• २८ मङ्सिर २०७६, शनिबार
  • Saturday,14 December,2019

बाढीले भन्दा बढी डर पैदा गर्छन् युट्युबले

प्राकृतिक प्रकोपले बरु कम मानिस डराउँछन्, त्योभन्दा बढी युट्युब च्यानलले दिने समाचारले डराउँछन् । तिनले हालेको डरलाग्दो थम्बनेल र फेक समाचारले आत्तिएर कतिपय मानिस त मृत्युको मुखसम्म पनि पुग्छन् । सुन्दा हाँस उठ्न सक्छ । तर सत्य हो ।

पछिल्लो समय च्याउसरी खुलेका युट्युब च्यानलले यसरी समाचार दिन्छन् कि मानौं संसारका सबैभन्दा ठूला वैज्ञानिक तिनै हुन् । सबैभन्दा जान्ने मौसमविद्, सीमाविद्, परराष्ट्र विज्ञ, भूगर्भ विज्ञ सबै तिनै हुन् । 

यी च्यानल कतिसम्म शक्तिशाली भएर निस्किएका छन् भने कसैलाई ज्योतिष त कसैलाई चल्तीको डाक्टर, अनि कसैलाई भविष्यवेत्ता बनाइदिने सामथ्र्य राख्छन् ।

समाजमा आतंक फैलाएर भ्यु बढाउन यस्ता च्यानलहरुले कुनै कसर बाँकी छोडेका छैनन् । 

‘थम्बनेल’ले ल्याएको बाढी

विगत पाँच–छ दिनदेखिको अविरल वर्षाका कारण नेपालका कतिपय ठाउँमा बाढी, पहिरो र डुबानको समस्या छ ।

तर, पानीले जति समस्या ल्यायो, त्योभन्दा बढी युट्युब च्यानलका थम्बनेलले ल्याए । हुँदै नभएको कुरा भनेर सर्वसाधारणमा आतंक सिर्जना गरे ।

फलानो बाँध भत्किन थाल्यो । निम्तिँदै विकराल खतरा । कोसी ब्यारेज नै भत्किने खतरा । हेर्नुस् यसरी सर्वनास गर्‍यो खोलाले । यस्ताखाले थम्बनेल राखेर फेक समाचार देखाएर आतंक सिर्जना गरेका छन् युट्युब च्यानलले । 

भ्यु बढाउन राखिने यस्ता थम्बनेलले कति मान्छेको रातको निद्रा हरायो भने कतिको दिनको भोक । कतिपय च्यानलले त पुराना भिडियो क्लिप र फोटो राखेर समेत यस्तो आतंक मच्चाइरहेका छन् ।

प्रहरीभन्दा अगाडि

अर्कातिर समाजमा भएका कुनै पनि घटनाबारे प्रहरीले अनुसन्धान सकेको हुँदैन । युट्युब च्यानलले घटनाको पूरा विवरणसहित रिपोर्ट दिन भ्याइसक्छन् ।

छिमेकी २–३ जनालाई बोल्न लगाएर उनीहरुले थम्बनेल राख्छन् –फलानो घटनाको भयो पर्दाफास । सनसनीपूर्ण खुलासा । बाहिरियो यस्तो डरलाग्दो तथ्य । उनका छिमेकी यसो भन्छन् । यसरी भएको थियो हत्या आदि आदि । 

कोसीका ढोका बन्द गर्न मोदीको दबाब ?

कोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका केही ढोका खोल्यो भारतले ।

तर अधिकांश युट्युब च्यानलले भने नेपालले ५६ वटै ढोका खोल्यो भनेर समाचार दिए । नेपालले सबै ढोका खोलिदिएपछि भारतको बिहार पूरै डुब्यो । बाढीले सयौंको ज्यान गयो भनेर समाचार दिएको पनि पाइयो ।

हुँदाहुँदा एउटा च्यानलले त भारत पूरै डुबाएपछि ढोका बन्द गर्न मोदीको दबाब भनेर ठूलो थम्बनेल राखेर भिडियो हालेको पाइयो ।

अर्को एउटा च्यानलले त केसम्म लेख्न भ्यायो भने–दसगजाको २५ फुटको भारतीय बाँध बाढीले भत्काएपछि अत्तालिएर सप्तकोसीको सबै ढोका खुल्ला ।

न बाढीले कहीँ २५ फुटको बाँध भत्काएको छ, न त कोसीका सबै ढोका नै खोलिएको छ ।

कोसीका ढोका खोल्ने अधिकार नेपालसँग होइन भारतसँग मात्रै छ । यससम्बन्धी सामग्री यसअघि नै सनराइज खबरले प्रकाशन गरिसकेको छ ।

भूकम्प आतंक 

युट्युबले फैलाउने आतंकको अर्को विषय भूकम्प पनि हो । नेपालमा यति रेक्टरको भूकम्प आउँदै छ । यो महिनामा नेपालको यो ठाउँमा भूकम्प आएर तहसनहस पार्छ भनेर सर्वसाधारणलाई आतंकित बनाएका छन्, युट्युबले । 

कहिले बेनाम वैज्ञानिकको हवाला दिँदै त कहिले कथित ज्योतिषको हवाला दिँदै यस्तो आतंक मच्चाउने क्रम रोकिएको छैन । 

यसको पछिल्लो उदाहरण अर्जुन क्षेत्री पक्राउ प्रकरण हो । यी ज्योतिष अर्जुनले विभिन्न युट्युब च्यानलमै अन्तर्वार्ता दिँदै नेपालमा शक्तिशाली भूकम्प जान्छ भनेर भविष्यवाणी गरेका थिए । 

उनको भविष्यवाणीपछि उनी एकाएक चर्चित भए भने जसले उनको अन्तर्वार्ता लियो, त्यो च्यानलको भ्यु पनि ह्वात्तै बढ्यो । त्यसपछि के थियो, उनको अन्तर्वार्ता लिन एकसे एक च्यानलको लाइन लाग्यो । 

भूकम्प जान्छ भनेर आतंक मच्चाएको अभियोेगमा प्रहरीले उनलाई पक्राउ गर्‍यो । र केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलायो । र उनी धरौटीमा छुटे ।

मानवता खै ?

अहिलेका युट्युबरहरु यसरी प्रस्तुत हुन्छन् कि उनीहरुमा मानवता भन्ने कुरा छँदै छैन । कसलाई कस्तो ठाउँमा कस्तो प्रश्न गर्ने भन्ने ज्ञान पनि देखिँदैन ।

छोरी बलात्कृत भएर उजुरी गर्न गएकी आमालाई प्रश्न आउँछ– तपाईंले कस्तो महसुस गरिरहनुभएको छ ?

छोरा अपहरणमा परेर रोइरहेको बाबुलाई प्रश्न आउँछ– छोरासँग कसैको दुस्मनी थियो ? उसले कोहीसँग झगडा गरेको थियो ?

श्रीमतीको हत्या भएको खबर पाएर विदेशबाट फर्किएको श्रीमानलाई सोधिन्छ– तपाईंकी श्रीमतीको कसैसँग सम्बन्ध थियो ? तपाईंसँग झगडा भएको थियो ?

विदेशमा छोराको निधन भएको खबर सुनेर विक्षिप्त बनेकी आमालाई प्रश्न आउँछ– छोरा मरेको खबर आउँदा तपाईं के गर्दै हुनुहुन्थ्यो ?

छोरी बलात्कृत हुँदा आमालाई कस्तो महसुस हुन्छ ? सोध्न मिल्ने कुरा हो यो ? पीडामाथि पीडा दिने अधिकार कसले दिन्छ युट्युबरहरुलाई ? उनीहरुकी छोरी बलात्कृत हुँदा उनीहरुलाई कस्तो महसुस होला ? अनि यसैगरी प्रश्न सोध्दा के होला ? 

यस्ता प्रश्न सुन्दा लाग्छ उनीहरु युट्युबर होइन, प्रहरी अनुसन्धानकर्ता हुन् । उनीहरु अपराधबारे अनुसन्धान गर्दै छन् ।

पत्रकारमाथि प्रश्न

युट्युब च्यानल खोलेर केही थान आतंकित भिडियो हालेपछि उनीहरु कहलिन्छन्, चर्चित पत्रकार । न उनीहरुसँग पत्रकारिताको आधारभूत ज्ञान हुन्छ । न उनीहरुले पत्रकारिताको धर्म नै निर्वाह गरेका हुन्छन् । 

झुठ लामो समय टिक्दैन । तर युट्युबरहरुलाई टिकाउनु छैन । उनीहरुलाई सामग्री बिकाउनु छ । त्यसकारण उनीहरुले हालेको भिडियोमा भ्यु आए पुग्यो ।

आफूखुसी मन लागेको विषयमा फेक समाचार दिने केही युट्युबरहरुका कारण पत्रकारहरुकै पेसामा प्रश्न उठिरहेको छ पछिल्लो समय । युट्युबहरुले दिने फेक समाचारका कारण अब सही समाचार दिनेमाथि पनि शंका उत्पन्न भइरहेको छ ।

नियमन नहुँदा समस्या

कुनै पनि सञ्चारमाध्यम सञ्चालनका लागि निश्चित प्रक्रिया पूरा गरेर सम्बन्धित निकायमा दर्ता गर्नुपर्छ । त्यसको नियमन गर्ने निकाय पनि हुन्छ । त्यसकारण उनीहरुले दिने समाचारमा विश्वसनीयता हुन्छ, समाचार सत्य हुन्छ ।

तर युट्युब च्यानललाई हालसम्म कतै दर्ता गर्नुपर्ने प्रावधान छैन । जसले जतिबेला जति वटा पनि च्यानल बनाएर चलाउन सक्छ । र यसलाई नियमन गर्ने निकाय पनि छैन । यसकारण पनि अनावश्यक रुपमा च्यानलहरुको संख्या बढिरहेको छ ।
 

प्रतिकृया दिनुहोस