English

सनराइज टिभी

प्रचण्डको छटपटाहटको अभिव्यक्ति हो विषादी प्रकरण

काठमाडौं । अहिले बहुचर्चित बनेको विषादी प्रकरणभित्र सरकारलाई अप्ठेरो पार्ने राजनीति लुकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठ्यारो पार्ने दाउपेच लुकेको छ । विषादी प्रकरण राजनीतिक षडयन्त्रको उपज हो । 

‘सनराइज न्युज रुम’ छलफलमा यो कुरा उजागर गरिएको हो । सनराइज खबरका टेकेन्द्र बुढाथोकी, राजकुमार रेग्मी, अनुपम शर्मिला र राजु लामिछानेबीचको छलफलमा कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सुनियोजित रुपमा आफ्नै सरकारलाई अप्ठेरो पार्न विषादी काण्ड प्रायोजन गर्न खोजेको विषय उठाइएको छ ।

सीमा नाकामा विषादी जाँच गरेर मात्र कृषि उपज नेपाल भित्राउने प्रस्ताव वाणिज्यमन्त्री मातृकाले मन्त्रिपरिषदमा लगेका थिए । सो प्रस्ताव कार्यान्वयनमा लगेका थिए कृषि मन्त्री चक्रपाणि खनालले ।

नगरी नहुने कैयन कामहरुमा कुनै तदारुकता नदेखाउने वाणिज्य मन्त्री मातृकाले ‘तरकारीमा विषादी’ मा किन तदारुकता देखाए भन्ने प्रश्न उठेको छ । कृषि उपज आयातमा विषादी परीक्षण गर्ने कुनै पनि भौतिक पूर्वाधार र ल्याव छैन भन्ने जान्दाजान्दै उनीहरु किन विषादी परीक्षण गर्न अगाडि सरे ? सनराइज न्युज रुम छलफलमा यस्ता प्रश्न उठाउँदै जवाफ खोज्ने प्रयत्न गरिएको छ । 

छलफलमा टेकेन्द्र बुढाथोकी भन्छन्– ‘कुनै पूर्वाधार तयार नगरी, अन्य कुनै तयारी नगरी विषादी परीक्षण थाल्नुको अर्थ समस्या सिर्जना गर्नु हो, आफ्नै सरकारलाई अप्ठेरोमा पार्न खोज्नु हो ।’

नेपालमा विश्वका कुनै पनि मुलुकबाट आउने कृषि उपज विषादी परीक्षण गरेर मात्र भित्राउने भनिएको छ । तर, नेपालमा भारतबाट अत्याधिक आयात हुन्छ । त्यसैले ‘तरकारीमा विषादी’ प्रकरणमा भारत जोडिएको कुरा छलफलमा उठाउँदै राजु लामिछाने भन्छन्– ‘सरकार भित्रैबाट सरकारलाई अप्ठेरो पार्न खोजिएको प्रष्ट देखिन्छ ।’

छलफलमा राजकुमार रेग्मी भन्छन्– ‘राम्रो कामलाई अगाडि सारेर नराम्रो नियत अगाडि बढाइयो । असल कामको खोलमा कुनियत राखियो ।’

सनराइज खबरले समसामयिक विषयमा न्यूज रुमभित्र भिडियो संवाद गर्ने गरेको छ । त्यही क्रममा विषादी प्रकरण र यससँग गासिएको राजनीतिको विषयमा छलफल गरिएको हो । 

नेपाल र भारतको सम्बन्ध बिगार्ने उद्देश्यले विषादी प्रकरण प्रायोजन गरिएको तथा खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको सम्बन्ध बिगार्ने उद्देश्यले विषादी प्रकरण प्रायोजन गरिएको कुरा छलफलमा उठाइएको छ । 

‘कृषि मन्त्री र उद्योग मन्त्री दुवैजना पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् । प्रचण्डको छटपटाहटको अभिव्यक्ति हो यो प्रकरण’– छलफलमा यस्तो कुरा पनि उठाइएको छ ।

अनुपम शर्मिला भन्छिन्– ‘यो प्रकरणले नेपालमा विषादी विरुद्ध जागरण आएको छ, जनचेतना जागेको छ ।’

प्राप्त प्रतिक्रिया
तपाईँको मत