले यसैअनुसारका योजना बनाएर काम गर्नुपर्ने उनले बताए । उनले भने, ‘हाम्रो भौगोलिक अवस्था हाम्रा लागि असहज, विकट होला । तर यही हाम्रा लागि वरदान पनि हो ।’

उनले अबका दिनमा कुनै पनि नेपालीले यस्ता विपत्तिबाट ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन सम्बन्धित सरोकारवालाले कदम चाल्नु आवश्यक रहेको बताए । 

प्रतिकृया दिनुहोस