• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

शान्ता चौधरी : आमा छोरी नै पास, यसरी व्यक्त गरे खुसी

खबर स‌ंवाददाता

काठमाडौं । ‘म आफू उत्तिर्ण भएको भन्दा पनि छोरी उत्तिर्ण भएकोमा खुसी छु’– एसईई मा ‘बी’ ग्रेड हासिल गरेपछि शान्ता चौधरीले सनराइज खबरसँग भनिन् । उनकी छोरी बिनुले ‘बी प्लस’ पाएकी छिन् । 

शान्ताले दुई दशमलव ६५ जीपीए ल्याएकी छिन् । प्रतिनिधिसभामा नेकपाकी सचेतक रहेकी शान्ताले भनिन्- 'एसईईमा सहभागी सबै विद्यार्थीहरुलाई बधाई र शुभकामना दिन्छु ।'

‘ममी र बहिनी दुवैजनाले एकसाथ एसईई पास गरे, मेरा लागि योभन्दा गर्वको कुरा के हुनसक्छ ?’– शान्ताका छोरा अनिलले सनराइज खबरलाई भने– ‘ममी र बहिनी दुवैजनाले एसईई दिँदा मलाई असाध्यै तनाव भएको थियो, परीक्षा कस्तो होला भनेर ।’

शान्ताले परीक्षाका लागि असाध्यै मेहेनत गरेको अनिलले सुनाए । उनले भने– ‘ममीलाई एकछिन पनि फुर्सद हुँदैनथ्यो, जतिबेला पनि दौडधुप गर्नुपथ्र्यो । तैपनि रातिराति नसुतेरै पढ्नुहुन्थ्यो । मेरो ममीले बी ग्रेड ल्याउनु भनेको मेरो लागि बोर्ड फस्ट जत्तिकै हो ।’

शान्ताकी छोरी बिनुले सनराइजलाई भनिन्– ‘म परीक्षा दिइरहँदा ममीको मात्रै चिन्ता लागिरहन्थ्यो । मैले काठमाडौंबाट परीक्षा दिएकी हूँ, ममीले दाङबाट परीक्षा दिनुभएको हो । परीक्षा सकिनासाथ मलाइ फोन गर्नुहुन्थ्यो ।’

शान्ताले भनिन्– ‘मेरा लागि एसईई पास गर्नु भनेको ठूलो सफलता हो । मेरो यो सफलताको श्रेय सबै जनतालाई दिन चाहन्छु । थिचिएका, हेपिएका, विपन्न, अवसरबाट वञ्चित सबै जनतालाई म संघर्ष गरेर सफलता प्राप्त गर्न अपिल गर्दछु । संघर्ष सकारात्मक र रचनात्मक हुनुपर्छ । शिक्षालाई उमेरले छेक्दैन भनेर सबै महिलालाई सन्देश दिन चाहन्छु ।’

‘म अझै पढ्छु’– शान्ताले भनिन्– ‘के विषय पढ्छु थाहा छैन, सोंच्दैछु, छोराछोरीसँग सल्लाह गर्छु ।’ शान्ताका छोरा अनिलले भने– ‘प्लस टुमा पोलिटिकल साइन्स छैन होला, नत्र म ममीलाई त्यही विषय पढ्न भन्थें ।’

प्रतिकृया दिनुहोस