नेकपामा नेता व्यस्त, कार्यदल सुस्त
काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकीकरण प्रकृया तल्लो तहसम्म अझै पुग्न सकेको छैन । एकीकरण प्रकृया विस्तारित नहुँदा पार्टी गतिविधि ठप्पप्राय भएको छ ।
एकीकरण प्रकृया तलसम्म पुर्याउने काम प्रदेश कमिटी गठनमा विवाद आएपछि रोकिएको हो । माधव नेपाल समूहले प्रदेश कमिटीको नेतृत्व पुनः मिलाउनुपर्ने अडानपछि पार्टी एकीकरण प्रकृया अगाडि बढाउन बनाइएकोे कार्यदलको बैठकसमेत बस्न सकेको छैन ।
पार्टी केन्द्रीय सचिवालयले दूरगामी निर्णय गर्न सकेको छैन । प्रदेश कमिटी निर्माण, रामवीर मानन्धर प्रकरणजस्ता विषयलाई टुंगोमा पु¥याउने बाहेक अरु गहन निर्णय भएको छैन । एमाले र माओवादीबीच एकीकरण भएर नयाँ पार्टी बनेको नौ महिना पुग्नैलाग्दा बल्लबल्ल प्रदेश कमिटीमात्रै बनेका छन् । प्रदेश कमिटीले पनि पूर्णता पाइसकेको छैन ।
पार्टीको तेस्रो शक्तिशाली निकाय पोलिटब्यूरो गठन भएको छैन भने जिल्ला, स्थानीय तह, भ्रातृ, व्यावसायिक संगठनको एकीकरण अन्यौलमा छ । सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि महासचिव विष्णु पौडेल र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापालाई जिम्मा दिएको थियो । यही बीचमा कार्यदललाई सक्रिय बनाउँदै जाने निर्णय भए पनि अवस्था उस्तै छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुई चार दिनभित्रै तल्ला कमिटीको निर्णय गर्ने बताएका थिए । तर, त्यसो भनेको एक सातामा कुनै प्रगति भएको छैन ।
प्रधानमन्त्री स्वीजरल्याण्ड गएका कारण गति लिन नसकेको कार्यदलका सदस्यहरुको भनाइ छ । तर, कार्यदललाई काम अगाडि बढाउन प्रधानमन्त्रीको जरुरत भने पर्ने थिएन ।
पार्टीको आन्तरिक शक्ति सन्तुलनअनुसार कार्यविभाजन गर्नेदेखि तल्ला तहसम्मको एकीकरण टुंग्याउने कामले गति नपाउँदा एकीकृत पार्टीको संरचना भने दुइटा पार्टीको जस्तै छ । जस्तै– जिल्ला कमिटी, भ्रातृ संगठन, व्यवसायिक, शुभेच्छुक संगठनहरु अहिले पनि दुइटै छन् । निर्णयसमेत दुइखाले हुन थालेका छन् ।
एकीकृत पार्टीमा एकमत नहुँदा सरकारले गरेका कामको प्रचार गर्ने संगठन र संगठकहरु छैनन् । जिम्मेवारीमा नै नभएपछि सरकारले गरेका कामको प्रचार गर्न नेता कार्यकर्ताहरु आवश्यक ठान्दैनन् ।
सरकारप्रति अपनत्व अभाव र प्रदेश कमिटीको नेतृत्व चयनमा एकलौटी गरेको भन्दै माधव नेपाल समूह निर्मम भएर उत्रिँदा पार्टीको आन्तरिक एकता अलगथलग भएको छ । दसैंपछिको सचिवालय बैठकले माधव नेपालका असन्तुष्टि तत्काललाई सम्बोधन गरे पनि दीर्घकालीनरुपमा हल भने गरिसकेको छैन ।
प्रधानमन्त्री ओली विदेश गएको, अर्का अध्यक्ष पुष्पकमल दाहाल विरामी भएको कारणले कार्यदलको काम अगाडि बढाउन वाधा भएको भनिँदैछ । ‘तर, अब कार्यदल सक्रिय हुन्छ, प्रकृया अगाडि बढ्छ’, कार्यदलका एक सदस्यले सनराइज खबरसँग दावी गरे ।


प्रतिकृया दिनुहोस