English

संसद्

संसदीय समितिको बैठक स्थगित गर्न सांसद्हरुको माग

sunrisekhabar

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद्हरुले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन् ।

कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गरेका हुन् । 

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा समितिकी सदस्य संग्रौलाले बाढी, पहिरो र डुबान पीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न समितिका सभापति श्रेष्ठसँग माग गरे । उनले पीडितलाई साथ दिन आ–आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने तर्क पनि गरे । 

कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि संसदीय समितिको बैठक स्थगित गर्न माग गरे । उनले जनता पीडामा रहेका बेला राहत तथा उद्धारमा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले संसदीय समितिको बैठक बोलाउन नहुनेतर्फ पनि समितिकी सभापति श्रेष्ठको ध्यानाकर्षण गराए । 

सांसद प्रेम सुवालले पनि एक हप्ता समितिको बैठक स्थगित गर्न माग गरे । उनले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सांसदहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा जान भन्दै प्रतिनिधिसभा बैठक स्थगित भएको उल्लेख गर्दै समितिको बैठक पनि स्थगित हुनुपर्ने बताए । 

तर, सत्तारुढ नेकपाका सांसदहरुले भने कानुन निर्माणको काममा ढिलाइ हुने बताएका थिए ।

उनीहरुले प्रतिनिधिसभा बैठक स्थगित भएपनि संसदीय समितिका बैठकहरु भने स्थगित गर्न नहुने बताए ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत