• २८ मङ्सिर २०७६, शनिबार
  • Saturday,14 December,2019

काम नगर्नेको टेन्डर रद्द गर्दिनू, परेको म व्यहोर्छु : सञ्चारमन्त्री

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले काम नगर्ने कर्मचारीलाई अब ठाउँका ठाउँ कारबाही गर्ने चेतावनी दिएका छन् । 

कर्मचारीले काम नगरिदिँदा अखबारका पानामा सरकारले गाली खानुपरेको भन्दै मन्त्री बास्कोटाले आक्रोश पोखे । आफ्नो मन्त्रालय अन्तर्गतको नयाँ आर्थिक वर्षको एकीकृत कार्ययोजना सार्वजनिक गर्ने क्रममा उनले कर्मचारीहरुलाई निर्धारित समयमा सक्ने गरी काम गर्न कडा निर्देशन दिए । 

कर्मचारीले कागजी झन्झट देखाएर काम नगर्ने प्रवृत्ति बढेको भन्दै उनले यसलाई निर्मूल पार्न निर्देशन दिए । काम नगर्ने ठेकेदारको सम्झौता तुरुन्त रद्द गर्न निर्देशन दिँदै उनले भने, ‘४ र ५ नम्बर प्रदेशमा अप्टिकबल फाइबरको काम नगर्ने कम्पनीको टेन्डर रद्द गर्दिनू, परेको म व्यहोर्छु ।’

काम नगर्ने कम्पनीलाई हटाएर बरु नेपाल टेलिकमलाई काम दिए हुने उनको भनाइ थियो । सञ्चारमन्त्री बास्कोटाले अब आफू निर्देशन नदिने बताए । उनले भने, ‘एक कानले सुन्ने अर्को कानले उडाउने गर्नेलाई अब निर्देशन होइन, सिधै अनुगमन गरिन्छ । लौरो लिनुपर्ने हो कि कुचो वा रातो कलम लिएर पस्ने हो । बाँकी अब केही हुँदैन ।’

सेवा सुविधा बढाउन चाहिँ विभागीय प्रमुखहरु मन्त्रालय र नेताकामा दौडधुप गर्ने तर डेलिभरी दिन चाहिँ मन्त्रालयले रोक्यो भनेर बहानाबाजी गर्ने भन्दै उनले आक्रोश पोखे । उनले भने, ‘अब त्यहीँ आएर बसियो भने मन्त्रीले रोक्या हुन्छ कि तपाईंले काम नगर्‍या हुन्छ ।’

सरकारले काम देखाउन चाहेको भन्दै उनले कर्मचारीलाई सहयोगी बन्न आग्रह गरे । प्रतीक्षाको समय सकिएको भन्दै अब रिजल्टको वर्ष सुरु भएको बताए । उनले भने, ‘यो वर्ष धेरै शिलान्यास र प्रगतिको वर्ष तथा अर्को वर्ष उद्घाटन र कार्य सम्पन्नताको वर्ष बनाउनुपर्छ ।’ 

तराईका सहरहरुमा अब टेलिफोनको पोल गाड्ने भन्दा पनि जमिनमुनिबाट तार व्यवस्थापन गर्न पनि उनले निर्देशन दिए । 

जनताले माग ल्याउने, आशा राख्ने र पूरा भएन भने आलोचना गर्ने अधिकार भएको बास्कोटाले बताए । स्थायी सरकार भएका बेला पनि प्रगति नभए कहिल्यै नहुने भन्दै उनले भने, ‘सरकार पनि स्थायी छ । कर्मचारी पनि स्थायी छ । यस्तो बेला पनि प्रगति नभए कहिले हुन्छ ?’ 

मन्त्री बास्कोटाले कसको शक्ति कति छ भनेर आफूलाई थाहा नहुने भन्दै उत्तरदायित्व र जिम्मेवारी मात्र थाहा हुने बताए । 

जनता र विकासको विषय जहाँ जोडिन्छ, त्यहाँ आलटाल गरेमा कारबाहीको भागीदार हुनुपर्ने उनले चेतावनी दिए । उनले भने, ‘के के कुन कुन महिनामा गर्ने भनेर यहीँ तोकिएको छ । त्यो महिनामा नभएको दिन थाहा पाउनुहुन्छ । कि त सरुवा हुन्छ, कि कारबाही हुन्छ ।’
 

प्रतिकृया दिनुहोस